१ असार २०८२ आइतबार
image/svg+xml
समाज

तिलौराकोटमा प्रसूति उत्सव

बुद्धको क्रीडास्थल प्राचीन कपिलवस्तुको तिलौराकोटमा २५६९औं बुद्ध जयन्ती र प्रसूति उत्सव मनाइएको छ। सो क्रममा प्राचीन घटनाको झझल्को दिने गरी मंगलबार शिशु बुद्धसहित लुम्बिनीबाट प्राचीन कपिलवस्तुको तिलौराकोट रथ यात्रा निकालिएको हो।

प्रजिअ दिलकुमार तामाङ, प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारी, लुम्बिनी विकास कोषका सदस्य रामनरेश कोहार, परिषद् सदस्य गोपीकृष्ण शर्मालगायतको टोली मंगलबार बिहानै बेबी बुद्ध लिन लुम्बिनीको मायादेवी मन्दिरमा पुगेको थियो। शिशु बुद्धलाई बुद्धको क्रीडास्थल तिलौराकोट ल्याइएको हो। सो यात्रा टोलीले शिशु बुद्धलाई बुद्धजन्तीको अर्को दिन अर्थात् मंगलबार तिलौराकोट पु¥याएको हो।

लुम्बिनी विकास कोषले बुद्ध जन्मिएपछि अर्को दिन उनलाई राजधानी कपिलवस्तु ल्याउँदाको झल्को दिने गरी बेबी बुद्धलाई राखेर २६ किमिको यात्रा निकालेको हो। २०७० सालदेखि बुद्ध जयन्तीका अवसरमा सो यात्रा निकाल्ने गरिएको थियो। कोरोनाका कारण २०७७ र २०७८ मो सो यात्रा रोकिएको थियो। तीन वर्ष अघिदेखि पुनः सो कार्यक्रम सुचारु गरिएको हो।

बुद्धको जन्मथलो लुम्बिीमा सोमबार बुद्ध जयन्ती र लुम्बिनी दिवस मनाइयो। रथरूपी गाडीमा धातुको बेबी बुद्धको मूर्ति राखेर यात्रा गरिएको थियो। पूर्वमन्त्री तथा सांसद सुरेन्द्रराज आचार्यले तिलौराकोटमा ल्याइएको शिशु बुद्धलाई स्वागत गर्दै कपिलवस्तुका लागि यौ गौरवको दिन रहेको बताए।

सम्पदाले भरिएको कपिलवस्तुको विकास हुन नसकेको भन्दै लज्जाबोध गरे। उनले विगत लामो समयदेखि तिलौराकोटको विकासको कुरा उठ्दै आएको बताए। उनले यसको बृहत् विकासका लागि कपिलवस्तुमा समेत बृहत् सहभागितामा कपिलवस्तु संवाद कार्यक्रम राख्नुपर्ने बताए।

भारतले नक्कली तिलौराकोट खडा गरी तीव्ररूपमा प्रचार–प्रसार गरी अघि बढाए पनि वास्तविक तिलौराकोटको हविगत देखेर आफूलाई दुःख लाग्ने गरेको बताए। उनले तिलौराकोटलाई जतिसक्दो छिटो विश्व सम्पदासूचीमा सूचीकृत गर्नुपर्ने बताए। सबै मिलेर यसको प्रचारप्रसारमा जुट्नुपर्ने उनले बताए। उनले लुम्बिनी विकास कोषको ऐन संशोधनका लागि आफूले संसदमा कुरा उठाउने बताए।

कोषका उपाध्यक्ष ल्यारक्याल लामाले कोषले तिलौराकोटलाई कोषले प्राथमिकतामा राखेर काम अघि बढाएको र केही वर्षमै अब तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुने बताए। उनले २०४२ सालमा बनेको कोषको ऐनका कारण आफूहरूले चाहेर पनि विकासका काम अघि बढाउन नसकेकाले अहिलेको स्थितिमा ऐन संशोधन गर्नुपर्ने बताए।

लुम्बिनी प्रदेश सदस्य सुधाकर पाण्डेयले तिलौराकोटको विकासका लागि कपिलवस्तु विकास कोष गठन गर्नुपर्ने बताए। उनले तिलौराकोटको कागजमा मात्र विकास गरिँदा त्यसलको मूर्तरूप भने लिन नसकेको बताए। प्रदेश सदस्य गिरधारीलाल न्यौपानेले तिलौराकोट विकासमा सबैले मिलेर अघि बढ्नुपर्ने बताए।

 कार्यक्रमका अध्यक्ष तथा लुम्बिनी विकास परिषद् सदस्य गोपीकृष्ण शर्माले तिलौराकोटमा विगत आठ वर्षदेखि गरिएको प्रसूति उत्सवले तिलौरकोटका प्रचार–प्रसारमा मद्दत मिलेको बताए। उनले बुद्धमार्गीको आस्थाको केन्द्र तिलौराकोटलाई धामका रूपमा विकास गर्न सबै मिलेर काम अघि बढ्नुपर्ने बताए।

तिलौराकोट दरबारको पश्चिमी द्वारनजिकै शिशु बुद्धलाई राखेर कार्यक्रम गरिएको थियो। बौद्ध ग्रन्थमा लेखिएअनुसार मायादेवी गर्भवती भएपछि दशौं महिनामा माइत देवदह जाने इच्छा गरेकी थिइन्। रम्य उद्यान लुम्बिनी पुगेपछि पालकीबाट ओर्लिएर प्राकृतिक सौन्दर्यको सुखानुभूति गर्न नपाउँदै शारीरिक स्वभावमा परिवर्तनसँगै शालको वृक्ष समातेर राजकुमार सिद्धार्थलाई जन्म दिइएकी थिइन्। यो खबरले तिलौराकोट, कपिलवस्तु सहर र देवदहमा हर्सोल्लास छायो र सिंगो कपिलवस्तु सहर सिँगारेर चिटिक्क पारिएको थियो।

प्रकाशित: ३१ वैशाख २०८२ ०८:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App