विपिन जोशीको चिन्ता सबैलाई छ। २०८० असोज २० गते बिहान इजरायलको दक्षिणी क्षेत्रमा हमासको आक्रमणमा बेपत्ता भएको विपिन अझै भेटिएका छैनन्। त्यस दु:खदायी आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो। तर विपिनको बेखबरले नेपालीसँगै इजरायली नागरिकलाई पनि उत्तिकै पिरोलेको छ।
‘म नेपाल घुम्न आउनुअघि मनमा ‘विपिन’ बोकेर आएको छु,’ भक्तपुरको टौमडीमा दही खाँदै गरेकी इजरायली पर्यटक नोआ लेभीले सगुनको बोली बोलिन्, ‘ऊ सुरक्षित रहेको विश्वास छ, उ हाम्रो भाइ हो, हाम्रो मनमा बसेको छ।’ नेपाली विद्यार्थीको मृत्यु र अपहरणले आफूहरूलाई निकै पिरोलेको बताउँदै उनले विपिनको खोजीको लागि आफू र साथीहरूले पहल गरिरहेको सुनाइन्।
‘ऊ इजरायली हैन, तर हाम्रो देशबाट हराएको हुनाले हामीलाई परिवारको सदस्यजस्तै प्यारो लाग्छ,’ उनले भनिन्, ‘त्यसैले अहिले नेपाल घुम्दा हाम्रो मनमा विपिन आइरहन्छ।’
उनीसँगै आएका अर्का इजरायली पर्यटक जिभ इसेन्सटोड नेपालबाट हराएका विपिन जोशीबारे निकै चासो राख्छन्। ‘इजरायलमा प्राय सबैले उनको नाम चिन्छन्,’ उनी भन्छन्, 'उनको सकुशल रिहाइको लागि धेरै कार्यक्रम पनि भएको छ।’ इजरायलमा आएका हराएका कारण उनीसँग रगतको नभए पनि भावनाको नाता बलियो भएको उनले बताए। ‘ऊ हराएको र उनको परिवारमा आघात परेको खबर हामीले हेर्यौं,’ उनले भने, ‘त्यसैले उसको देशमा आउँदा हामीले पहिलोपटक उसैलाई सम्झियौँ।’
भक्तपुर घुम्न आएका उनी यहाँका संस्कृति र सद्भावले निकै हर्षित भएको सुनाए। लाङटाङ क्षेत्रको भ्रमणमा निस्कने तयारी गर्दे गरेका उनले नेपालको सौन्दर्य बारेमा उतै बसेर जानकारी हासिल गरेको बताए। ‘हामीले विपिनको नेपाल खोज्दा यहाँको सौन्दर्य र संस्कृतको बारेमा पनि जानकारी पायौँ,’ उनी भन्छन्, ‘त्यसैले हामी जता जाँदा पनि उनलाई सम्झन्छौँ।’ उनको परिवारलाई भेट्न नसके पनि उनी चाँडै रिहा हुन्छन् भन्ने विश्व दिलाउन चाहेको उनले बताए।
कञ्चनपुरका विपिन जोशी सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञानका विद्यार्थी हुन्। कृषि अध्ययनका लागि इजरायल पुगेका थिए। इजरायल सरकारको ‘अर्न एन्ड लर्न’ कार्यक्रम अन्तर्गत २६५ नेपाली विद्यार्थी इजरायल गएका थिए। उनीहरूमध्ये कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थी गएका हुन्।
कृषि फर्ममा कार्यरत १७ नेपाली विद्यार्थीमध्ये १० जना हमासको आक्रमणमा परेर मृत्यु भएको थियो। अरू चार जना घाइते भएका थिए भने जोशी सम्पर्कविहीन भएका थिए। अन्य दुई जना भने सकुशल थिए। जोशीसँग एउटै फर्ममा कार्यरत रहेका र उद्धार गरेर नेपाल फर्काइएका विद्यार्थीहरूले उनले हमासले प्रहार गरेको ग्रिनेड फालेर आफूहरूलाई बचाएको बताएका थिए।
उनको खोजी गरिदिन र रिहाइका लागि सरकारले पटकपटक आग्रह गरे पनि जोशीको अवस्थाबारे कुनै जानकारी हासिल भएको छैन।
जोशीको बारेमा पत्ता लगाइदिन र रिहाइका लागि उनका परिवारले प्रधानमन्त्री, विभिन्न दलका नेता, इजरायलका रादूतलगायतलाई पनि भेटेर आग्रह गरेका थिए। तर, हालसम्म पनि जोशीको अवस्थाबारे कुनै उपलब्धि हासिल हुन सकेको छैन। विभिन्न पटक दुई पक्षबीच भएको बन्दी साटासाटमा पनि विपिनको रिहाइ नभएपछि परिवार थप चिन्तामा रहेको छ।
‘हामीलाई नेपाल र उनको परिवारको चिन्ताबारे राम्रो थाहा छ,’ नोहा थप्छिन्, ‘विपिन हराएको देशबाट आएका हामी विपिन भेटिएको हेर्ने रहर लिएर फर्कने छौँ।’
प्रकाशित: २६ वैशाख २०८२ ०७:२५ शुक्रबार