भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साह र प्रकृति लम्सालको शंकास्पद मृत्युपछि त्यहाँको प्रहरी प्रशासनले विश्वविद्यालयका कर्मचारी र विद्यार्थीलाई छलफलका लागि बोलाएको छ। प्रहरीले बिहीबार दिउँसो साढे दुई घण्टा किट विश्वविद्यालयमा कार्यरत कर्मचारी र त्यहाँ अध्ययनरत विद्यार्थी तथा होस्टल वार्डेनसँग छलफल गरेको छ।
ओडिसा राज्यको भुवनेश्वर प्रहरी कमिस्नार कार्यालय केशरीनगरमा भएको छलफलमा विद्यार्थीहरूलाई किट विश्वविद्यालय प्रशासनले अनावश्यक दबाब दिए र कोही कसैले ह्यारेमेन्ट गरे तथा जुनसुकै प्रकारका समस्या भए तुरुन्तै प्रहरी प्रशासनलाई खबर गर्न आग्रह गरेको छ।
प्रहरीले विद्यार्थीहरूलाई हटलाइन नम्बरसमेत दिएको छ। साथै विश्वविद्यालय प्रशासनलाई विद्यार्थीप्रति बढी जिम्मेवार बन्न र यस्ता घटना दोहोरिन नदिन सचेत गराएको छ।
ओडिसास्थित भुवनेश्वर प्रहरी कमिस्नार डा. सुरेश देवदत्त सिंहले विद्यार्थीहरूको समस्या सुनुवाइ गर्न इन्डियन प्रहरी सर्भिस (आइपिएस) लाई जिम्मेवारी दिएको समेत बताए। त्यसका लागि आइपिएसकी एक महिला डिएसपीलाई खटाएको जानकारी प्रहरी कमिस्नार डा. सिंहले नागरिकलाई दिए। ‘विश्वविद्यालयमा कुनै अनुचित दबाब भए वा केही समस्या आए तुरुन्तै खबर गर्नुहोला। हामी समस्या समाधानका लागि तयार छौं। विदेशबाट आएका जो विद्यार्थी हुनुहुन्छ, ढुक्क भएर अध्ययन गर्नुहोला,’ कमिस्नार सिंहले विद्यार्थीहरूलाई आश्वस्त पार्दै बिहीबार भने, ‘कोहीकसैले आपराधिक गतिविधि गरे, गलत नजर लगाए वा ह्यारेमेन्ट गरे हामी तुरुन्तै कारबाही अघि बढाउँछौं।’
प्रहरीसँगको छलफलमा छात्राहरूले विश्वविद्यालयभित्र केटाहरूले ह्यारेसमेन्ट गर्ने, विश्वविद्यालयका कर्मचारीहरूले पनि केटा साथीसँग हिँडेको देखे अनावश्यक शंका गर्ने, एउटा केटा साथीसँग सँगै हिँडेको भेटे त्यसलाई लिएर अनर्गल प्रचार गर्ने र ह्यारेसमेन्ट गर्ने गरेको बताएका थिए।
बाटामा हिँड्दा, कलेजदेखि होस्टलसम्म जाँदा स्थानीय युवा तथा पुरुषले जिस्काउने, गलत नजरले हेर्ने र ह्यारेमेन्ट गर्ने गरेको पनि उनीहरूले बताएका थिए। यी विषयमा विश्वविद्यालय प्रशासनलाई बारम्बार जानकारी गराएको समेत उनीहरूले प्रहरीलाई जानकारी दिए।
प्रहरीले यस्ता विषयहरूमा विश्वविद्यालय प्रशासनलाई गम्भीर बन्न सचेत गराएको छ। साथै विश्वविद्यालय परिसरमा सुरक्षा प्रदान गर्न पनि तयार रहेको पनि प्रहरी जनाएको थियो। किट विश्वविद्यालयभित्रबाट बारम्बार नकारात्मक समाचार आउने गरेको, विद्यार्थीहरू डिप्रेसनको सिकार हुने गरेको, यो विषयमा प्रहरी प्रशासनलगायत विभिन्न सरकारी निकायले अनुसन्धान गरिरहेको जनाउँदै यसतर्फ ध्यान दिनसमेत सचेत गराइएको थियो।
नागरिक दैनिकले चार दिनयता निरन्तर प्रिसा साह र किट विश्वविद्यालयमा हुने गरेका विविध गतिविधिबारे स्थलगत रूपमा समाचार लेख्दै आएको छ। प्रिसा साहको वैशाख १८ गते बिहीबार शंकास्पद मृत्यु भएको थियो। त्यसपछि किट विश्वविद्यालयमा अध्ययन गर्ने विदेशी विद्यार्थीहरूमा एक प्रकारको त्रास उत्पन्न भएको थियो।
