१२ जेष्ठ २०८३ मंगलबार
image/svg+xml
विचार

इबोला रोकथामको पूर्वतयारी खै ?

विश्व स्वास्थ्य संगठनले प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी इतुरी प्रान्तमा फैलिएको इबोला भाइरसको प्रकोपलाई विश्वव्यापी महामारीको मापदण्ड पूरा नगरे पनि अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य संकटकाल घोषणा गरेको छ। फैलिएको इबोलाको प्रजाति ‘बुन्डिबुग्यो’ भएको र संक्रमित, फैलावट तथा मृतकको संख्या अझै अनिश्चित रहेको विश्व स्वास्थ्य संगठनका महासचिवले बताएका छन्।

विगतको एक घटना चर्चा गरौं। एक नेपाली स्थानीय क्लबको निमन्त्रणामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केही वर्षअघि भदौ ६ गते नेपाल भित्रिएका एक नाइजेरियन युवा फुटबल खेलाडी थिए। उनीमा ज्वरो देखिएको थियो। अस्पताल तथा सरोकारवालाहरू शड्ढया नभएको भन्दै पन्छिएका, समन्वय गर्न तथा नजिक पर्न तर्सिएका हेल्थ डेस्क, आफ्नो अधिकार नभएको भन्दै आतंकित प्रहरी, अस्पताल लैजान नमानेका एम्बुलेन्स र आइसोलेसन वार्ड तथा प्राविधिक नभएको भन्दै भागाभाग भएका उपचारका लागि तोकिएका अस्पताल र स्वास्थ्यकर्मीको व्यवहार छरपष्ट भएको थियो। आएको देश, संक्रमण र रोगको हाउगुजी छरपस्टै भएको थियो। पछि ज्वरो घटेकाले र उनी भिसाबिना आएका अवैध भएकाले उनलाई भोलिपल्टै फर्काइएको थियो। उनमा आएको ज्वरो इबोलाको संक्रमणले नभई अवैध रूपमा नेपाल भित्रिएकाले भएको तनावले भएको निष्कर्ष निकालिएको थियो। जबकि सरकार जोखिम न्यून भएको र हाम्रो पूर्वतयारी छ भन्दै समाचारमा यत्रतत्र देखिन्थ्यो। जब शंकास्पद बिरामी आउँछ, तब इबोला संक्रमणको सचेतना, निगरानी तथा रोकथामको तयारी दर्साउँछ। उपर्युक्त एक खेलाडी ज्वरोसहित भित्रिँदा सबैभन्दा सुविधासम्पन्न अन्तर्राष्ट्रिय विमानस्थल र देशकै केन्द्र राजधानीमा देखिएको अवस्थाले हाम्रो पूर्वतयारी, सचेतना र प्रतिकार्यलाई जिस्काएको थियो र कागजमा भएको तयारी व्यवहारमा आउँदैन भन्ने समेत झल्काउँछ।

विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा

कंगोको पूर्वी प्रान्तमा फैलिएको इबोला भाइरसको प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य संकटकाल घोषणा गरिएको छ। उक्त प्रान्त र देशबाट सुरु भई छिमेकी देशमा समेत फैलिएको इबोलाको प्रजाति बुन्डिबुग्यो भएको तथा संक्रमित, फैलावट र मृतकको संख्या अझै धेरै हुनसक्ने र अनिश्चित रहेको बताइन्छ।

प्रकोपमा एक सय ३१ जनाको मृत्यु, थप आठ जनामा प्रयोगशाला पुष्टि र पाँच सय १३ बढी सम्भावित संक्रमित फेला परिसकेका छन्। भाइरस सीमा नाघेर छिमेकी देश युगान्डासम्म पुगेर एकको मृत्यु र दुई जनामा संक्रमण पुष्टि भइसकेको छ। आकस्मिक सञ्चालन केन्द्र, निगरानी र स्वास्थ्य रिपोर्टिङलगायतका स्वास्थ्य प्रणालीहरू सक्रिय भएका छन्। 

नेपालका विमानस्थल, अस्पताल र स्वास्थ्य प्रणालीमा देखिएको कमजोर तयारीले विगतमा शंकास्पद बिरामी व्यवस्थापनमै समस्या सिर्जना गरेको थियो। इबोला संक्रमण रोकथामका लागि सामुदायिक सचेतना, द्रुत परीक्षण, आइसोलेसन र स्वास्थ्यकर्मीको सुरक्षामा तत्काल सुधार आवश्यक छ।

सम्पर्क एक्सपोजरलाई २१ दिन क्वारेन्टिन र संक्रमितलाई कम्तीमा ४८ घण्टाको अन्तरालमा गरिएका दुईवटा विशिष्ट परीक्षणहरू नेगेटिभ नभएसम्म आइसोलेसनमा बस्न तथा बसाउन उक्त देश र अन्य सदस्य राष्ट्रहरूलाई विश्व स्वास्थ्य संगठनले भनेको छ।

