१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
समाज

पर्यासुरक्षा: संरक्षणमा सेनाको सुनौलो आधा शताब्दी

लुकामारी गरिरहेका बाघ, भयरहित गैंडा, हात्तीको लम्काइ, मृगको चम्काइ। यो हो चितवन राष्ट्रिय निकुञ्जको दृश्य। चराको चिरबिर र मयूरको नाच जताततै देखिन्छ। प्राणी र वनस्पतिबिचको गहिरो सम्बन्धले यो धरती स्वर्ग बन्छ। पर्यावरणीय समन्वय र सम्मिलनले खुसीयाली मात्र होइन, आर्थिक समृद्धि पनि ल्याउँछ। त्यो समृद्धिले स्थानीयका अनुहारमा खुसीको लहर छाउँछ।  

तर भुल्नु हुँदैन, कसैको खुसीपछाडि कसैको अथक मिहिनेत तथा पीडा लुकेको हुन्छ। सबैलाई त्यो थाहा नहुन सक्छ। मानव जीवनमा खुसीयाली प्रदान गर्ने अविराम यात्रामा नेपालीले सेनाले ५० उपलब्धीमूलक वर्ष बिताएको छ।

२०३२ सालयता प्रकृति संरक्षणमा प्रत्यक्ष संलग्न हुँदा सेनाले आफ्ना एक सय १६ जना वीर योद्धालाई गुमाएको छ। आज संरक्षण क्षेत्रमा छाएको खुसीपछाडिको यो बलिदानको हिसाब धेरै ठुलो छ।

सेना भन्नेबित्तिकै ठुलो लडाइँमा भाग लिएको ठान्ने परम्परागत सोचाइ धेरैको हुन सक्छ। तर, प्रकृति र वन्यजन्तु संरक्षणको लडाइँ पनि कुनै ठुलो युद्ध लड्नुभन्दा कम हुँदैन भन्ने यसले पुष्टि गरेको छ।

यिनै संरक्षण नायकहरूको योगदानका कारण नेपाल र नेपाली सेना प्रकृति संरक्षण कार्यका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट सम्मानित भएका छन्। बाघको सुरक्षा, वासस्थान व्यवस्थापन र आहार प्रजातिको उपलब्धताका आधारमा चितवन राष्ट्रिय निकुञ्ज सन् २०१५ मा बाघ पाइने देशमध्ये पहिलो राष्ट्रिय निकुञ्जका रूपमा पुरस्कृत भएको थियो।

‘प्रकृति संरक्षण जटिल र चुनौतीपूर्ण छ,’ नेपाली सेनाका प्रवक्ता गौरव केसी भन्छन्, ‘यही प्रतिकूल परिस्थितिमा पनि सेनाले आफ्नो अभियानलाई अविराम अगाडि बढाएको छ।’ जटिल भौगोलिक अवस्था, सीमित स्रोतसाधनबिच नेपाली सेनाले पर्यावरण जोगाउन महत्त्वपूर्ण भूमिका निभाएको उनको अनुभव छ।

२०३२ सालदेखि प्रकृति संरक्षणमा संलग्न सेनाको प्रकृति संरक्षणसम्बन्धी कमान्ड संरचनाभित्र १५ युनिटमा आठ हजारभन्दा बढी फौज खटिएको उनले बताए। सेनाको संलग्नतापछि बाघ, गैंडा, हात्ती, घडियाल गोहीजस्ता दुर्लभ वन्यजन्तु चोरी सिकार र वासस्थान विनाशका कारण नेपालबाट लोप हुनबाट जोगिएका छन्।

चितवन निकुञ्जमा मात्र होइन, समग्र नेपालको प्रकृति संरक्षणमा सेना संलग्न भएपछि सन् २००९ मा एक सय २१ को संख्यामा रहेका बाघ हाल तीन सय ५५ भन्दा बढी र सन् २००५ मा चार सयको सङ्ख्यामा रहेका लोपोन्मुख एक सिंगे गैंडा सात सय ५२ भन्दा बढी देखिएको तथ्यांक छ। त्यस्तै हात्तीको सङ्ख्यामा एक सय २०, हिउँ चितुवा तीन सय ९७ र अर्नाको सङ्ख्या चार सय ४१ भन्दा बढी रहेको सेनाले जनाएको छ।

सेना भन्नेबित्तिकै शिष्टाचार र सम्मान गर्न सिपालु संस्था र व्यक्तिका रूपमा चिनिन्छन्। यसको झलक तिनले वनमा पनि दिएका छन्। उनीहरूलाई सम्मान गर्दै बाघलाई ‘महाराज’, गैंडालाई ‘सरकार’ र हात्तीलाई ‘सर’ भनेर बोलाउने गरिएको छ। ‘यो जनावरप्रतिको अथाह सम्मान हो,’ निकुञ्जमा खटिएका नेपाली सेनाका गणपति शिवराम बस्नेत भन्छन्।

सेनाका अनुसार हाल १२ वटा राष्ट्रिय निकुञ्ज, एउटा वन्यजन्तु आरक्षण, एउटा सिकार आरक्षणका साथै चुरे क्षेत्र संरक्षणका लागि उक्त सङ्ख्यामा फौज परिचालन भएका छन्। आठ वटा गण, दुई वटा वन तथा पर्यावरण सुरक्षा गण र सात वटा अनाश्रित गुल्म गरी आठ हजारभन्दा बढी फौज प्रकृति संरक्षणमा खटेको नेपाली सेनाले जनाएको छ।

विकट भौगोलिक परिस्थिति, मौसमी प्रतिकूलता तथा जङ्गलमा आइपर्ने विविध अप्ठ्यारा चुनौतीहरू सेनाले झेल्ने गरेका छन्। त्यसका बाबजुद उनीहरू दैनिक रूपमा छोटो, मध्यम र लामो दुरीका पट्रोललगायतका अपरेसनल कारबाहीहरू सञ्चालन गरिरहेका छन्।

जीवजन्तु जोगाउने क्रममा सेनाका बहादुर सिपाहीहरू कहिले बाघ र गैंडाको आक्रमणमा पर्छन् भने कहिले बाघ र गैंडा चोरीसिकारी गर्नेको आक्रमणमा पर्छन्। ‘जङ्गलभित्र अनेक डर हुन्छन्,’ चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका नयाँ गोरखनाथ गणका गणपति शिवराम बस्नेत भन्छन्, ‘हामी यही डरलाई जितेर पर्यावरण जोगाउने अभियानमा लागेका छौं।’

कतिपय बेला आवश्यक सामग्रीको अभावमा पनि सेना दिनरात खटेको उनले बताए। ‘जीवजन्तु र जङ्गल जोगाउने उत्साहले हामीलाई अगाडि बढाएको छ,’ उनले भने, ‘हाम्रो यो हिम्मत सधैं अडिग रहनेछ।’

चोरीसिकारी नियन्त्रण तथा अवैध गतिविधिलाई लक्षित गरी यस्ता गतिविधि हुन सक्ने सम्भावित इलाकामा एम्बुस, सर्च एन्ड स्विप, चेक प्वाइन्टलगायतका कारबाहीसमेत सञ्चालन गर्दै आइरहेको छ। संरक्षण कार्यमा तैनाथ युनिटहरूले दैनिक कम्तीमा गण तहमा एक सय ५० वटा गस्ती गर्दै करिब चार सय किमी र गुल्म तहमा कम्तीमा ३० वटा गस्ती गर्दै करिब एक सय ५० किमी क्षेत्रफल डोमिनेट गर्दै आइरहेका छन्।

त्यस्तै संरक्षण कार्यलाई थप प्रभावकारी बनाउन पैदल गस्तीबाहेक संरक्षण कार्यमा खटिएका फौजले साइकल, मोटरसाइकल, भेहिकल, हात्ती तथा डुंगा गस्तीसमेत सञ्चालन गरी जिम्मेवार क्षेत्रलाई पूर्ण रूपमा निगरानी र नियन्त्रणमा राखिरहेका छन्। चालु आर्थिक वर्षमा सेनाले गस्तीका क्रममा ११ थान हतियार, एक हजार चार सय ६७ पासो, एक हजार पाँच सय ६५ घरेलु औजार, दुई सय ५२ सवारी साधन र १० वटा आखेटोपहार बरामद गरेको जनाएको छ।

जटिल भौगोलिक बनावट, ४२ डिग्री सेल्सियसदेखि २० डिग्री सेल्सियससम्मको मौसमी प्रतिकूलता एवं विषम परिस्थितिबाबजुद पनि नेपाली सेनाले सुम्पिएको जिम्मेवारी सफलपूर्वक सम्पादन गर्दै आइरहेको प्रवक्ता केसीले बताउँछन्। ‘तराईको तातो होस् या हिमालको चिसो, प्रकृति र पर्यावरणको सुरक्षामा नेपाली सेना डटेर लागेको छ,’ उनले भने, ‘सेनाको अथक मिहेनतले पर्यावरण धेरै हदसम्म  जोगिएको छ।’

सेनालाई नेपाल सरकारबाट संरक्षित क्षेत्रभित्रका सम्पूर्ण प्राकृतिक स्रोतहरूको सुरक्षा, वनस्पति तथा वन्यजन्तु र जैविक विविधताको संरक्षण तथा सुरक्षा, संरक्षित क्षेत्रभित्रका सम्पूर्ण धार्मिक तथा पर्यटकीय सम्पदाहरूको सुरक्षाको जिम्मेवारी दिइएको छ।

त्यस्तै संरक्षित क्षेत्रहरूमा प्रवेश गरेका पर्यटकहरूको सुरक्षा, संरक्षित वन्यजन्तुको संरक्षणका लागि संरक्षण क्षेत्रभन्दा बाहिर गएर पनि सुरक्षा तथा संरक्षण र संरक्षित क्षेत्रभित्र विपद् व्यवस्थापनको कार्य गर्ने जस्ता जिम्मेवारी दिइएको नेपाली सेनाले जनाएको छ।

नेपाली सेना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण निर्देशनालयका महासेनानी अजय गुरुङले प्रकृति संरक्षणका कारण विश्वकै जैविक विविधता संरक्षणमा अतुलनीय योगदान पुग्ने बताए। ‘सेनाको कुशल कार्यक्षमताले गर्दा गैंडा, बाघलगायतका वन्यजन्तु नेपालबाट लोप हुनबाट जोगिएका छन्,’ गुरुङ भन्छन्, ‘तर यिनको संरक्षणमा प्राकृतिक र मानवजन्य चुनौतीहरू बढ्दै गएका हुँदा दीर्घकालसम्म आजकै स्थितिमा जोगाइराख्ने चुनौती बढेको छ।’

बढ्दो सहरीकरण तथा न्यून आर्थिक स्रोतका कारण मानिसको जंगलप्रतिको परनिर्भरता बढ्दो क्रममा छ। यसका साथै वन्यजन्तुहरूका लागि निकुञ्ज तथा आरक्षण क्षेत्रभित्र सुहाउँदो वातावरण, वासस्थान तथा आहारा अभावका कारण वन्यजन्तुहरू गाउँबस्तीभित्र प्रवेश गर्नाले मानव वन्यजन्तु द्वन्द्वका घटनासमेत बढिरहेका उनको बुझाइ छ। यिनै चुनौतीका बाबजुद सेनाले प्रकृति संरक्षणार्थ भौगोलिक विकटता, मौसमी प्रतिकूलता, जोखिमयुक्त कार्य प्रकृति तथा पूर्वाधारको अपर्याप्तताबिच प्राप्त संरक्षण जिम्मेवारीलाई तदारुकतासाथ बहन गर्दै आइरहेको उनले बताए।

प्रविधिको प्रयोग

प्रकृति संरक्षणको मुख्य चुनौतीका रूपमा रहेको चोरी सिकारी तथा अवैध गतिविधिहरूमा संलग्न हुने व्यक्तिहरूले हालका दिनहरूमा आधुनिक हतियार, प्रविधि तथा उपकरणहरू प्रयोग गर्दै आइरहेका छन्।

सेनाले पनि संरक्षण कार्यमा साझेदार रहेका विभिन्न सरोकारवाला निकायसँगको समन्वय एवं सहकार्यमा निकुञ्ज तथा आरक्षणभित्र हुने गतिविधि निगरानी तथा नियन्त्रणका लागि ‘रियल टाइम पट्रोल मनिटरिङ सिस्टम, स्मार्ट आई, भेहिकल ट्रयाकिङ रेकर्ड सिस्टम (भिटिआरएस) तथा सिसी क्यामेराको प्रयोग गरेको छ।

शून्य सिकार, हराभरा निकुञ्ज

गैंडा हेर्न जाने भन्नेबित्तिकै सबैको ध्यान चितवन राष्ट्रिय निकुञ्जमा आउँछ। २०३० सालमा स्थापित झन्डै एक हजार वर्गकिलोमिटर क्षेत्रमा फैलिएको यो क्षेत्र मनमोहक छ। राप्ती, नारायणी र रिउ नदीले घेरिएको यो सुन्दर क्षेत्रमा बाघ, हात्ती र गैंडाको मनमोहक दृश्य मात्र होइन, मयूरको मनमोहक नृत्यले पनि धेरैको मन हर्छ।

