पोखरा हर्न निषेधित क्षेत्र अर्थात् ‘नो हर्न जोन’ हो। जहाँ सवारी साधनले हर्न बजाउन प्रतिबन्ध छ। त्यति मात्र होइन, पोखरामा ठूलो साउण्डमा माइकिङ गर्नसमेत महानगरले निषेध गरेको छ।
पोखरा महानगरपालिकाले २०७४ साल साउन १ गतेदेखि पोखरालाई नो हर्न जोन घोषणा गरेको थियो। हर्नका कारण ध्वनि प्रदूषण हुने र त्यसले मानव स्वास्थ्यमा नकारात्मक असर गर्ने भन्दै महानगरले हर्न निषेधित क्षेत्र घोषणा गरेको थियो।
हर्न निषेधित क्षेत्र घोषणा भएको एक महिनासम्म पोखरामा सचेतना कार्यक्रम गरिएको थियो भने भदौ महिनादेखि जरिवाना तोकिएको थियो।
तर यही हर्न निषेधित क्षेत्र पोखरामा अहिले हर्न आतंक छ। अझ भनौँ ‘नो हर्न जोन’ पोखरामा हर्न आतङ्कले पोखरेली आतङ्कित छन्। जहाँ बिहानैदेखि सवारी साधनको हर्नदेखि महानगरको फोहोर मैलाको गाडीमा बज्ने माइकिङले पोखरा ध्वनि प्रदूषणको चपेटामा छ।
हर्न पनि आवश्यकताले बज्दैन, कसैले आफ्नो हतारले बजाउँछ त कसैले अरूलाई उछिन्न, अनि कसैलेचाहिं महिला जिस्काउन। यतिसम्म कि अगाडि ट्राफिक जाम हुँदा पनि पछाडिको सवारी साधनले हर्न बजाएर हैरान बनाउँछन्।
उसो त अगाडिको गाडीलाई ओभरटेक गर्नका लागि होस् वा बिना कारण हर्न बजाउँदै हुईंकिने पनि उत्तिकै हुन्छन्। त्यसमाथि प्लस टु सकेका युवाहरूले बुलेटदेखि पल्सरसम्मका बाइक मोडिफाई गरेर चर्को आवाजमा हर्न बजाउनेको जमातपनि कम छैन।
पोखरा चिप्लेढुंगा कार्यालयमा कार्यरत मुक्तिनाथ विकास बैङ्कका कर्मचारी राजु गिरी ध्वनि प्रदूषणले दिग्दार बनाएको बताउँछन्। बस स्ट्याण्ड नजिकै पर्ने उनको अफिसमा बस र माइक्रोको हर्नले आतङ्कित पारेको सुनाउँदै उनले भने, ‘नो हर्न जोन त भन्नका लागि मात्रैको भएको छ। बिहानदेखि बेलुकासम्मै बज्ने हर्नले यहाँ बसिनसक्नु बनाउँछ।’
नागरिक समाजका अगुवा तथा अभियन्ता रामबहादुर पौडेल नो हर्न जोन घोषणा भएर कार्यान्वयन भएको ७ वर्ष बित्दा पनि हर्न आतंक फैलिनु दुःखद भएको बताउँछन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘मुख्य सहरी क्षेत्रमा माइकिङ गर्न, प्रेसर हर्न बजाउन तथा ध्वनि प्रदूषण गर्न सख्त मनाही छ। तर पछिल्लो समय उलङ्घनका घटना पनि बढेका छन्।’
उनले पोखरा महानगरपालिका मेयर धनराज आचार्यलाई भेटेर केही समय अगाडि ध्यानाकर्षणसमेत गराइएको सुनाए।
त्यस लगत्तै पोखरा महानगरपालिकाले ध्वनि प्रदूषण नगर्न भन्दै सार्वजनिक सूचना निकालेको थियो। सूचनामा भनिएको छ, ‘अत्यावश्यक र जरुरी सार्वजनिक महत्वको विषयमा बाहेक नगरवासीहरूको जनजीवनमा प्रभाव पर्ने गरी चर्को स्वरमा ध्वनि प्रदूषण हुने खालका कुनैपनि प्रकारका गतिविधि नगर्न/नगराउन महानगरपालिका अनुरोध गर्दछ।’
महानगरपालिकाको अनुरोधको बाबजुद ध्वनि प्रदूषण जारी छ। तर नियन्त्रणका लागि खास कदम चालिएको भने देखिँदैन। ट्राफिक प्रहरीले यदाकदा बुलेट बाइक मोडिफाई गर्नेलाई कारबाही गर्ने बाहेक प्रेसर हर्न बजाउनेलाई कारबाहीको दायरामा ल्याउन कुनै कदम चालेको छैन। जस कारण नो हर्न जोनको उलङ्घनकर्ता ह्वात्तै बढेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख शोभा पाण्डेले पछिल्लो क्रममा प्रेसर हर्न बजाएर समस्या परेको भन्दै नागरिक समाजबाट गुनासो आएको स्विकारिन्। सो गुनासोपछि आफूहरूले ट्राफिक चेकिङलाई कडाइ गरेको उल्लेख गर्दै उनले भनिन्, ‘पछिल्लो दुई दिनमा बस र राती चल्ने ट्रक गरेर करिब एक सय वटा सवारी साधनको प्रेसर हर्न निकालिसकेका छौं। यसलाई हामी निरन्तरता दिन्छौँ।’
उनले लेन अनुशासन उलङ्घन गर्दाको परिणाम प्रेसर हर्न बजाउनेको संख्या बढेको बताइन्। भनिन्, ‘सामान्यतया लेन अनुशासन मान्ने हो भने प्रेसर हर्न बजाउनै पर्दैन। तर हामी आफै पनि सचेत नहुँदा उलङ्घनका घटना बढेका छन्।
प्रकाशित: २२ वैशाख २०८२ १९:१९ सोमबार





-600x400.jpg)