भयानकता

इबोला भाइरस पहिलो पटक चमेरोबाट सरी सन् १९७६ मा कंगोमा फेला परेको थियो। सन् २०१४ देखि २०१६ सम्म पश्चिम अफ्रिकामा फैलिएको इबोलाबाट २८ हजार ६ सय बढीमा संक्रमण र ११ हजार ३२५ जनाको मृत्यु भएको छ। गत वर्ष पनि कंगोमा ४५ जनाको मृत्यु भएको थियो। कंगोमा २०१८ देखि २०२२ को बिचमा फैलिएको प्रकोप नै आजसम्मको भयानक प्रकोप हो, जसमा झन्डै दुई हजार तीन सयको मृत्यु भएको थियो। सन् २०२६ मेको लहर १७औं हो। विगत ५० वर्षमा अफ्रिकी देशहरूमा इबोला भाइरसका कारण करिब १५ हजार बढीले ज्यान गुमाइसकेका छन्।

भाइरस

पहिलो पटक कंगोको इबोला नदी नजिकै रहेको गाउँमा रोग देखा परेकाले यस भाइरसको नाम इबोला राखिएको हो। यस भाइरसका पाँच प्रजातिमध्ये तीनप्रकारका मानिसका लागि घातक सिद्ध भएका छन् र हाल अफ्रिकामा हेमारेजिक फिभर उत्पन्न गरेका छन्। अन्य दुई प्रजातिले मानिसमा सामान्य रोग मात्र पैदा गर्छन्।

भाइरसलाई सोडियम हाइपोक्लोराइट, मिथाइल अल्कोहल, ग्लुटरअल्डिहाइड, एसिटिक एसिड, फर्माल्डिहाइड र डिटर्जेन्ट–साबुनको प्रयोगले नष्ट गर्न सकिन्छ। त्यसैगरी ६० डिग्री सेल्सियसमा ३० देखि ६० मिनेटसम्म तताएर वा पाँच मिनेटसम्म पानीमा उमालेर नष्ट गर्न सकिन्छ।

सर्ने माध्यम

जंगली जनावरको मासु सेवनबाट मानिसमा सरेको इबोला हाल मानिसबाट मानिसमा महामारीका रूपमा सरिरहेको छ। त्यसो त इबोला भाइरस हावा, खानेकुरा वा पानीको माध्यमले सर्दैन। शरीरमा रहेका तथा निष्कासन हुने तरल पदार्थहरू र्‍याल, रगत, आँसु, दुध, दिसा, पिसाब, पसिना, वीर्य, योनीरसबाट मात्र सर्छ। मुखभित्र र छालामा कोथरिएका तथा काटिएका घाउबाट निस्कने तरल पदार्थबाट पनि रोग एकआपसमा सर्छ। जुठोबाट पनि रोग सर्छ। रोगबाट निको भएकामा पनि सात सातासम्म यौनसम्पर्कबाट रोग सर्छ।

संक्रमित वा संक्रमणले मरेका जंगली जनावरको काँचो मासु वा तिनीहरूको रगत, अंग वा शरीरबाट निस्केको तरल पदार्थ मानिसले स्पर्श गर्दा वा चलाउँदा तथा खाँदा मानिसमा रोग उत्पन्न गर्छ। गिनीमा ६० प्रतिशत बिरामी रोगबाट मरेका मानिसलाई अँगालो हालेर शोक मनाउँदा र दाहसंस्कारका क्रममा लासलाई छुँदा सरेको पाइएको थियो। ओथारो समयमा भन्दा लक्षण देखिएका व्यक्तिबाट सर्ने सम्भावना बढी हुन्छ।

रोग

जोखिम समूहमा संक्रमितका परिवार तथा आफन्तजन र उपचारमा संलग्न स्वास्थ्यकर्मी पर्छन्। डब्लुएचओले प्रत्यक्ष सम्पर्कमा नरहेसम्म इबोला सर्ने सम्भावना नरहेको भन्दै पर्यटकलाई सर्ने सम्भावना कम रहेको बताएको छ। भाइरसले आक्रमण गरेको तीनदेखि २१ दिनमा अकस्मात रुघा लागेको जसरी सुरु हुन्छ। लक्षण देखिएको चार दिनसम्मलाई पहिलो चरण, पाँच दिनदेखि १३ दिनसम्मलाई दोस्रो चरण र १३ देखि १८ दिनसम्मलाई तेस्रो चरण मानिन्छ।

