१३ माघ २०८२ मंगलबार
image/svg+xml
समाज

यो वर्ष पनि वर्षाको जोखिम

मौसमविद्ले यस वर्षको वर्षायाममा दक्षिण एसियाली क्षेत्रमा औसतभन्दा बढी पानी पर्ने अनुमान गरेका छन्। 

गत साता भारतको पुणेमा सम्पन्न हावापानी अनुमानसम्बन्धी दक्षिण एसियाली राष्ट्रहरूका मौसमविद्को बैठकमा यसपालिको वर्षायाममा औसतभन्दा बढी वर्षा हुने अनुमान गरिएको जल तथा मौमस विज्ञान विभागका मौसमविद् सञ्जीव अधिकारीले जानकारी गराए। ‘यो दक्षिण एसियाली क्षेत्रमा गरिएको समग्र अनुमान हो,’ उनले भने, ‘नेपालको सन्दर्भमा भने अझै नजिकबाट अध्ययन गरिरहेका छौं। केही दिनभित्रै यसको निष्कर्ष निकाल्छौं।’

पुणे बैठकमा नेपालका तर्फबाट विभागमातहतको हावापानी विश्लेषणा शाखाबाट प्रतिनिधिहरू सहभागी भएका थिए। मौसमविद्हरूले ३० वर्षलाई आधार मानेर औसत वर्षा निकाल्ने गरेका छन्। पोहोर पनि नेपालमा औसतभन्दा बढी नै वर्षा भएको थियो। सामान्यतया वर्षाको करिब ८० प्रतिशत वर्षायाममै हुने गरेको छ। नेपालमा सामान्यतया मनसुन जुन १३ बाट सुरु हुन्छ। गत वर्ष भने नेपालमा जुन १४ बाट मनसुन भित्रिएिको थियो।

मौसमविद्हरूका अनुसार नेपालमा धेरैजसो मनसुन बंगालको खाडीबाट भित्रिने गरेको छ। गत वर्ष वर्षायाममा भएको वर्षाले रेकर्ड नै तोडेको थियो। विभागका अनुसार पोहोर अर्थात् सन् २०२४ जुलाई ८ मा दोधारा चाँदनीमा २४ घण्टाको अवधिमा यति धेरै वर्षा भयो कि यस्तो वर्षा इतिहासमा कहिल्यै भएको थिएन। त्यहाँ २४ घण्टामा ६ सय २४ मिलिमिटर वर्षा भएको थियो। यसअघि सबैभन्दा बढी वर्षा २०१७ अगस्ट १३ मा हेटौंडामा भएको थियो। 

त्यस दिन हेटौंडामा २४ घण्टामा पाँच सय १६ दशमलव २ मिलिमिटर वर्षा भएको थियो। दोधारा चाँदनीमा भएको वर्षाको विषयमा अध्ययन गर्न मौसमविद्को एउटा टोली त्यहाँ पुगेको थियो। टोलीले दोधारा चाँदनीमा भएको वर्षाबारे विभागलाई प्रतिवेदन पनि बुझायो। दोधारा चाँदनीमा भएको वर्षालाई मौसमविद्ले ‘आरीघोप्टे’ भनेका छन्। एक घण्टामा सय मिलिमिटर या त्योभन्दा बढी वर्षा भए मौसमविद्ले त्यसलाई आरीघोप्टे भन्ने गरेका छन्। गत वर्ष दोधारा चाँदनीलाई मात्र नभई अरू दुईवटा स्टेसनले पनि वर्षाको रेकर्ड तोडेका छन्। कञ्चपुरका हनुमान नगर र सुन्दरपुर स्टेसनले पनि उक्त वर्ष सबैभन्दा बढी वर्षा भएको मापन गरेका थिए। 

जल तथा मौसम विज्ञान विभागका अनुसार सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। सोमबार देशका हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको विभागको भनाइ छ।

यसैगरी सोमबार राति देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम सामान्यता आंशिक बदली रहनेछ। सोमबार राति देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ। विभागका अनुसार सोमबार राति कोसी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा तथा बाँकी हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ।

प्रकाशित: २२ वैशाख २०८२ ०६:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App