घासे मैदानमा कुदिरहेका मृगका बथान, नदी किनारमा माछा खाइरहेका घडियाल गोहीले यहाँको प्राकृतिक जीवनको स्वस्थता कति राम्रो छ भन्ने प्रस्ट पार्छन्। यसो हुनुमा चितवन राष्ट्रिय निकुञ्ज पाँच सयभन्दा बढी दिनदेखि शून्य चोरी सिकारको अभ्यासमा रहेकाले पनि हो।

‘नेपाली सेना सरोकारवाला अन्य पक्षको सहयोगमा निकुञ्जको सुरक्षामा कटिबद्ध रहेको छ,’ निकुञ्जको सुरक्षामा खटिएका नयाँ गोरखनाथ गणका गणपति शिवराम बस्नेत भन्छन्, ‘जसले निकुञ्ज अहिले हराभरा र जनावरले भरिभराउ देखिएका छन्।’

चितवनमा हालसम्म १८ वटा युनिट तैनाथ रहेको छ। त्यसका लागि अहिले आठ सय जनशक्तिले ६० वटा आउट पोस्टमार्फत कार्य जिम्मेवारी सम्हाली रहेको उनले बताए। त्यहाँ तैनाथ रहेका सेनाले पछिल्लो एक वर्षको अवधिमा ८४ हजार ६ सय ६ पटक सञ्चालन गरेको गस्तीमा १० लाख ९६ हजार नौ सय ५२ किमी दुरीको यात्रा भएको जानकारी दिए।

यहाँ विश्व सम्पदा सूचीमा सूचीकृत घाँसे मैदानसहित दुर्लभ वन्यजन्तुको उल्लेखनीय विविधता रहेको यस निकुञ्जमा स्वदेशी तथा विदेशी पर्यटक बाक्लो रूपमा आउने गरेका छन्। निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत गणेश पन्तका अनुसार २०८१ को चैत मसान्तसम्ममा नेपाली ९२ हजार आठ सय ९०, सार्कका १६ हजार सात सय ९८ र विदेशी पर्यटक ७२ हजार पाँच सय ३९ गरी कुल एक लाख ८२ हजार दुई सय २७ पर्यटकले चितवन राष्ट्रिय निकुञ्ज भ्रमण गरेका छन्। जसबाट २० करोडभन्दा बढी राजस्व उठेको छ।

चालिसभन्दा बढी प्राकृतिक ताल रहेको यो निकुञ्ज रिउ, राप्ती र नारायणी नदीको घेरोमा घेरिएको छ। यस निकुञ्जमा गैंडा, पाटे बाघ, सोंस, गौरीगाई, काठे भालु, चितुवा, रतुवा, चित्तल, लगुना, जरायो, चौसिंगे, बाँदर र लंगुरलगायत ६० भन्दा बढी किसिमका स्तनधारी रहेका छन्।

चुनौती

सेना अहोरात्र प्रकृति संरक्षणजस्तो महत्त्वपूर्ण कार्यमा संलग्न रहे पनि यस क्षेत्रमा विभिन्न चुनौती नभएका होइनन्। अवैध तथा छाडा चरिचरन, निकुञ्जभित्र विकासका पूर्वाधार निर्माण, वन्यजन्तुमैत्री पूर्वाधारको अभाव, बढ्दो औद्योगिकीकरण, वातावरणीय प्रदूषण, खुला सिमानालगायतले संरक्षण कार्य थप चुनौतीपूर्ण तथा जटिल बन्दै गइरहेको सेनाको बुझाइ छ।

यस्तै बजेट कम भएर सीमित स्रोतसाधनमा घना जंगलमा गस्ती गर्नुपर्ने बाध्यता रहेको छ। चितवन राष्ट्रिय निकुञ्जलाई हेर्ने हो भने अझै पनि कतिपय पोस्टमा मोबाइलको नेटवर्क समाउँदैन भने कतिपय ठाउँमा इन्टरनेटको अभाव छ। जसले जोखिममा परेकाको तत्कालै उद्धार गर्न समस्या पर्ने गरेको छ।

