९ पुस २०८२ बुधबार
image/svg+xml
राजनीति

१० अर्ब दिएर ४० अर्बको बक्यौता कसरी तिर्ने?

सरकारप्रति स्वास्थ्यमन्त्री पौडेलको गुनासो

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले बक्यौता रकम तिर्न पनि नपुग्ने गरी स्वास्थ्य बिमा बजेट विनियोजन भएको बताएका छन्। चितवनको भरतपुर अस्पतालमा सोमबार भरतपुरमा क्याथ ल्याबको उद्घाटन गर्दै मन्त्री पौडेलले स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्न नपुग्ने गरी बजेट विनियोजन भएको बताएका हुन्।

बिमा कार्यक्रम सञ्चालन गर्न ४० अर्ब लाग्ने भए पनि सरकारले बक्यौता तिर्ने रकमसमेत बजेटमा समावेश नगरेको स्पष्ट पारे। ‘सरकारले स्वास्थ्य बिमा कार्यक्रमका लागि १० अर्बको सिलिङ दिएको छ। १० अर्ब दिएर ४० अर्बको बक्यौता कसरी तिर्ने ?’ सरकारलाई प्रश्न गर्दै मन्त्री पौडेलले भने, ‘अहिलेकै अवस्थामा बिमा कार्यक्रम चलाउने हो भने ४० अर्ब रूपैयाँ विनियोजन गर्नुपर्छ।’

उनले बिमा कार्यक्रम सञ्चालन गर्न अझै ३० अर्ब रूपैयाँको स्रोत खोज्नुपर्ने बताए। सरकारी अस्पतालले बिमा कार्यक्रम रोक्न नमिल्ने बताउँदै यसलाई व्यवस्थित गर्नुपर्ने धारणासमेत उनले राखे।

‘अहिलेको बक्यौताको फरफारक गर्ने विषयमा त हामी कमिटमेन्ट छौं र गर्छौं तर सधैं यसरी चल्दैन’, उनले कारण देखाउँदै भने, ‘आवश्यकता नपर्ने व्यक्तिले होल्ड बडी चेक अप गरिदिने, नचाहिएको औषधी बिमाका नाममा दिने जस्ता कारण बिमा कार्यक्रम सञ्चालन गर्न कठिन भइरहेको छ।’

बिमा सञ्चालनका लागि नियमित आम्दानी नभएकाहरूको स्रोतको सुनिश्चितता गर्नुपर्ने बताए। उनले राज्यले नागरिकको स्वास्थ्योपचारलाई निर्वाह गर्न आम्दानी गर्ने सबै पक्षबाट थोरै रकम बिमा कोषमा जाने व्यवस्था गर्नुपर्ने बताए। ‘राज्यकोषले जति आम्दानी गर्छ। त्यो आम्दानीको ०.०५ प्रतिशत बिमा कोषमा जाने व्यवस्था हुनुपर्छ’, उनले भने, ‘पेट्रोलियम पदार्थ, मालपोत, सिमकार्ड, कर भ्याटलगायतका क्षेत्रबाट स्वास्थ्य बिमामा आउने वातावरण बनाउन राज्य लाग्नुपर्छ।’

उनले योगदान गर्न सक्ने कोषहरूलाई एक ठाउँमा ल्याउनुपर्ने धारणासमेत राखे। ‘उपचार गर्नुपर्ने बिरामी बिमा बोर्डमा जानुहुन्छ। उपचार गर्नुनपर्नेले सामाजिक सुरक्षा कोषमा योगदान गर्नुभएको छ’, उनले भने, ‘बिमा बोर्डमा उपचार गर्ने मानिस मात्र भएपछि योगदान गर्ने को हुन्छ त? यो बिमा प्रणालीअनुसार त भएन नि।’

२० जनाको बिमा गरेर दुईजनाको उपचार गर्नुपर्ने अवस्थामा सबै बिरामी भएपछि समस्या भएको समेत दाबी गरे। उनले सामाजिक सुरक्षा कोष, सञ्चय कोष, नागरिक लगानी कोष, परिवार कल्याण कोषका केही रकम बिमा बोर्डमा ल्याउनुपर्ने धारणासमेत राखे। मासिक तलब खानेले पनि थोरै रकम बिमा कोषमा योगदान दिनुपर्ने बताउँदै सबैलाई एउटै शुल्क निर्धारण गर्न नहुने उनले बताए।