पहिलो चरणमा शरीर थाक्नु, ३९ देखि ४० सेल्सियसको ज्वरो आउनु, घाँटी खसखसाउनु, सुक्खा हुनु, छाती र पेट दुख्नु, मांसपेशी दुख्नु, हाडजोर्नी दुख्ने, टाउको टन्किनु, शरीरमा विशेषतः छालामा घाउ, विभिन्न रातो दागहरू देखिनु, वाकवाकी लाग्नु, बान्ता हुनु, खाना नरुच्नु, पखाला लाग्नु, बाडुली लाग्नु, श्वासप्रश्वास तथा निल्नमा गाह्रो हुने देखिन्छ।

दोस्रो चरणमा इन्सेफ्लाइटिस भई भ्रम हुने, दिक्क लाग्ने, रिसाउने, बेहोस हुने, सास फेर्न असजिलो, आँखा रातो हुने, शरीरका भित्री तथा बाहिरी अंगमा रक्तश्राव र कहिलेकाहीं दिसा र बान्तामा समेत रगत देखिन सक्छ। ४० देखि ५० प्रतिशत रोगीमा नाक, यौनअंग, मलद्वार, गिजा आदिबाट रक्तश्राव भएको पाइन्छ। आन्तरिक तथा बाह्य रक्तश्रावले १३ देखि १८ दिनमा मुर्छा पर्ने, शरीरका मुख्य अंगहरू मिर्गौला र कलेजो कमजोर भई निष्क्रिय वा काम गर्न छोड्छन् र मृत्यु हुन्छ।

मृत्युदर ५५ प्रतिशत देखिएको इबोला रोग लागिसकेपछि ९० प्रतिशतसम्म मृत्यु हुने भएकाले बाँच्नु बिरलै तथा आफैंमा अपवादमै पर्छ। रोगबाट बच्न सफल भएकामा पनि शारीरिक र मानसिक विकृति रहनसक्छ।

निदान

रक्तश्रावको चरणमा पुग्नुभन्दा पहिले इबोलाका लक्षण लेप्टोस्पाइरोसिस, हैजा, टाइफाइड, औलो, डेंगु र अन्य ज्वरोका लक्षणसँग मिल्ने भएकाले लक्षणकै आधारमा निदान हुन सक्दैन। तर नेपालमा लक्षण नै शंका तथा निदान गर्ने आधार हो। रगत तथा शरीरका तरलजन्य निष्कासनको नमुना संकलन रोगका लक्षण देखिएको तीनदेखि १० दिनमा सुरक्षित पोसाक लगाएर मात्र गर्नुपर्छ। इबोलाको निश्चित परीक्षण तथा निदान दक्षिणपूर्वी एसियामा भारतको पुणेको नेसनल भाइरोलोजी इन्स्टिच्युटको ल्याबमा हुन्छ। कोभिडजस्तै भाइरल कण पत्ता लगाउन पिसिआर र द्रुत एन्टिजेन परीक्षण आरएटी/आरडिटी प्रयोग गरिन्छ।

जोखिममा नेपाल

प्रकोपको केन्द्र मानिएको इतुरी प्रान्त, कंगोमा नेपाली सेनाका नौ सय ७० बढी शान्ति सैनिकसहित सशस्त्र प्रहरी बल र नेपाल प्रहरी खटिएका छन्। तथापि आजसम्म उनीहरूमा इबोला भाइरस संक्रमण पुष्टि नभएको बताइन्छ। त्यस्तै वैदेशिक रोजगारका लागि खुला गरिएका राष्ट्रमा अफ्रिकी मुलुक छन्, जसमा आधिकारिक रूपमा वार्षिक चार सय जति जाने गर्छन्। तथापि लाखको संख्यामा रहेको बताइन्छ।

विमानस्थलमा थर्मल सेन्सर क्यामेरा तथा अन्य नाकामा थर्मोमिटर तथा केहीमा त बिरामीले भनेकै आधारमा ज्वरो आए–नआएको हेर्ने र लेख्ने गरिएको छ। शंकास्पदलाई २१ दिन स्वास्थ्यकर्मीको निगरानीमा राखिनुपर्नेमा कडाइ छैन। सरकारी अस्पतालमा शड्ढया अभाव तथा बिरामीको भिडले एउटै शड्ढयामा ३–४ जना राख्नुपर्ने अवस्थामा शंकास्पद बिरामी भेटिए छुट्टै उपचार गर्न आइसोलेसन वार्ड अन्यमा सम्भव नभए पनि टेकु अस्पतालमा स्थापना गर्न जरुरी छ। अन्तर्राष्ट्रिय संकट घोषणा भएपछि स्थल नाकाबाट भित्रिने सम्भावना कम रहेको भन्दै हवाई नाकाबाट आउनेका लागि २४ सै घण्टा स्क्रिनिङ गर्ने तथा सरोकारवालासँग छलफल रहेको बताइन्छ।

