१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

नेपालका बालबालिका तथा युवाको आह्वानमा युनिसेफको समर्थन

नेपालका बालबालिका तथा युवाहरूले गरेको दिगो भविष्यको आह्वानलाई युनिसेफले समर्थन व्यक्त गरेको छ  । मङ्गलवार प्रेस विज्ञप्ति जारी गर्दै युनिसेफले समर्थन जनाएको हो।

जेठ २ गतेदेखि ४ गतेसम्म आयोजना हुने ‘सगरमाथा संवाद’लाई लक्षित गरी अघिल्लो महिना सम्पन्न ‘बालबालिका तथा युवा संवाद’ले तयार पारेको घोषणालाई युनिसेफले समर्थन गरेको हो। उक्त संवादमा देशभरका एक सयभन्दा बढी युवा तथा बालबालिका सहभागी थिए। 

जसमा जलवायु परिवर्तन, जलवायु परिवर्तनले युवा तथा बालबालिकामा परेको असर र ती असरसँग जुध्न अबको तयारी सम्बन्धी छलफल भएको थियो। संवादका क्रममा युवाहरूले विभिन्न माग सहित घोषणापत्र तयार पारेका थिए। जुन घोषणापत्रलाई मङ्गलवार प्रधानमन्त्री कार्यालयस्थित सगरमाथा संवाद सचिवालयमा बुझाइएको छ। 

उक्त घोषणापत्रमा जलवायु परिवर्तनप्रति उत्थानशील नेपाल, विश्वका लागि आफ्ना मागहरू र प्रतिबद्धताहरू उल्लेख गरेका छन्। घोषणापत्रमा समावेशी तथा बालबालिका र युवा प्रतिक्रियाशील जलवायु परिवर्तन न्यूनीकरणका लागि सशक्त आह्वान रहेको युनिसेफले जनाएको छ।

घोषणापत्रले युवा, बालबालिकालाई जलवायु परिवर्तनको असरको लाभग्राहीको रूपमा मात्र नभई जलवायुको आधिकारिक पक्षधरको रूपमा लिन पनि युनिसेफको आग्रह छ। ‘जलवायु सङ्कट एक बाल अधिकारको सङ्कट हो, यसले उनीहरूको स्वास्थ्य पोषण, शिक्षा तथा समृद्धिमा प्रतिकुल प्रभाव परिरहेको छ,’ युनिसेफले भनेको छ, ‘यी प्रभावलाई सम्बोधन गर्न, अर्थपूर्ण र दिगो समाधानहरू कार्यान्वयन गर्न मानवताको आवाज सुन्न महत्त्वपूर्ण छ।’ 

प्रकाशित: ३० वैशाख २०८२ १८:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App