बजेट अभावकै कारण यस वर्षको गैंडा गणनासमेत प्रभावित बनेको छ। चितवन राष्ट्रिय निकुञ्जभित्र मात्र हाल पूर्ण रूपमा विद्युत् सेवा नभएका पोस्ट २६, इन्टरनेट उपलब्ध नभएका पोस्ट २७, शुद्ध खानेपानी नभएका पोस्ट दुई, यातायात सुविधा नभएका पोस्ट ६ वटा रहेका सेनाले जनाएको छ।

हिमाल सफाइमा पनि नेपाली सेना

संसारको ध्यान तान्ने हाम्रो प्रमुख आकर्षण केन्द्रका रूपमा हिमाल रहेको छ। हिमाल प्राकृतिक सन्तुलनको धरोहर मात्र नभएर नेपाली पर्यटकको आधार पनि रहेको छ। बढ्दो आरोहणसँगै यो क्षेत्र फोहोरसमेत हुन थालेको छ। ढिलै भए पनि सेना यसको सफाइमा जुटेको छ।

२०७६ सालबाट सुरु गरिएको ‘सफा हिमाल अभियान’ अन्तर्गत सरोकारवाला निकायहरूको समन्वयमा हालसम्म सयौं टन फोहोर, मानव शव र अस्थिपञ्जर संकलन गरी व्यवस्थापन गरिएको सेनाले बताएको छ। हिमाली क्षेत्रमा हाल १५ हजारदेखि ३० हजार टन फोहोर तथा तीन सयदेखि चार सयको सङ्ख्यामा मृत मानव शरीर भएको अनुमान छ।

सेनाको अगुवाइमा २०७६ बाट सुरु भएको सगरमाथा र ल्होत्से सफाइ अभियान हालसम्म मकालु, धौलागिरि, आमादब्लम, कञ्चनजंघा, अन्नपूर्ण, मनास्लु, बरुन्चे हुँदै नुप्सेसम्म पुगेको छ। उक्त अवधिको सफाइ अभियानमा १२ वटा शव र चार मानव अस्थिपञ्जरसहित कुइने र नकुहिने गरी एक लाख १९ हजार ५६ किलो फोहोर संकलन भइसकेको सेनाले जनाएको छ।

आरक्षणको इतिहास

नेपाली परिप्रेक्ष्यमा वन सम्पदा संरक्षणका लागि शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा भएको शिलालेखमा उल्लेख भएअनुसार सेना वन तथा जङ्गल सुरक्षामा तत्कालीन राजा सुरेन्द्रको पालामा सन् १८६९ बाट नै तैनाथ भएको पाइन्छ। जुन सन् १८७२ मा स्थापना भएको अमेरिकाको एलोस्टोन नेसनल पार्कभन्दा पनि तीन वर्षअगाडि देखिन्छ।

२०१८ सालबाट गैंडा गस्ती सुरु गर्दै वन्यजन्तु संरक्षणमा प्रत्यक्ष सहभागिता जनाएको नेपालले २०३० सालमा नेपालको पहिलो राष्ट्रिय निकुञ्जका रूपमा चितवन राष्ट्रिय निकुञ्ज घोषणा भएको थियो। तत्पश्चात् राष्ट्रिय निकुञ्ज संरक्षणको जिम्मेवारी २०३२ सालमा नेपाली सेनालाई सुम्पिएको हो।

हाल नेपालमा १२ वटा राष्ट्रिय निकुञ्ज, एउटा वन्यजन्तु आरक्ष, एउटा सिकार आरक्ष, ६ वटा संरक्षण क्षेत्र र १३ वटा मध्यवर्ती क्षेत्र छन्। नेपालका २० वटा संरक्षित क्षेत्रले नेपालको कुल क्षेत्रफलको २३.३९ प्रतिशत भूभाग ओगटेको छ। सेना तैनाथ रहेका १४ वटा संरक्षित क्षेत्रको फैलावट ३३ जिल्लामा छ।

प्रकृति संरक्षण कार्यका लागि प्रत्यक्ष रूपमा नेपाली सेनाको आठ वटा गण, सात वटा गुल्म र एक वटा शिक्षालयमा गरी करिब आठ हजारभन्दा बढी फौज परिचालित छन्।

‘सेना समग्र मुलुकको सुरक्षासँगै पर्यावरणको सुरक्षामा सधैं डटिरहने छ,’ सेनाका प्रवक्ता केसी भन्छन्, ‘पर्यावरण क्षेत्रमा सेनाले निभाएको ५० वर्षको इतिहासका लागि सरोकारवाला सबैलाई धन्यवाद दिन चाहन्छु।’

प्रकाशित: २० वैशाख २०८२ ०५:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App