इबोला संक्रमित जहाँबाट जहिलेसुकै जुनसुकै रूपमा भित्रिन सक्ने भएकाले विपद् र आकस्मिक चक्रका सबै क्रियाकलापहरूमा तयारी गर्न जरुरी छ। विश्व स्वास्थ्य संगठनले सुझाएका जनस्वास्थ्यका मापदण्ड, निगरानी, सचेतना र सामुदायिक सहभागितालाई ध्यान दिँदै व्यक्तिगत सुरक्षाका लुगाहरू पिपिईको उपलब्धता, भण्डारण र मूल्यमा सरकार चनाखो मात्र नभई द्रुतगतिमा काम गर्न जरुरी छ।

उपचार

विश्व स्वास्थ्य संगठनले जेडम्याप नामक प्रयोगात्मक औषधि प्रयोगमा ल्याउने निर्णय गरेको छ। बाँदरमा शतप्रतिशत तथा मानिसमा सात जनामा गरिएको प्रयोगमा पाँच जनामा सफल देखिएको छ। त्यस्तै जापानले एभिगेन नामक औषधि बनाएको छ, जुन प्रमाणित हुन बाँकी भए पनि यसले शतप्रतिशत काम गर्ने दाबी छ। बुन्डिबुग्यो स्ट्रेनका लागि कुनै विशेष उपचार छैन। रक्तचाप, हाइड्रेसन कायम राख्ने, बान्ता र पखाला कम गर्ने, ज्वरो तथा दुखाइ व्यवस्थापन गर्नमा उपचार केन्द्रित हुन्छ।

खोप

इबोलाका लागि दुई वटा स्वीकृत खोप छन्। एर्भेबो खोपलाई २०१५ मा जारी गरी सन् २०१८–२०२० को कंगोमा भएको प्रकोपको समयमा तीन लाख ४५ हजार मानिसलाई दिइएको थियो। यसले इबोला भाइरसको प्रोटिन प्रयोग गरेर हाम्रो प्रतिरक्षा प्रणालीलाई भाइरस पहिचान गर्न र प्रतिक्रिया दिन तालिम दिन्छ।

रोकथाम

रोगका लक्षण देखिएकालाई विशेष आइसोलेसन वार्डमा राखी उपचार गर्नुपर्छ। संक्रमितबाट निस्किएका तरल पदार्थहरू तथा मृत्यु भएकाको शवहरू निसंक्रमण गरेर मात्र व्यवस्थापन गर्नुपर्छ। संक्रमितलाई उपचार गर्ने स्वास्थ्यकर्मीहरूले पनि गाउन, मास्क, ग्लोब, चस्माका साथै विशेष प्रकारका कपडा लगाउन जरुरी छ।

संक्रमण भएपछि लक्षण देखिन दुईदेखि २१ दिन लाग्ने भएकाले संक्रमण फैलिएका अफ्रिकी मुलुकबाट आउने तथा उनीहरूसँग सम्पर्कमा रहेका व्यक्तिलाई तीन हप्ताजति छुट्टै राख्ने र उनीहरूसँग अनावश्यक लसपस गर्नुहुँदैन। साबुनपानीले हात धुने बानी बसाल्नुपर्छ। संक्रमितका लुगा–कपडा, ओछ्यान तथा भाँडाकुँडा अन्यले प्रयोग गर्नुहुँदैन। छोएर, सम्पर्कमा आएर तथा जुठो खाएर पनि रोग सर्ने भएकाले रोगीसँग सम्पर्कमा आउनुहुँदैन। संक्रमित राष्ट्रबाट आएकालाई २१ दिनसम्म क्वारेन्टाइन वा स्वास्थ्यकर्मीको निगरानीमा राख्नुपर्छ।

अन्तमा, संक्रमणको प्रसार रोक्न सामुदायिक सञ्चार, द्रुत निदान, सम्पर्कमा आएकालाई २१ दिनसम्म निगरानी गर्ने र लक्षण देखिएकालाई आइसोलेसन, कन्ट्याक्ट ट्रेसिङ र सुरक्षित दाहसंस्कारजस्ता उपाय अपनाएर यसबाट बचावट गर्न गराउन सकिन्छ। तसर्थ सबै सरोकारवालाहरू संवेदनशील बनी आआफ्नो तह र तप्काबाट रोकथाम गर्न जरुरी छ।

–बुढाथोकी न्याम्स वीर अस्पताल काठमाडौंका प्रमुख कन्सल्टेन्ट ओरल एन्ड डेन्टल सर्जन एवं स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका निवर्तमान प्रवक्ता हुन्।

प्रकाशित: १२ जेष्ठ २०८३ ०९:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %