कोहलपुर नगरपालिका क्षेत्रभित्र रहेका भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई जग्गाधनी प्रमाणपत्र वितरण गर्न सुरु गरिएको छ। पहिलो चरणमा कोहलपुर नगरपालिका-१ का ९१ भूमिहीन दलित र भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गरिएको हो।
नेपाल सरकार भूमि, सहकारी तथा गरिबी निवारण मन्त्री बलाराम अधिकारीले शनिबार एक कार्यक्रमका बीच लालपुर्जा हस्तान्तरण गरेका हुन्। सो क्रममा मन्त्री अधिकारीले भूमिहीन सुकुम्वासी र भूमिहीन दलितलाई जग्गा प्राप्तिमा कुनै शुल्क नलाग्ने बताए।
स्थानीय तहलाई जग्गाको वर्गीकरणका लागि अधिकार दिइएको उल्लेख गर्दै उनले स्थानीय तहलाई असार मसान्त सम्ममा वर्गीकरणको सबै काम पूरा गर्न आग्रह पनि गरे। मन्त्री अधिकारीले भने, ‘सबै पालिकाले जग्गाको वर्गीकरण असार मसान्तसम्म गरेर पठाउनुभएन भने जग्गाको किनबेच र कित्ताकाट बन्द हुन्छ।’
भूमि समस्या समाधान आयोगका केन्द्रीय अध्यक्ष हरि रिजालले भूमिहीन, सुकुम्वासीलाई लालपुर्जा उपलब्ध गराउन सरकार क्रियाशील रहेको बताए। कोहलपुर नगरपालिकाका मेयर पूर्णप्रसाद आचार्यले सबैको सहयोगले कोहलपुरमा लालपुर्जा वितरण गर्न सम्भव भएको सुनाए।
भूमि समस्या समाधान आयोग बाँकेका अध्यक्ष घननाथ खनालले जिल्लाका अन्य स्थानीय तहमा पनि क्रमिक रुपले लालपुर्जा वितरणको काम अगाडी बढाइने बताए। लालपुर्जा वितरण गर्नेमा कोहलपुर नगरपालिका लुम्बिनी प्रदेशकै पहिलो स्थानीय तह भएको आयोगले जनाएको छ।
प्रकाशित: २० वैशाख २०८२ २०:१६ शनिबार





