१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

गाउँलाई सहरसँग जोड्दै रिक्सा

सडक सञ्जालसँग जोडिएको नेपालगन्ज–२०, मदनापुर । तस्विरः गणेश विशु/नागरिक

नेपालगन्ज–२० मदनापुरस्थित ८० वर्षीया खुमबहादुर घर्तीको घर अगाडि सडक बाटो कालोपत्रे छ । दैनिक सवारी साधनको आवतजावत उस्तै छ । तर, तत्काल बजार जाने काम पर्दा भने हत्तपत्त गाडी पाउँदैनन् । सार्वजनिक गाडी नचल्दा उनलाई सहरसँग रिक्साले जोड्छ । सोही गाउँकी ६३ वर्षीया पद्मा नेपालीको यातायातको साधन भनेकै अटो रिक्सा हो । अटो नहुँदो हो तः उनीजस्तै यस गाउँका मान्छेलाई सहरसँग जोडिन एक घण्टा पैदल यात्रा गर्नुपर्छ ।

गाउँगाउँमा सडक बनेसँगै तीन पांग्रे रिक्सा प्रमुख सवारी साधन बनेका छन् । यहाँबाट उत्पादित तरकारी बजार पु¥याउनदेखि बिरामीलाई अस्पतालसम्म लिन रिक्सा प्रयोग हुन्छ । नेपालगन्जको मुख्य सडक अन्य पालिकासँग जोडिएका सडकबाहेक अन्य भित्री सडकमा लोकल गाडी चल्दैनन् । जसले रिक्सा गाउँगाउँसम्म पुगेका छन् । रिक्साले गाउँले जनजीवनलाई सहज बनाइ दिएको मदनापुरका खुमबहादुरले बताए । 

‘रिक्साले गर्दा बजार जानआउन सजिलो भएको छ,’ उनले भने, ‘रिक्सा गाउँसम्म नआउने हो भने हिँड्नु पर्ने बाध्यता छ ।’ मदनावुरको बजार राँझा हो । झन्डै आधा घण्टाजतिमा राँझा पुगिन्छ । गाउँबाट राँझासम्म ३० रुपैयाँ भाडा लाग्नु यहाँकी पद्माले बताइन् । राँझाभन्दा करिब तीन किलोमिटर दुरीमा रहेको मदनापुर सडक सञ्जालसँग जोडिएको १२÷१५ वर्ष भयो । यसभन्दा पहिला पैदल हिँड्नुबाहेक अरु विकल्प थिएन । अहिले सडकसँगै सुविधा पाएपछि गाउँले खुसी छन् ।  

मदनापुरसँग जोडिएको डुडुवा गाउँपालिका वडा नम्बर ५ दलैपुरका स्थानीयको पनि आवतजावतको प्रमुख साधन रिक्सा हो । सडक कच्ची भए पनि गाउँसम्म रिक्सा पुग्छन् । सुशिला विश्वकर्मा सुर्खेतबाट दलैपुर आएको झन्डै २३ वर्ष भयो । त्यतिबेला गाउँ जोड्ने सानो गोरेढो बाटो थियो । अहिलेलसडक बाटो पुगेको छ । सडक पुगेसँगै उनको आवतजावत सजिलो बनेको छ । उनी भन्छिन्, ‘घरमा यातायातको  साधन छैन । लोकल गाडी पनि चल्दैनन् । तर, पनि बजारसम्म आवतजावत गर्न समस्या छैन । रिक्सा चलिरहन्छन् । नचले पनि फोन गर्दा तत्काल आउँछन् ।’ यस गाउँ धेरैजसो व्यक्तिले रिक्सा किनेका छन् । उनीहरुको आम्दानी पनि भएको छ सेवा पनि ।

सामान ढुवानीसँगै खाद्यान्न र अन्य उत्पादित चिजबस्तु बजार पुर्याउन सजिलो भएको उनको भनाइ छ । रिक्साले दलैपुरबाट प्रतिव्यक्ति ७० देखि एक सय रुपैयाँसम्म लिने गरे पनि स्थानीयको गुनासो छैन । लोकल गाडी चल्थे भने २०÷३० रुपैयाँ भाडा लाग्थ्यो । यहाँ लोकल गाडी सञ्चालनका लागि प्रयास गरिएको थियो । तर, मान्छे रिक्सामा चढ्न थालेपछि गाडी चल्न बन्द भए । ‘गाडीले मान्छे हाल्दै हिँड्ने हुँदा ढिलो हुने र रिक्सा एकजना मान्छे लिएर मात्र जाने हुँदा गाडीले यात्रु पाउनै छाडे,’ उनले भनिन्, ‘गाडी नियमित नचले पनि रिक्साले सजिलो बनाएको छ ।’

स्थानीयस्तरमा अटो सञ्चालन भएदेखि आपत्विपत् पर्ला धेरै सहज भएको स्थानीयको भनाइ छ । पहिलापहिला यस्तो सुविधा थिएन । साइकल चलाएर चर्काे घाममा उत्पादित फलहरू लिएर बजारसम्म जानुपर्ने बाध्यता थियो तर अहिले गाउँमै सञ्चालित अटोरिक्साले गर्दा धेरै सहज भएको उनको भनाइ छ । गाउँघरमा बिरामी बोक्ने, यातायातको पहुँचमा नभएका नागरिकलाई ग्रामीण भेगमै गएर गन्तव्यमा पु¥याउने गरेको अटो चाकल तिलकराम यादो अहिरले बताए । उनले दलैपुर–जग्दुवा–मदनापुर–राँझा रुटमा अटो चलाउँछन् । कहिलेकसो त रातारात बिरामीलाई नेपालगन्जका अस्पतालसमेत पुर्‍याउने उनी बताउँछन् । ‘हामी दिनरात चौबीसै घण्टा सेवामा हुन्छौं,’ उनले भने, ‘हुन त यो हाम्रो व्यवसाय हो तर पनि हामीले सेवा गरेकोजस्तो काम हुन्छ । रातदिन नभनी हामी सेवा दिन्छौँ, त्यसैले नागरिकले सहजता महसुस गरेका छन् ।’

गाउँगाउँमा सडक सञ्जाल विस्तार भएसँगै व्यक्तिगत सवारी साधन पनि छन् । ति सार्वजनिक सवारी साधन जसरी नचल्दा रिक्साकै भरपर्नु पर्ने बाध्यथा भएको उनी बताउँछन् । ‘निजी सवारी साधन यात्रु हालेर हिँड्ने कुरा पनि भएन,’ उनले भने, ‘सडकमै भएका बेला चिनेजानेकालाई सहयोग गर्नु एउटा कुरा हो अन्यथा उनीहरु आफ्नो समयमा हिँड्छन् ।’

प्रकाशित: २९ वैशाख २०८२ १७:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App