चालु आर्थिक वर्ष २०८१/८२ भित्र अर्थात् असार मसान्तसम्म सातजना सचिव तथा १६ जना सहसचिवको पद रिक्त हुँदै छ। सात सचिवमध्ये एकजना सचिवले बिहीबार अनिवार्य अवकाश पाएका छन्।
बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले अनिवार्य अवकाश पाएका छन्। उनले निजामती सेवा क्षेत्रमा ३८ वर्ष बिताएका छन्। निजामती सेवामा हुँदा उनी गृह तथा संघीय मामिला तथा सामान्य प्रशसान मन्त्रालयमा पनि सचिवका रूपमा कार्यरत थिए।
राष्ट्रिय किताबखाना स्रोतका अनुसार अबको पाँच दिनपछि महालेखा नियन्त्रक गणेश पाण्डेले पनि अवकाश पाउँदैछन्। उनले वैशाख ३० देखि अनिवार्य अवकाश पाउँदैछन्। यसैगरी जल तथा ऊर्जा आयोगका सचिव मधु भेटुवालले जेठ ६ बाट अवकाश पाउँदैछन्। संसद् सचिवालयका सचिव सदुर्शन खड्काले जेठ २९ बाट अनिवार्य अवकाश पाउँदैछन्।
उनीभन्दा दुई दिनअघि कानुन मन्त्रालयका सचिव उदय सापकोटाले अवकाश पाउँदैछन्। सापकोटाले जेठ २७ बाट अनिवार्य अवकाश पाउँदैछन्। महालेखापरीक्षक कार्यालयका उपमहालेखा परीक्षक वामदेव अधिकारीले असार ६ गते तथा हाल गण्डकी प्रदेशका प्रमुख सचिव रघुराम विष्टले जेठ २३ बाट अनिवार्य अवकाश पाउँदैछन्।
सचिवले दुई किसिमबाट अनिवार्य अवकाश पाउने व्यवस्था निजामती सेवा नियमावली २०४९ मा गरिएको छ। ५८ वर्ष उमेर हद पूरा गरेर अथवा सचिवका रूपमा पाँच वर्ष कार्यकाल बिताएपछि अनिवार्य अवकाश पाउने व्यवस्था गरिएको छ।
यी दुई व्यवस्थामध्ये जुन नियम पहिले आकर्षित हुन्छ, त्यही नियमबाट सचिवले अनिवार्य अवकाश पाउने व्यवस्था छ। सहसचिवका हकमा भने पाँच वर्र्षको कार्यकाल तोकिएको छैन। सहसचिवले ५८ वर्षको उमेर हद पूरा गरेर अवकाश पाउने व्यवस्था गरिएको छ। निजामती सेवामा ७२ जना सचिव तथा स्वास्थ्य सेवाबाहेक पाँच सय ६० सहसचिव पदको दरबन्दी राखिएको छ।
सचिवको दरबन्दी रिक्त भएमा रिक्त दरबन्दी पूरा गर्न लोकसेवा आयोगका अध्यक्षको नेतृत्वमा बढुवा सिफारिस समितिको बैठक बसेर उक्त समितिले सरकारलाई वरिष्ठताको हिसाबमा तीनजना वरिष्ठ सहसचिवको नाम सिफारिस गर्ने व्यवस्था कानुनमा गरिएको छ। तीनजनामध्येबाट मन्त्रीपरिषद्ले एकजनाको नाम छान्ने गर्छ। मन्त्रीपरिषद्ले तीनजनामध्येबाट कहिलेकाहीं दुईजना वरिष्ठलाई पन्छाएर तेस्रो नम्बरमा सिफारिस गरिएका सहसचिवलाई सचिवमा बढुवा गर्ने गरेको छ।
राष्ट्रिय किताबखानाका अनुसार चालु आवभित्र शिवराज चौलागाईं, चण्डि घिमिरे, रामेश्वर मरहट्टा, नुरहरि खतिवडा, किरण रूपाखेती, गोविन्द गौलीलगायत १६ जना सहसचिवहरू आगामी असारभित्रै अनिवार्य अवकाश पाउँदैछन्।
राष्ट्रिय किताबखानाले हरेक वर्ष उक्त आवभित्र अवकाश पाउन लागेका कर्मचारीको सूची निकाल्ने गर्छ। किताबखानाले अवकाश पाउन लागेका कर्मचारीलाई ६ महिनाअघि नै अवकाशका बारेमा जानकारी गराउने गर्छ। अहिले संघ, प्रदेश र स्थानीय तहमा गरी कर्मचारीको कुल दरबन्दी संख्या एक लाख ३६ हजारजति पुगेको छ। यसमा संघमा ५२ हजार, प्रदेशमा २२ हजार र स्थानीय तहमा ६५ हजारजति दरबन्दी छन्।
प्रकाशित: २७ वैशाख २०८२ ०८:१८ शनिबार