भक्तपुर जुजु धौ व्यवसायी संघका अध्यक्ष कृष्णगोपाल सैजूमाथि कारबाही गरिएको छ।
भक्तपुर नगरपालिकाको अनुगमन समितिका संयोजक तथा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा व्यासी, च्याम्हासिंह र जगातीमा शुक्रबार गरिएको अनुगमनका क्रममा कारबाही भएको हो। अनुगमनमा सैजू दुग्ध दही उद्योगले खाद्य अनुज्ञापत्रबिना प्याकेजिङ गरी व्यवस्थित लेबल नराखी बिक्री गरेको पाइएपछि ५ हजार रुपैयाँ जरिवाना गरिएको छ।
वडा निरीक्षक रामकृष्ण प्रजापतिका अनुसार, सैजू दुग्ध दही उद्योगलाई पसल नवीकरण गर्न, सरसफाइमा ध्यान दिन, दही, लालमोहन, पुष्टकारी, गुडपाक, घ्युमा खाद्य अनुज्ञापत्र लिएर लेबल राखी बिक्री गर्न निर्देशन दिइएको छ। उद्योगले लेबल राखे पनि उत्पादन मिति नराखी बिक्रीका बेला मात्र मिति राख्ने गरेको पाइएपछि ५ हजार रुपैयाँ जरिवानासहित तीन दिनभित्र नगरपालिकामा उपस्थित हुन निर्देशन दिइएको छ।
अनुगमनमा लक्ष्मी दही भण्डारले पनि पसल नवीकरण नगरेको, खाद्य अनुज्ञापत्रबिना सामान्य लेबल राखेको र मूल्य नराखेको पाइएको छ। प्रजापतिका अनुसार, उक्त पसललाई मूल्य राख्न, सरसफाइमा ध्यान दिन र भ्याट वा प्यान बिल प्रयोग गर्न निर्देशन दिइएको छ।
अनुगमनमा जिल्ला प्रशासन कार्यालय भक्तपुरका शिव कार्की, यादवप्रसाद मिश्र, उद्योग वाणिज्य संघका विश्वराम दुवाल, उद्योग तथा वाणिज्य कार्यालय भक्तपुरका लक्ष्मीप्रसाद कासुला, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका दृष्टि ढकाल, सरोज पौडेल, पत्रकारहरू, भक्तपुर नगरपालिकाका शाखा प्रमुख दिलीपकुमार सुवाल र वडा निरीक्षक रामकृष्ण प्रजापति सहभागी थिए।
प्रकाशित: २६ वैशाख २०८२ १६:४५ शुक्रबार