नेपाल पर्यटन विकास व्यवसायी संघको अध्यक्षमा अच्युतप्रसाद सिग्देल निर्विरोध निर्वाचित भएका छन्। संघको मंगलबार राजधानीमा सम्पन्न छैटौँ साधारणसभाले सिग्देलको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ।
समितिको उपाध्यक्षमा भागवत सिम्खडा, सचिवमा भरतप्रसाद तिमल्सिना, उपसचिवमा अमित वस्ती, कोषाध्यक्षमा राजु थपलिया निर्विरोध निर्वाचित भएको निर्वाचन समिति संयोजक डिल्लीराम सुवेदीले बताए। संघको सदस्यहरूमा ऋषिराज उपाध्याय, उपदेश कुँवर, सुनिता भट्टराई र विदित श्रेष्ठ निर्वाचित भएका छन्।
साधारणसभाको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्शका कार्यवाहक अध्यक्ष दीपककुमार मल्होत्राले विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीका लागि पशुपतिनाथ, बौद्ध धर्मावलम्बीका लागि गौतम बुद्ध जन्मिएको स्थल लुम्बिनी र विश्वको सर्वोच्च शिखर सगरमाथा भएको देशले राम्रो प्रचारप्रसार र व्यवस्थापन गर्न सके धेरै पर्यटक भित्र्याउन सकिने भएकाले त्यसैअनुसार काम गर्नुपर्नेमा जोड दिए।
पाँच दशकअघि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल र थाइल्याण्डको राजधानी बैंककको विमानस्थल उस्तै भए पनि अहिले बैंककको विमानस्थल पर्यटक आगमनकै कारण विस्तार भएर विश्वकै ठूलामध्येमा पर्ने बताउँदै उनले पर्यटक भित्र्याउन विमानस्थलको क्षमता पनि विस्तार गर्नुपर्नेमा उनको जोड थियो।
नेपाल पर्यटन बोर्डका निर्देशक रोहिणी खनालले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा प्रमुख गन्तव्य स्थलका रूपमा विकास गराउने उद्देश्यले बोर्ड स्थापना गरी लक्ष्य हासिल गर्न काम भइरहेको उल्लेख गरेका छन्। धर्म, संस्कृति अध्ययन संघ नेपालका अध्यक्ष र त्रिभुवन विश्वविद्यालय इतिहास, पुरातत्व तथा संस्कृति केन्द्रीय विभागका पूर्वप्रमुख प्रा डा सोमप्रसाद खतिवडाले लुम्बिनी आउने पर्यटक काठमाडौँ नआउने गरेको र कपिलवस्तुमा लैजान भद्रगोल अवस्था रहेकाले सुधार गर्न सरोकार भएका निकायको ध्यानाकर्षण गराए।
ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपालका अध्यक्ष सागर पाण्डेले उद्यम गर्न सहज वातावरणका लागि सबै एक हुनुपर्ने बताएका छन्। नेपाल पर्वतारोहण संघका वरिष्ठ उपाध्यक्ष ठाकुरप्रसाद पाण्डेले मानसरोवर यात्रामा सहजीकरण भएको बताए।
संघका नवनिर्वाचित अध्यक्ष सिग्देलले पनौती, हेलम्बु, चन्द्रागिरी, नुवाकोटलगायत स्थल क्षेत्रमा धार्मिक र सांस्कृतिक अनुसन्धान गरिएको बताउँदै अब त्यस आधारमा गतिविधि सञ्चालन गर्ने उनको भनाइ थियो।
कार्यक्रममा पर्यटन क्षेत्रमा उत्कृष्ट काम गर्ने विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो। त्यस अवसरमा पर्यटन व्यवसायी रामशरण नेपाल, पर्यटन यातायात व्यवसायी सम्मान केदारनाथ कट्टेल, पर्यटन व्यवसायी सम्मान विकास थापा, चिया व्यवसायी रामेश्वर महर्जन, पर्यटन तथा पथप्रदर्शक राजकाजी महर्जन र होटल व्यवसायी चिरञ्जीवी भट्ट उत्कृष्ट सेवा प्रदान गरेको उल्लेख गर्दै सम्मानित भएका छन्। रासस
प्रकाशित: १७ वैशाख २०८२ ०६:५१ बुधबार