‘तिर्न सक्नेलाई वर्षको १५ हजार शुल्क दिनुहोस् भनेर अनुरोध गरौं। त्यस्ता मानिस नेपालमा पाँच लाखभन्दा बढी हुनुहुन्छ। उहाँहरूलाई महिनामा १५ सय तिर्न धेरै कठिन छैन’, उनले भने, ‘त्यसलाई प्रगतिशील प्रिमियम भनेर बिमासँग जोड्ने प्रयास गरौं। दुईवटै प्रिमियम तिर्न नसक्नेको राज्यले तिरिदिनुपर्ने व्यवस्था गरौं।’

उनले नेपालमा ६६ लाख परिवारलाई बिमामा जोड्नुपर्ने धारणा राखे। भरतपुर अस्पतालले समेत असारदेखिको ५० करोड रूपैयाँ अझै पाउन सकेको छैन। मन्त्री पौडेलले भरतपुर अस्पताललाई सबै खालका उपचार उपलब्ध गराउन सक्ने क्षमताको अस्पतालका रूपमा विकास गराउन सरकार लागेको बताए। उनले यहाँबाट एमबिबिएस कक्षासमेत सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।

यसैबिच संघीय अस्पताल भरतपुर अस्पतालले क्याथल्याबलगायतका थप नयाँ सेवा विस्तार गरेको छ। अस्पतालले क्याथ ल्याबलगायतका नयाँ नौवटा सेवा विस्तार गरेको हो। अस्पतालले मुटु तथा शरीरका अन्य स्थानमा रक्तनली बन्द हुने समस्यामा दुरबिनका माध्यमबाट शल्यक्रिया गराउने गरी क्याथ ल्याब सेवा सुरु गरेको हो भने यससँगै आईसियुसहितको जलन वार्ड, फटिलिटी क्लिनिक, स्तनपान प्रवद्र्धन कार्यक्रम, चाइल्ड प्ले थेरापी, योग ध्यान केन्द्रलगायतका सेवा सञ्चालनमा  ल्याएको हो।

अब भरतपुरमै  मुटु र जलन उपचार

चितवनको भरतपुर अस्पतालमा मुटु र जलन उपचार सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सोमबार अस्पतालको क्याथ ल्याब र जलन वार्डको उद्घाटन गरेसँगै यस अस्पतालमा यी दुई सेवा औपचारिक रूपमा सुरु भएको हो। मन्त्री पौडेलले स्वास्थ्यमन्त्रीको कार्यभार सम्हाल्नेबित्तिकै प्रदेश अस्पतालहरूमा यी दुवै सेवा विस्तार गर्ने घोषणा गरेका थिए। सोही घोषणाबमोजिम सेवा सुरु भएको मन्त्रालयले जनाएको छ।

यी दुवै सेवा उद्घाटन क्रममा मन्त्री पौडेलले प्रदेशस्तरमै नागरिकले सेवा पाऊन् भनेर विशिष्टीकृत उपचार सेवा विस्तार गरिएको बताए। ‘यो अस्पतालमा विशिष्टीकृत उपचार सेवा सुरु भएसँगै सबै प्रदेशमा विस्तार गर्ने योजना अघि बढेको छ’, उनले भने। विपन्न नागरिकको पहुँचमा जलन उपचार सेवा दिने लक्ष्यका साथ सातै प्रदेशमा जलन उपचार सेवा विस्तार गर्ने लक्ष्य अघि बढेको पौडेलको भनाइ छ।

 उनले भने, ‘मुख्यतः विपन्न नागरिकको सहज पहुँचका लागि जलन उपचार सेवा विस्तार गर्ने लक्ष्य राखेका छौं। सुर्खेतमा आइतबार र भरतपुरमा सोमबारदेखि उपचार सेवा सुरु भइसकेको छ।’

यससँगै संघ सरकारअन्तर्गतको भरतपुर अस्पतालमा सन्तानविहीनका लागि इनफर्टिलिटी क्लिनिकसहितका आठ सेवा सुरु भएको छ। वैशाखमा सेवा थाल्नुपर्ने तालिकाअनुसार अस्पतालमा सेवा सुरुवात भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए।

प्रकाशित: २३ वैशाख २०८२ १०:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App