नेपाल प्रेस युनियनले ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आयोजना गर्ने भएको छ। शुक्रवार पत्रकार सम्मेलन गरी वैशाख २७ देखि ३० गतेसम्म अन्तर्राष्ट्रिय मिडिया समिट गर्न लागेको युनियनका अध्यक्ष शिव लम्सालले जानकारी दिएका छन्।
समिटको औपचारिक उद्घाटन शनिवार ललितपुरको होटेल हिमालयमा हुने अध्यक्ष लम्सालले बताए। उनकाअनुसार उपराष्ट्रपति राम सहाय प्रसाद यादवले कार्यक्रमको उद्घाटन गर्नेछन्। उद्घाटन समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, परराष्ट्र मन्त्री डा.आरजु राणा देउवालगायत विभिन्न देशका पत्रकार समेत सहभागी हुनेछन्।
‘नेपालको इतिहासमा पहिलो पटक नेपाल प्रेस युनियनले ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ आयोजना गर्न गइरहेको जानकारी गराउन पाउँदा खुसी लागेको छ,’ पत्रकार सम्मेलनमा अध्यक्ष लम्सालले भने,‘नागरिक समृद्धि र समृद्ध नेपालका लागि समाजका हरेक पक्षलाई उजागर गर्दै बहु आयामिक परिवर्तन र समाजको रूपान्तरणमा केही योगदान पुर्याउन सकिन्छ भन्ने हेतुले यो समिट आयोजना गर्न लागेको हौँ।’
समिटको समापन भने मुस्ताङमा पुगेर हुने युनियनका महासचिव दिलीप पौडेलले जानकारी दिए। समिट काठमाडौँदेखि पोखरा हुँदै मुस्ताङसम्म चल्ने पनि महासचिव पौडेलले बताए।
‘विश्वका बदलिँदो परिवेशमा प्रविधिले निम्त्याएको अवसर र चुनौती तथा दक्षिण एसियामा मिडियाले भोग्नु परेका समस्या, दक्षिण एसियाको पत्रकारिताको प्रभावबारेमा दक्षिण एसियासहित विभिन्न ६ मुलुकबाट आएका विषय विज्ञहरूको कार्यक्रममा प्रस्तुति समिटमा हुनेछन्,’ महासचिव पौडेलले भने।
समिटमा विश्व परिवेशलाई केन्द्रमा राखेर दक्षिण एसिया र नेपालको पत्रकारिताको बारेमा चिन्तन मनन गरिने अध्यक्ष लम्सालले बताए। ‘समिटमा नेपाली पत्रकारितामा पत्रकारहरूले भोग्नु परेका कठिनाइ अवसर र चुनौतीमा प्रस्तुति, छलफल सुझावसहितका निष्कर्ष निकाल्ने लक्ष्य राखिएको छ,’ उनले भने, ‘बदलिँदो नेपालमा जनचाहना अनुरूपको पत्रकारिताको सन्दर्भमा अबको पत्रकारिताले सामाजिक वातावरणीय क्षेत्रमा पनि ध्यान दिन जरुरी देखिएकाले जलवायु परिवर्तनले निम्त्याएको संकटका बारेमा पनि छलफल गर्छौँ।’
समिटमा विदेशी पत्रकारसहित करिब १५० पत्रकार सहभागी हुने युनियनको भनाई छ।
प्रकाशित: २६ वैशाख २०८२ २०:०५ शुक्रबार