सर्वोच्च अदालतका शाखा अधिकृत महिमानसिंह विष्टलाई नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न अनधिकृत पत्र लेखेको आरोपमा प्रहरीको जिम्मा लगाइएको छ।
सर्वोच्च अदालतको सुरक्षा इकाईले विष्टलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाएको हो।
बुधबार विष्टले सर्वोच्चको मुद्दा तथा रिट महाशाखाबाट चौधरीलाई पक्राउ गर्न पत्र लेखेका थिए। उक्त पत्रका आधारमा प्रहरीले चौधरीलाई कमलादीबाट पक्राउ गरी डिल्लीबजार कारागार पठाएको थियो।
तर, पत्र अनधिकृत र कुनै न्यायिक आदेशबिना जारी भएको पुष्टि भएपछि सर्वोच्चले उक्त पत्र कार्यान्वयन नगर्न निर्देशन दिएको छ।
सर्वोच्चका प्रवक्ता अच्युत कुइँकेलले विज्ञप्ति जारी गर्दै विष्टमाथि कानुनी कारबाही प्रक्रिया सुरु भएको जनाएका छन्।
प्रकाशित: १७ वैशाख २०८२ १६:५४ बुधबार





