विराटनगर महानगरपालिका–३ मा रहेको बाल सुधार गृहबाट तीन बालक फरार भएका छन्।
सुधार गृहबाट सोमबार तीन जना बालबिज्याइँकर्ता फरार भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए। उनका अनुसार १७ र १८ वर्ष उमेर समूहका तीन जना बालकहरू सुधार गृहको पछाडिको भागबाट फरार भउका हुन्।
उदयपुर, झापा र तेह्रथुम घर भएका तीनैजना बालकहरू जबरजस्ती करणी मुद्दाका हुन्। फरारमध्ये उदयपुरका १८ वर्षीय बालकलाई अदालतले १६ वर्ष ८ महिना कैद सजाय सुनाएको थियो।
उनी तीन वर्षदेखि सुधार गृहमा बस्दै आएका थिए। झापा र ताप्लेजुङका दुई बालक पाँच महिनाअघि मात्रै पुर्पक्षका लागि आएका थिए।
बाल सुधार गृहको पछाडिको भाग मुख्य राजमार्ग कोशीसँग करिब जोडिन्छ। सुधार गृहको पछाडिको भाग र कोशी राजमार्ग करिब २ मिटरको दूरीमा रहेको छ।
सुधार गृहको पछाडिबाट फरार भएकाहरू राजमार्गसम्म देखिएका थिए। यसअघि पनि सुधार गृहको पर्खाल हामफालेर केही फरार भएका थिए।
फरार भएर जानसक्ने केही स्थानमा खोजी कार्य भइरहेको छ भने अन्य स्थानमा तीव्र खोजी कार्य भइरहेको र चाँडै पक्राउ पर्ने डिएसपी जोशीले बताए।
प्रकाशित: ३० वैशाख २०८२ २०:०१ मंगलबार





