पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बाँकेको कुसुमस्थित सौरी गाउँमा बसको ठक्करबाट एक युवकको ज्यान गएपछि स्थानीय बासिन्दाले क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध गरेका छन्। आन्दोलनका कारण सयौं सवारी साधन बीच बाटोमै रोकिएका छन्।
बुधबार पश्चिमबाट पूर्वतर्फ गइरहेको भे ९ प ६४२८ नम्बरको मोटरसाइकलमा सवार राप्ती सोनारी–९ ढकेरी बाँकेका अन्दाजी ३३ वर्षीय सुदीप सुवेदीको मृत्यु भएको हो।
उनलाई सोही दिशातर्फ जाँदै गरेको वा १–०६ ख ३५९३ नम्बरको यात्रुबाहक बसले कुसुमस्थित सौरीमा ठक्कर दिएको थियो। दुर्घटनामा ढकेरीकै अन्दाजी ३५ वर्षीय हिरा सिंह ओली घाइते भएका छन्।
मृतकका परिवारले उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै बिहीबार दिउँसो स्थानीयले कोहलपुरमा प्रदर्शन गरे। प्रहरीले आन्दोलनमा हस्तक्षेप गरेपछि प्रदर्शनकारीहरू घटनास्थल सौरी पुगेर अपरान्हबाट पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन्।
कोहलपुरमा अवरुद्ध गरिएको सडक प्रहरी बल प्रयोग गरी अपरान्ह ५:३५ बजे खुलाएको थियो। तर त्यसपछि आन्दोलनकारीहरूले घटनास्थलमै पुगेर साँझ सवा ५ बजेदेखि सडक पुनः बन्द गरेका छन्।
इलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार स्थानीयले मुढा तेर्साएर बाटो अवरुद्ध गरेका छन् र सडक खुलाउन थप प्रहरी परिचालन गरिएको छ।
राजमार्ग अवरुद्ध भएपछि तीव्र गाडी चाप हुने सडकमा सयौं सवारी साधन बीच बाटोमै रोकिएका छन्। इलाका प्रहरी कार्यालय कोहलपुरकी प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) लक्ष्मी खनालले सडक खुलाउने प्रयास जारी रहेको जानकारी दिइन्।
राप्ती सोनारी गाउँपालिका–९ का वडाध्यक्ष सोहनलाल चौधरीका अनुसार मृतकका परिवारलाई क्षतिपूर्ति दिने विषयमा बस सञ्चालक समिति र स्थानीय प्रशासनबीच कुनै ठोस सहमति नभएकोले आन्दोलन चर्किएको हो।
‘मृतकका परिवारलाई बीमाबाट प्राप्त हुने पाँच लाखबाहेक नाबालकको शिक्षादीक्षा र लालनपालनका लागि थप राहत माग गरिएको छ,’ वडाध्यक्ष चौधरीले भने। उनका अनुसार बिहीबारसम्म सम्बन्धित पक्षहरूबीच छलफल सुरु नै नभएको अवस्था छ।
प्रकाशित: २५ वैशाख २०८२ २१:२० बिहीबार





