राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गत महिना गरेको राजावादी आन्दोलनका बेला सर्वसाधारणदेखि हुनेखानेसम्मले भाटभटेनी सुपरस्टोरमा लूट मच्चाए। त्यसबाट करीब ७० लाखभन्दा बढीका सामग्री चोरिएको बताइन्छ। यस्तो अवसर छोप्ने काम संसारभर नै हुन्छ।
अंग्रेजीमा शपलिफ्टिङ शब्द छ, जसले पसलमा लुकिछिपी गरिने चोरीको अपराधबारे जनाउँछ। यस्तो चोरी संसारभर हुन्छ र हरेक वर्ष करीब १०० अर्ब डलरभन्दा बढीको चोरी हुने गरेको छ। त्यसैले यसलाई अचेल ‘खर्ब समस्या’समेत भन्न थालिएको छ। अमेरिकामा मात्र खुद्रा व्यापारीहरूले वार्षिक रूपमा ४० अर्ब डलर बराबरको नोक्सानी बेहोर्ने गरेका छन्।
यसैगरी बेलायतमा त २०२३/२४ मा मात्र नेपाली ३.८ खर्ब बराबरको चोरी हुने गर्छ। दैनिक ५५ हजारभन्दा बढी चोरीका घटना दर्ता हने गरेका छन्। यस हिसाबले वर्षमा दुई करोड चोरीका घटना दर्ता हुने गरेका छन्। रोचक त, खुद्रा चोरीको ४० प्रतिशत भने कर्मचारीहरूले चोर्ने गरेको पाइन्छ।
आखिर मान्छेले किन चोर्छ? जुन दिन भाटभटेनीमा चोरी भयो, के त्यो आवश्यकताका कारणले भएको थियो? पक्कै पनि थिएन। यस्ता चोरीका विविध कारण हुने गरेका मनोविज्ञहरू बताउँछन्। पहिलो किसिमका मान्छे आपराधिक मानसिकताका कारण चोर्ने गर्छन्। प्रायः यस्ता चोरहरूमा जुवा र अन्य किसिमका कुलत हुने गर्छ।
दोस्रो किसिमको चोरी अति विश्वासबाट हुने गर्छ। प्रायः घरेलु नोकर तथा कर्मचारीले मालिकलाई विश्वासमा लिने र त्यसको फाइदा उठाउने दोस्रो वर्गमा पर्छन्।
माथिका दुई चोरीमा चोरीको निरन्तरता रहन्छ। तेस्रो किसिमको चोरी भने कारण दिएर गरिने चोरी हो। एक पटक मात्र चोर्ने, पक्राउ परे त्यसको भर्पाई गर्ने, यत्ति कम चोर्दा कसैले पनि थाहा पाउँदैनन् भन्ने मानसिकताले कहिलेकाहीँ चार्ने मानसिकता हुने गर्छ।
हालै गरिएको अध्ययनअनुसार, यस्ता विविध किसिमको चोरीमा पक्राउ परेका व्यक्ति तथा अपराधीहरूको व्यवहारबारे अनुसन्धान गर्दा के पाइएको थियो भने ज्यादै सामाजिक, अरूसँग धेरै मिल्ने र मिजासिलो व्यवहार भएका मानिसहरूले चोर्ने अपराध गर्ने सम्भावना बढी हुन्छ। ठगीमा समातिएकाहरूमध्ये १२ प्रतिशत महिला थिए।
मानसिकरूपमा स्थिर भाव देखाउनेहरूले बढी ठग्ने गरेको पनि अध्ययनले देखाएको छ। चोरी वा ठगीमा संलग्नहरूमध्ये सबैजसोमा एउटा साझा व्यवहार देखिएको थियो र त्यो हो– तिनीहरू झूट बोल्न माहिर हुन्छन्। तिनले यति कुरा बनाएर लुटपुटाउँछन् कि मान्छे उनीहरूको कुरा मान्न बाध्य हुने अध्ययनले देखाएको मनोविज्ञानका ज्ञाता मार्क विल्सन बताउँछन्।
प्रस्तुतिः अच्युत कोइराला
प्रकाशित: २३ वैशाख २०८२ १०:०९ मंगलबार





