बेनी नगरपालिका–९ नेप्टेचौरबाट काउरा–गिठिनी–आखेत हुँदै वडा नं १० पात्लेखेत जोड्ने सडकको ट्रयाक खुलेको १५ वर्षपछि फराकिलो र सुधारिएको छ। २०६७/६८ मा ट्रयाक खुलेको यो सडक बेनी–पाखापानी सडकको नेप्टेचौर–पात्लेखेत खण्डको छोटो दूरीको वैकल्पिक मार्ग हो। यो सडक सामान्य मर्मत गरेर यातायात चल्दै आएको थियो। बेनी–पाखापानी सडक म्याग्दीको प्राथमिकता र रणनीतिक महत्वको योजना हो।
चालु आर्थिक वर्ष २०८१/८२ मा बेनी नगरपालिकाले सञ्चालन गरेको बेनी–अर्थुङ्गे–तोरीपानी–पाखापानी सडक योजनामार्फत प्रवेशविन्दु, रातोपहिरो, नेप्टेचौर, काउरा, आरते, गिठिनी र आखेत क्षेत्रका अप्ठ्यारा गाउँमा सडक फराकिलो बनाइएको छ। ग्यावियन पर्खाल, नाली र ढलान गरेर सडक सुधारिएको छ।
सडक सुधारिएपछि यात्रा सहज भएको बेनी नगरपालिका–९ काउराका विनोद चोखालले बताए। ‘नेप्टेचौरबाट तोरीपानी–ओखले–पात्लेखेत हुँदै झिँ जोड्ने मुख्य सडक घुमाउरो भएकाले १५ वर्षअघि छोटो दूरीको वैकल्पिक सडक बनाइएको थियो, तर यसले प्राथमिकता पाएको थिएन,’ उनले भने, ‘सुधारिएको ठाउँमा पहिला साँघुरो सडक थियो। ग्रेड र घुम्ती मिलेको थिएन।’
ढलानले सडकमा यात्रा सहज भएको चोखालले बताए। बेनी नगरपालिकाको प्राविधिक शाखाका प्राविधिक मिलन केसीका अनुसार विभिन्न ठाउँमा ९०८ मिटर सडकमा भित्ता काट्ने, पहिरो हटाउने, फराकिलो बनाउने, टेवा पर्खाल, नाली निर्माण र ढलान गरिएको छ।
योजनाका लागि ३ करोड रुपैयाँ बजेट छुट्याइएको थियो। २०८१ पुस १९ गते २ करोड ९ लाख रुपैयाँमा विकेश–दुप्चेश्वर–शुभम् जेभीले ठेक्का सम्झौता गरेको थियो। २०८२ असार २५ गतेसम्म म्याद भएको यो योजना तीन महिना अगावै सम्पन्न भएको छ।
निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले सम्झौतापछि पर्याप्त मजदुर, उपकरण र निर्माण सामग्री व्यवस्थापन गरेर लक्ष्यअघि नै काम सम्पन्न गरेको बताए। बजेट अभाव, आर्थिक सङ्कट, निर्माण सामग्रीको मूल्यवृद्धि र सामाजिक समस्याले धेरै आयोजनामा ढिलाइ भइरहेको छ।
पहिलो चरणको ठेक्काबाट बचेको २० लाख रुपैयाँको थप काम गर्न अर्को ठेक्का लगाएर काम सुरु भएको बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले बताए। २०८१/८२ मा बेनी नगरपालिकाले यो योजनामा सबैभन्दा धेरै बजेट छुट्याएको थियो।
बेनी–पाखापानी सडकको बेनीबाट अर्थुङ्गे हुँदै किराखोरसम्म करिब ६ किलोमिटर ढलान र कालोपत्रे भएको छ। किराखोरबाट नेप्टेचौर हुँदै तोरीपानीको गलेश्वर माविसम्मको ४ किलोमिटर सडक सुधारका लागि प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालयले गत वर्षदेखि आयोजना सञ्चालन गरेको छ। प्रदेश सरकारले मुख्य सडक सुधार गरिरहेकाले नगरपालिकाले वैकल्पिक सडक सुधारको काम थालेको नगरप्रमुख सुरत केसीले बताए। रासस
प्रकाशित: ३० वैशाख २०८२ १०:११ मंगलबार