१० पुस २०८२ बिहीबार
image/svg+xml
समाज

गर्भवती किशोरीको हेलिकोप्टरबाट उद्दार

फाइल तस्बिर

सुत्केरी व्यथा लागेकी हुम्ला, सिमकोट गाउँपालिका–२ ठेहे गाउँकी १६ वर्षीया किशोरीलाई आज नेपाली सेनाको हेलिकोप्टरबाट उद्दार गरिएको छ।

सुत्केरी हुन डेढ महिना बाँकी रहेकी गर्भवती पुष्पा बोहरा भण्डारीलाई आज बिहान सिमकोटबाट जिल्ला बाहिर उद्दार गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. प्रतीक्षा भारतीले बताए। आइतबारदेखि उच्च रक्तचाप भएपछि जिल्लामा उपचार सम्भव नभएर प्रादेशिक अस्पताल सुर्खेतमा ‘रेफर’ गरिएको उनले जानकारी दिइन्।

प्रसव व्यथा लागेकी भण्डारीको जिल्ला अस्पतालमा जाँच गर्दा उच्च रक्तस्राव भएको, पेटको बच्चा ठाडो हुनुपर्नेमा तेस्रो भएको र बच्चाको टाउको अगाडि हुनुपर्नेमा साल अगाडि भएकाले उपकरण र दक्ष जनशक्ति अभावले सुर्खेत उद्दार गरिएको हो। भण्डारीलाई ‘अप्रेसन’ गर्नुपर्ने भएकाले सुविधासम्पन्न अस्पताल सुर्खेत पठाइएको छ।

उनको उद्दारमा जिल्ला अस्पताल हुम्लाको सिफारिसमा सिमकोट गाउँपालिका, स्वास्थ्य सेवा कार्यालय र जिल्ला प्रशासन कार्यालयको समन्वयमा महिला, बालबालिका मन्त्रालयको राष्ट्रपति महिला उत्थान कोष कार्यक्रमबाट हेलिकोप्टरमार्फत उद्दार गरिएको हो। सुर्खेत पुर्‍याएलगत्तै उनको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। जनशक्ति र उपकरण अभावले हुम्लाका सुत्केरी गर्भवतीका लागि यो कार्यक्रम वरदान बनेको छ। रासस

प्रकाशित: १६ वैशाख २०८२ १३:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App