२२ पुस २०८२ मंगलबार
image/svg+xml
समाज

के शेर्पा बिना सगरमाथा आरोहण सम्भव छ?

नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायको आफ्नै विशिष्ट मौलिक संस्कृति छ। हिउँसँगै जन्मेर हुर्कने र उच्च हिमाली वातावरणमा अनुकूलित रहने यो समुदायका मानिसले नेपाललगागत विश्वका कैयौँ हिमाल आरोहणमा गाइड (पथप्रदर्शक) को भूमिका निर्वाह गर्दै आएका छन्। पर्वतारोहणमा दशकौंदेखि यही परम्परा रहँदै आएको छ।

उच्च हिमाली क्षेत्रको पर्वतारोहणका लागि जैविक हिसाबले शारीरिक सुगठन र प्रतिस्पर्धात्मक क्षमता मात्र होइन, हिमाल चढ्ने सीप र कौशलमा उनीहरू अब्बल मानिन्छन्। उनीहरूलाई हिमालको संरक्षक समेत मानिन्छ। तर शिक्षाको विकास, अन्य पेसाप्रतिको आकर्षण लगायत कारणले शेर्पा समुदायका युवाको आरोहणप्रति चासो घट्दो छ।

यही क्रम जारी रहे आगामी केही वर्षमै शेर्पा गाइडको अभाव हुने छ। ‘सरकार र अन्य सम्बद्ध निकायले विशेष चासो, सहुलियत र प्रोत्साहनको व्यवस्था नगरेमा अबको १० वर्षमा शेर्पा गाइडको अभाव हुनेछ,’ ३० पटक सगरमाथा आरोहण गरेका कीर्तिमानी आरोही कामिरिता शेर्पा भन्छन्।

हुन पनि हो, विश्वको सबैभन्दा उच्च शिखर सगरमाथा आरोहण जो कोहीका लागि सहज विषय होइन। यो जोखिम र चुनौतीले भरिएको यात्रा हो। यसका लागि अदम्य साहस, आत्मविश्वास, सीप र कला आवश्यक पर्छ। कतिपय अध्ययनले तिब्बती र नेपाली शेर्पामा उचाइका कारण शरीरमा हुने अक्सिजनको अभाव अर्थात् ‘हाइपोक्सिया’सँग लड्न सक्ने आनुवांशिक क्षमता रहेको देखाएका छन्।

सन् १९५३ यता आठ हजार जनाभन्दा बढीले सगरमाथा आरोहण गरेका छन्। सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेर कीर्तिमान राख्नेमा अधिकांश शेर्पा समुदायका मानिस छन्। ‘समयमै शेर्पा गाइडलाई आवश्यक लगानी र प्रोत्साहन नगरे अब हिमालमा पुग्न हेलिकोप्टर चढ्नुपर्ने विकल्प मात्र बाँकी रहनेछ,’ ५५ वर्षीय कामिरिता भन्छन्। ३१औं पटक सगरमाथा आरोहण अभियानअन्तर्गत अहिले उनी सगरमाथा क्षेत्रमा पुगिसकेका छन्।

यसैगरी ११औं पटक सगरमाथा आरोहण गरेका लाक्पा देण्डी शेर्पा पनि केही वर्षमै शेर्पा गाइडको अभाव हुने तर्क गर्छन्। ‘अहिले अधिकांश शेर्पा सहर छिरेका छन्, कैयौं विदेशमा छन्, उनीहरूलाई यो पेसामा कुनै रुचि छैन,’ तीन पटकसम्म सबैभन्दा कम समय अर्थात् १० दिनमै सगरमाथा आरोहणको कीर्तिमान कायम गरेका लाक्पा भन्छन्।

उनले हिमाल आरोहणमा विदेशीका लागि निरन्तर रोयल्टी बढाउने सरकारले शेर्पा गाइडको पिरमर्का नबुझेको बताए। प्रत्येक आरोहणबाट कम्तीमा तीन–चार लाख रूपैयाँदेखि १५–२० लाख रूपैयाँसम्म शेर्पा गाइडले कमाउने चर्चा गर्दै उनले अहिले हिमाल आरोहणमा चाहिने कपडासहित अन्य सामानको मूल्य बढेको बताए।

‘युवा हुँदा गाइडको काम गर्ने शेर्पालाई बुढेसकालमा कुनै पेन्सन र सामाजिक भत्ता छैन। निश्चित पटक आरोहण गरेका र आरोहण टिमलाई सहायता गरेका शेर्पा गाइडलाई सामाजिक भत्ता र सुविधा दिन सके युवा यसतर्फ आकर्षित हुन सक्छन्,’ उनले भने।

नेपाल र नेपालीको अन्तर्राष्ट्रिय पहिचानमा शेर्पा समुदायको पनि महत्त्वपूर्ण भूमिका रहेको प्रसंग उल्लेख गर्दै लाक्पा भन्छन्, ‘यो गौरव र परम्परालाई जोगाउन तत्काल ठोस कार्य गर्न आवश्यक छ। यसो गर्न सके विदेशमा रहेका शेर्पा युवा पनि नेपाल फर्कन सक्छन्।’

जलवायु परिवर्तन अर्काे चिन्ता

शेर्पा आरोही पछिल्ला वर्षमा हिमालमा हिउँ पर्ने समय परिवर्तन भएको, उचाइमा समेत हिउँ पग्लन थालेको, कतिपय हिमाल काला पत्थरमा परिवर्तन भइरहेको, हिउँ पहिरोको जोखिम बढेको बताउँछन्। ‘६ हजार १८९ मिटर उचाइको आइल्यान्ड पिक हेर्नुस्, पूरै कालो चट्टानमा परिवर्तन भएको छ,’ कामिरिता भन्छन्।

उनका अनुसार पहिले सगरमाथा आरोहण गर्ने क्रममा आधार शिविरमा हिउँ फुटाएर पानी खानुपर्थ्याे तर अहिले ६ हजार पाँच सय मिटरमा समेत हिउँ पग्लिएकाले सजिलै पानी पाइन्छ। ‘हिउँ पग्लने यो क्रम यस्तै हिसाबले जारी रहेमा अबको १५/२० वर्षमा अधिकांश हिमाल कालापत्थरमा परिवर्तन हुन सक्छन्,’ कामिरिताले भने, ‘संकटलाई सम्बोधन गर्न हिउँ पगाल्न जिम्मेवार मानिने कार्बन उत्सर्जन घटाउनुपर्छ। जलविद्युत्लगायत नवीकरणीय ऊर्जामा हामी जानैपर्छ।’

विश्वका अन्य हिमाल पनि विश्वव्यापी तापमान वृद्धिले प्रभावित भइरहेको आफूले देखेको बताउँदै उनले भने, ‘यो विषयमा सबै राष्ट्र र विश्व समुदाय एक भएर काम गर्नुपर्छ। आरोहीका कारण सगरमाथा क्षेत्रमा थुप्रिएको फोहोर उठाउन बजेट र जनशक्तिको व्यवस्था पनि गर्नुपर्छ।’

प्रकाशित: १८ वैशाख २०८२ ०९:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App