भारतका चर्चित कवि पीयूष मिश्रा भन्छन्, ‘कहिलेकाहीं लाग्छ, जेब्राक्रसिङमा जेब्रा नै उभिए पनि गाडीवालाले त्यसलाई ढालेर हिँड्छन्।’
जेब्राक्रसिङको दुर्घटनालाई लिएर मिश्रले व्यंग्य गरेजस्तै उदयपुरमा बिहीबार बिहान जेब्राक्रसिङबाट बाटो काट्दै गरेकी वृद्धा अटो टेम्पुले ठक्कर दिएपछि सडकमै लडेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ। ७६ वर्षीया फूलमाया विकलाई तीव्र गतिको अटोले जेब्राक्रसिङमै ठक्कर दिएको दृश्यले धेरैको मन दुखेको छ।
विकको टाउकोमा चोट लागेको तर अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। फूलमायाको अवस्था सामान्य भए पनि त्यो दुर्घटना निकै असामान्य रहेको सडक इन्जिनियर आशिष गजुरेल बताउँछन्। ‘पैदलयात्रुको सुरक्षाका लागि बनाइएको ठाउँ नै यति धेरै असुरक्षित हुनु दुर्भाग्य हो,’ गजुरेल भन्छन्, ‘यसले यातायात प्रणालीमाथि नै गम्भीर प्रश्न उठाएको छ।’
गजुरेलले भनेजस्तै पछिल्लो समयमा जेब्राक्रसिङमै दुर्घटना भएका समाचार आउन थालेका छन्। जेब्राक्रसिङमा भएका दुर्घटना र मृत्युको यकिन विवरण नभए पनि यस्ता खाले घटना हुनु दुर्भाग्य भएको धेरैको बुझाइ छ।
ट्राफिक प्रहरीले पनि गाडी चल्ने सडकमा जेब्राक्रसिङको महत्त्व सम्झाउँदै मार्गनिर्देशन बनाएको छ। मार्गनिर्देशनमा सधैं जेब्राक्रसिङबाट मात्र बाटो काटौं, हरियो बत्ती बलेपछि मात्र बाटो काटौं, रातो बत्ती बलेको बेलामा बाटो नकाटौं, नजिकै आएको सवारीसाधन पार गरेपछि मात्र बाटो काटौं, मोडहरूमा बाटो नकाटौंलगायत सन्देश राखिएका छन् । तर जेब्राक्रसिङमा हुने दुर्घटना भने टरेको छैन।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरी जेब्राक्रसिङमा हुने/भएका दुर्घटनालाई जघन्य कसुरका रूपमा व्याख्या गरिए पनि चेतनाको अभावमा यस्ता घटना अझै नघटेको स्विकार्छन्। कतिपय भने नेपालका सडकमा उपयुक्त ठाउँमा पर्याप्त जेब्राक्रसिङ नभएको टिप्पणी गर्छन्। पैदलयात्रुको धेरै चाप हुने ठाउँमा पाँच सय मिटरको अन्तरमा र यात्रुको चाप कम हुने ठाउँमा एक किलोमिटरको अन्तरमा जेब्राक्रसिङ हुनुपर्नेमा त्यस्तो नभएको विज्ञहरू बताउँछन्।
‘जेब्राक्रसिङका नाममा पेन्टिङ मात्रै गरिएको छ,’ सडक इन्जिनियर गजुरेल भन्छन्, ‘भएका जेब्राक्रसिङ पनि उपयुक्त ठाउँमा छैनन्।’ त्यस्तै ट्राफिक बत्ती, हम्स र जेब्राक्रसिङ आउनुअघि बनाइने गतिरोधक संरचनाहरूको पनि अभाव रहेको उनी बताउँछन्। जसका कारण पैदलयात्रुलाई सुरक्षित रूपमा बाटो काट्न सहज होस् भनेर बनाइएका जेब्राक्रसिङमै दुर्घटना हुने गरेको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उपत्यका क्षेत्रमा मात्र पछिल्लो तीन वर्षमा जेब्राक्रसिङमा भएका ७२ वटा सवारी दुर्घटनामा चारजनाको मृत्यु, ११ जना गम्भीर घाइते र एक सय आठजना सामान्य घाइते भएको तथ्यांक छ। त्यस्तै पछिल्लो तीन वर्षमा उपत्यकामा भएका करिब २४ हजार सडक दुर्घटनामा पाँच सय ३० जनाको मृत्यु, ६ सय ५५ जना गम्भीर घाइते र २२ हजारजना भन्दा बढी सामान्य घाइते भएको तथ्यांक प्रहरीसँग छ।
पैदलयात्रुले जेब्राक्रसिङबाट बाटो काटिरहेका बेला सवारीचालकले गाडी रोक्नुपर्ने बाध्यकारी व्यवस्था सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १३२ को खण्ड (घ) मा छ। तर चेतनाको अभाव तथा कानुन प्रभावकारी ढगले लागु नहुँदा जेब्राक्रसिङमै दुर्घटना हुने गरेका छन्। ‘कानुनमा जे भए पनि हामीले जेब्राक्रसिङबाट बाटो काट्दा सधैं जोखिम मोल्नुपरेको छ,’ काठमाडौं बिजुली बजारकी रिता पोखरेल भन्छिन्, ‘हातले इसारा दिँदा पनि गाडी पेल्दै आउँछन्।’
सवारी नियम उल्लंघन गर्नेलाई कडा सजायको व्यवस्था भए सायद यस्तो नहुने उनको बुझाइ छ।
जेब्राक्रसिङमा दुर्घटना हुन नदिन ट्राफिक प्रहरीले स्वयंसेवक खटाउने गरेको छ। त्यस्तै सडक दुर्घटना न्यूनीकरणका लागि विद्यालय र कलेजमा सचेतना कक्षा चलाउनेलगायत अभियान पनि प्रहरीले चलाइरहेको छ। ‘हामी सडक प्रयोगसम्बन्धी चेतना जगाउने काममा लागिपरेका छौं,’ काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता गिरी भन्छन्, ‘तर पनि यात्रु र चालकको लापरबाहीका कारण दुर्घटना भरहेका छन्।’
उनले सडकमा यात्रुभन्दा पनि चालक निकै होसियार हुनुपर्ने बताउँछन्। कतिपय ठाउँमा बनाइएका जेब्राक्रसिङमा प्रयोग गरिएको रङ/संकेत खुइलिएको, कतिपय ठाउँमा जेब्राक्रसिङ नै नभएको, सवारीसाधनको संख्या पनि निकै बढेकाले समस्या आएको प्रहरीको भनाइ छ। ‘रातको समयमा चालकले पैदल यात्रीले जेब्राक्रस गरेको देख्दैनन्,’ प्रवक्ता गिरी भन्छन्, ‘कतिपय ठाउँका जेब्राक्रसिङ पनि मेटिएका छन्।’
यति हुँदा हुँदै पनि चालक जेब्राक्रसिङ आएपछि सजग हुनुपर्ने उनी बताउँछन्। ‘जेब्राक्रसिङमा गाडीको गति कम हुनु पर्छ,’ उनले भने, ‘त्यहाँ चालकले पैदलयात्रुलाई प्राथमिकता दिनुपर्छ।’
सडक इन्जिनियर गजुरेल भने यस्तो हुन नसकेको बताउँछन्। ‘चालकले पैदलयात्रुलाई प्राथमिकता दिएको पाइँदैन, पैदलयात्रुलाई पेलेर उनीहरू अघि बढ्न खोज्छन्,’ गजुरेलले भने, ‘त्यही भएर सुरक्षित जेब्राक्रस पनि धराप बन्ने गरेको छ।’
प्रकाशित: २० वैशाख २०८२ ०६:४७ शनिबार





