काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रमा रहेका संस्थागत विद्यालयलाई नयाँ शैक्षिक सत्र २०८२ का लागि छात्रवृत्ति वितरणको व्यवस्था गर्न निर्देशन दिएको छ।
महानगरपालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ र काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को प्रावधानअनुसार कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई कम्तीमा १० प्रतिशत छात्रवृत्ति प्रदान गर्नुपर्ने स्पष्ट पारेको छ।
छात्रवृत्ति वितरण गर्दा जेहेन्दार, विपन्न, अपाङ्ग, महिला, दलित, जनजाति, द्वन्द्व पीडित, सहिद परिवारका विद्यार्थीलाई समावेशी आधारमा प्राथमिकता दिनुपर्ने उल्लेख गरिएको छ।
विद्यालयहरूले छात्रवृत्तिका लागि सूचना पाटीमा सूचना टाँस गर्नुपर्नेछ भने सम्बन्धित विद्यार्थी तथा अभिभावकबाट आवेदन लिई जेठको पहिलो हप्ताभित्र छात्रवृत्ति वितरणको व्यवस्था मिलाउन अनुरोध गरिएको छ।
छात्रवृत्ति वितरणका लागि काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५०(३) अनुसार गठित छात्रवृत्ति छनौट समितिको निर्णयलाई मात्र मान्यता दिइनेछ।
समितिमा वडाध्यक्ष (वा तोकिएको सदस्य) संयोजक, विद्यालयको प्रधानाध्यापक, महानगरको विद्यालय निरीक्षक/शिक्षा अधिकृत, र विद्यालय व्यवस्थापन समितिका अभिभावक प्रतिनिधि सदस्य रहनेछन्।
शिक्षा अधिकारी नेत्र नारायण अधिकारीद्वारा जारी सूचनामा विद्यालयहरूले निर्धारणअनुसार प्रक्रिया पुर्याएर समयमै छात्रवृत्ति वितरण गर्न स्पष्ट रूपमा अनुरोध गरिएको छ।

प्रकाशित: १६ वैशाख २०८२ १६:२९ मंगलबार





