१६ जेष्ठ २०८३ शनिबार
image/svg+xml
खेल

४२औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता: रसिला र प्रिन्स क्वार्टरफाइनलमा

नेपाल नम्बर एक खेलाडीद्वय रसिला महर्जन र प्रिन्स दाहालले ४२औं राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सिंगल्सतर्फ क्वार्टरफाइनलमा स्थान बनाएका छन्।

नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगितामा त्रिभुवन आर्र्मी क्लबकी रसिला महिला सिंगल्स र एपिएफका प्रिन्स पुरुष सिंगल्सको क्वार्टरफाइनलमा पुगेका हुन् । दुवै नेपाल नम्बर एक खेलाडी हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा प्रिन्सले नेपाल पुलिस क्लबका कविर केसीलाई सहजै हराउँदै क्वार्टरफाइनलमा स्थान बनाए । नेपाल नम्बर एक प्रिन्सले ११औं वरीयताका कविरलाई २१–७ र २१–१४ ले  हराए । रसिलाले भने आफ्नै विभागकी समृद्धि श्रेष्ठमाथि २१–१० र २१–११ को जित रचिन् । रसिला र प्रिन्स आफ्नै विभागका जोडीसँग मिलेर मिक्स डबल्सको पनि क्वार्टरफाइनल पुगेका छन्।

आर्मीका रसिला र प्रफुल महर्जनको जोडीले नेपाल पुलिस क्लबका सुनील जोशी र सीता राईको जोडीलाई २१–१५ र २१–१७ ले हराउँदै अन्तिम आठमा स्थान बनायो । एपिएफका प्र्रिन्सले भने पूजा नामसुहाङसँग मिलेर मिक्स डबल्समा अन्तिम आठको यात्रा तय गरे । यो जोडीले प्रिक्वार्र्टरफाइनलमा आफ्नै विभागका भोजबहादुर गुरुङ र नवीना राईको जोडीलाई २२–२० र २१–१४ ले हरायो । पुरुष सिंंगल्समा प्रफुलसँगै एपिएफका क्षितिज खनाल, पुलिसका सुनील जोशी, एपिएफका भोजबहादुर गुरुङ, देवराज राना, अमन महर्जन र आर्मीका विधान अधिकारी क्वार्टरफाइनलमा स्थान बनाउन सफल भए।

प्रफुलले आफ्नै विभागका सुनील श्रेष्ठलाई २१–११ र २१–८, एपिएफका क्षितिजले आर्मीका विवेक चौधरीलाई २१–११ र २१–१४ ले, भोजबहादुरले पुलिसका दीपक बोहोरालाई २१–८ र २१–१३ र देवराजले कर्णाली प्रदेशका अनिल मल्ललाई २१–१६ र २१–१२ ले हराए ।  एपिएफका अमनले कोसी प्रदेशका संगम गिरीलाई २१–१६ र २२–२० ले, आर्मीका विधानले कोसीका आन्द्रेश लिम्बूलाई २१–१५, १६–२१ र २१–१८ ले तथा पुलिसका सुनीलले कोसीका दिवस शंकरलाई १५–२१, २१–१८ र २१–१८ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाए।

महिला सिंगल्समा बागमती प्रदेशकी टिसारानी शाक्य, कोसीकी निसाम सुुब्बा, पुलिसकी सुस्मा श्रेष्ठ, आर्मीकी अमिता गिरी, आर्मीकै रिहान्ना शेरचन, बागमतीकी अजरेन्का शेरचन  र कोसीकी नङ्सल तामाङ क्वार्टरफाइनलमा पुगे । आर्मीकी रिहानाले पुलिसकी अस्मिता खत्रीलाई २१–११ र २४–२२ ले हराइन् भने बागमतीकी अजरन्काले पुलिसकी श्रेया वज्राचार्यलाई २१–१९, ९–२१ र २१–१५ ले पराजित गरिन्।

कोसीकी नङ्सलले गण्डकीकी निभा राईलाई २१–११ र २१–११ ले हराउँदा आर्मीकी अमिताले कोसीकी रोजी राईमाथि २१–१६ र २१–९ को जित निकालिन् । मिक्स डबल्समा आर्मीका कविर केसी र सुष्मा श्रेष्ठले सुप्रिम पन्त र समृद्धि श्रेष्ठलाई २१–१२ र २१–१८ ले पराजित गरे । विशाल तामाङ र नङ्सल तामाङको जोडीले विधान अधिकारी र अमिता गिरीको जोडीमाथि जित हात पार्‍यो । महिला डबल्सतर्फ पुलिसकी श्रेया वज्राचार्य र अस्मिता खत्रीको जोडीले नवीना राई र स्वारलिन श्रेष्ठलाई २१–११ र २१–१२ ले हरायो । अमिता गिरी र रसिला महर्जनको जोडीले सिल्पा शाही र स्वागता थापामाथि २१–५ र २१–५ को सहज जित निकाल्यो । सीता राई र सुष्मा श्रेष्ठले टिसारानी शाक्य र इकु थापालाई २२–२० र २१–१३ ले हराए।

पुरुष डबल्समा प्रिन्स दाहाल र देवराज रानाको जोडीले दीपक राना र सुजन थापालाई २१–१२ र २१–८ ले पराजित गर्‍यो । विधान र प्रफुलको जोडीले सुरोज महर्जन र सुप्रिम पन्तलाई २१–७ र २१–१३ ले हरायो । निश्चल खत्री र अमन महर्जनले विवेक जोशी र रिषोद सुवाललाई २१–१५ र २१–१८ ले पराजित गर्दा सुनील जोशी र कविर केसीको जोडीले विवेक अधिकारी र सुबिन श्रेष्ठलाई २१–८ र २१–१२ ले हरायो । प्रतियोगिता जेठ २ गतेसम्म सञ्चालन हुनेछ। संघले आफ्नो वार्षिक कार्ययोजनाअन्तर्गत राष्ट्रिय खेलकुदको स्तर उकास्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ।

प्रतियोगितामा सातै प्रदेश तथा तीन विभागीय टोली त्रिभवुन आर्मी क्लब, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एपिएफ क्लबबाट छनोट भएका करिब एक सय २० खेलाडीको सहभागिता रहनेछ। प्रतियोगिता पुरुष एकल, महिला एकल, पुरुष डबल्स, महिला डबल्स र मिक्स्ड डबल्स गरी पाँच विधामा सञ्चालन हुँदै छ । प्रत्येक प्रदेश तथा विभागीय टोलीका लागि सात पुरुष र पाँच महिला गरी १२ खेलाडीको कोटा निर्धारण गरिएको छ । प्रत्येक टोलीमा एक प्रशिक्षक र एक व्यवस्थापक अनिवार्य रहने व्यवस्था गरिएको छ।  

प्रकाशित: २ जेष्ठ २०८३ ०८:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App