टीकापुरमा आयोजना हुने भूमि अधिकार तथा श्रमिक संगठन नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ। संगठनले सोमबार टीकापुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा तयारी पूरा भएको जानकारी दिएको छ।
नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा संगठन अध्यक्ष शान्ता चौधरीले महाधिवेशनको एक समारोहबिच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने जानकारी दिइन्। उनले सरकारले १० वर्षदेखि लगातार एकै ठाउँमा बस्दै आएका व्यक्तिलाई सोही जग्गा उपलब्ध गराउने गरी सुकुम्बासी र अव्यवस्थित बसोवासीका समस्या समाधानका लागि ऐन ल्याउन लागिएको जानकारी दिइन्।
उनले टीकापुर बहुमुखी क्याम्पसको जग्गा कब्जा गरेर बसेकाहरूलाई सोही जग्गा दिनुपर्ने बताइन्। सुदूरपश्चिम विश्वविद्यालयको डिन क्याम्पससमेत रहेको क्याम्पसको तीन सय बिघा जमिन विगत दुई दशकदेखि कब्जामा रहेको छ।
उनले मान्छेको बसोवासको ठेगान नभएको बेला संस्थाका नाममा यति धेरै जमिन राख्न नहुने तर्क गरिन्। यसरी जमिन वितरण गर्दा भूमिहीन र सुकुम्बासीको वास्तविक पहिचानको खोजी हुन जरुरी रहेको बताइन्। उनले वास्तविक भूमिहीन र सुकुम्बासी मात्रै जग्गाको हकदार भएको बताइन्।
उनले महाधिवेशनमा ६४ जिल्लाका ६ सय बढी प्रतिनिधि सहभागी हुने बताइन्। उनले प्रतिनिधिहरू टीकापुर पुग्न सुरु भइसकेको जानकारी दिइन्। उनले स्थानीयको सहयोगमा प्रतिनिधिहरूको आवास र भोजनको व्यवस्थापन भइरहेको बताइन्। ‘समृद्ध नेपाल सुखी नेपालीका लागि वैज्ञानिक भूमिसुधार: गैरसंगठित श्रमिक तथा भूस्वामित्वबाट वञ्चितका लागि भूमि अधिकार’ भन्ने नाराका साथ सुरु हुने महाधिवेशन वैशाख २३ र २४ सम्म चल्ने छ।
प्रकाशित: २३ वैशाख २०८२ ११:३४ मंगलबार