बिहीबारको छलफलमा किट विश्वविद्यालयबाट तीन वटा गाडीमा विदेशी छात्राहरूलाई लगिएको थियो। होस्टल वार्डेन, शिक्षक र कर्मचारीलाई पनि बोलाएर प्रहरी प्रशासनले सचेत गराएको थियो। प्रहरी कार्यालयमा किट विश्वविद्यालयमा कार्यरत होस्टल वार्डेनहरूले नेपाली विद्यार्थीलाई विशेष निगरानीमा राखेका थिए। उनीहरूले प्रहरी र सञ्चारकर्मीभन्दा टाढा राखेका थिए। प्रहरीसँग सभाहलमा मात्रै सामूहिक रूपमा आफ्ना नियन्त्रित कुरा राखेका थिए। हलभित्र नेपाली विद्याथीहरूले सीमित कुरा राखेका थिए।
विद्यार्थीहरूलाई सञ्चारकर्मीसँग बोल्न वार्डेनहरूले रोक लगाएका थिए। नेपाली विद्यार्थीहरू निकै आत्तिएको भावमा देखिएका थिए। ‘हामी अहिले बोल्ने अवस्थामा छैनौं,’ एक नेपाली विद्यार्थीले तर्कंदै भने। त्यहाँ होस्टल वार्डेन र सुपरभाइजरहरूले नेपाली विद्यार्थीहरूलाई निगरानी गरिरहेका थिए।
चार छात्रा अनुसन्धानमा तानिए
किट विश्वविद्यालयमा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको शंकास्पद मृत्युको अनुसन्धान भइरहेका बेला भारतीय चार विद्यार्थीका नाममा मौखिक उजुरी परेको छ। प्रहरीले उनीहरूमाथि अनुसन्धान सुरु गरेको छ। उडिसास्थित भुवनेश्वर प्रहरीमा प्रिसाका बुबा श्याम साहले मौखिक उजुरी दिएकै कारण उनीहरू अनुसन्धानमा तानिएका हुन्। यद्यपि भुवनेश्वर प्रहरीले यो विषयमा केही खुलाएको छैन। भुवनेश्वर प्रहरी कमिस्नार डा. सिंहले प्रिसाको परिवारबाट मौखिक जानकारी (बयान) लिएको मात्रै बताए। ‘हाम्रो अनुसन्धानमा केही कुुरा देखिएका छन्, अनुसन्धानमा भएको विषय प्रिसाको परिवारलाई मात्रै भन्न सकिन्छ,’ कमिस्नार सिंहले भने।
परिवारका सदस्यले विश्वविद्यालय प्रशासन र प्रहरी प्रशासनसमक्ष भारतीय चार विद्यार्थीले प्रिसालाई सधैं ह्यारेसमेन्ट गरिरहेको जानकारी गराएका थिए। कक्षाकोठा र छात्रावासमा सँगै रहेका भारतीय विद्यार्थीले ह्यारेसमेन्ट गरेको जानकारी गराइए पनि सो विषयमा विश्वविद्यालय प्रशासन मौन छ। ती विद्यार्थीहरू कोको थिए भन्ने विषयमा औपचारिक रूपमा केही खुलाइएको छैन। परिवारका सदस्यका अनुसार कक्षाकोठामा प्रिसासँग उनीहरूको झगडा भएको थियो।
‘खाना खाने बेलामा पनि झगडा भएको थियो। मुख्य झगडा पढाइको विषयमा थियो। साथीहरू उनलाई जिस्काइरहन्थे,’ प्रिसाको परिवारका एक सदस्यले भने।
प्रहरीले १० जना विद्यार्थीसँग सोधपुछ गरिरहेको छ। प्रिसाका ‘रुममेट’ दुई भारतीय विद्यार्थी बिदामा घर गएका कारण उनीहरूसँग सोधपुछ गर्न बाँकी छ। प्रहरीले उनीहरू फर्केपछि बयान लिने जनाएको छ। अहिलेसम्म ल्यापटप र मोबाइलको फरेन्सिक रिपोर्ट आएको छैन। भुवनेश्वर प्रहरीले दिएको जानकारीअनुसार पोस्टमार्टमा रिपोर्टमा कुनै संदिग्ध विवरण फेला परेको छैन। मोबाइल र ल्यापटपमा देखिएको विवरणका आधारमा अनुसन्धान गर्न सहज हुने प्रहरीले जनाएको छ।
किट विश्वविद्यालयमा अध्ययनरत रूपन्देहीकी प्रकृति लम्सालको मृत्युको तीन महिनापछि वैशाख १८ गते पर्साकी प्रिसा साह पनि होस्टेलमा मृत भेटिएकी थिइन्। किटमा भारतीयपछि धेरै नेपाली विद्यार्थीहरू अध्ययन गर्छन्। त्यहाँ अध्ययनरत एक विद्यार्थीका अनुसार किटमा नेपाल, भुटान, श्रीलंका, माल्दिभ्स, बंगलादेश, फ्रान्स, सोमालिया, सिरियालगायत देशका विद्यार्थी अध्ययनरत छन्।
अहिले विदेशी विद्यार्थीहरूलाई किट विश्वविद्यालय प्रशासनले काउन्सिलिङ सुरु गरेको छ। साथै भुवनेश्वर प्रहरीले उडिसामा अध्ययनरत विदेशी विद्यार्थीहरूलाई काउन्सिलिङ गरिरहेको छ।
*अनुसन्धान जारी रहेकाले आरोपी चार छात्राको नाम सार्वजनिक गरेका छैनौं - सम्पादक
प्रकाशित: २६ वैशाख २०८२ १०:१९ शुक्रबार