१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

रेशम चौधरी कैदमुक्त

नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी पक्राउ परेको ४ घण्टापछि कैदमुक्त भएका छन्।

सर्वोच्च अदालतको अनधिकृत पत्रका आधारमा बुधबार कमलादीस्थित पार्टी एकता घोषणा स्थलबाट पक्राउ परेका चौधरीलाई प्रहरीले डिल्लीबजार कारागार पठाएको थियो। तर, सर्वोच्चले उक्त पत्र गैरकानुनी भएको ठहर गर्दै तत्काल रिहा गर्न निर्देशन दिएपछि उनलाई थुनामुक्त गरिएको हो।

सर्वोच्चको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्टले चौधरीलाई पक्राउ गर्न पत्र लेखेका थिए। सो पत्र कुनै न्यायिक आदेशबिना जारी भएको पुष्टि भएको छ।

सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले विज्ञप्ति जारी गर्दै उक्त पत्र (च.नं. १९२७७, मिति २०८२/०१/१७) कार्यान्वयन नगर्न र पत्र लेख्ने अधिकृतमाथि कानुनी कारबाही सुरु भएको जानकारी दिए। विष्टलाई सर्वोच्चको सुरक्षा इकाईले पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको छ।

महान्यायाधिवक्ता कार्यालयले पनि यो विषयमा छानबिन गरिरहेको जनाएको छ। चौधरीको पक्राउ र रिहाइले राजनीतिक वृत्तमा तरंग ल्याएको छ भने सर्वोच्चभित्रै पत्रको वैधानिकताबारे हंगामा भएको छ।

चौधरी २०८० जेठ १५ मा गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएर रिहा भएका थिए।

प्रकाशित: १७ वैशाख २०८२ १७:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App