७ असार २०८२ शनिबार
image/svg+xml
समाज

कर्णालीमा बढ्यो लैगिंक हिंसा, २९ प्रतिशत युवतीको विवाह १८ वर्षअघि

लैङ्गिक हिंसा विरुद्धको राष्ट्रिय कार्ययोजना मस्यौदामा सहभागीहरु । तस्विर : गोविन्द केसी/नागरिक

कर्णालीमा गर्भवती हुनेहरुमध्ये २० वर्षमुनिका २१ प्रतिशत रहेको तथ्याङ्क सार्वजनिक भएको छ । सामाजिक विकास मन्त्रालय, सामाजिक विकास महाशाखाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १५ देखि १९ वर्ष उमेर समूहका २१ प्रतिशत किशोरीहरु गर्भवती हुने गरेको पाईएको हो । जुन सात प्रदेशमा सबैभन्दा बढी हो । 

गर्भवती हुँदा १५ देखि ४९ उमेर समूहमा ७ वर्षअघि ४.२ प्रतिशत र ३ वर्षयता ४.८ प्रतिशत लैङ्गिक हिंसाका घटना हुने गरेको सामाजिक विकास महाशाखा प्रमुख सुर्वण खड्काले बताए । लैङ्गिक हिंसा हुने दर विगतभन्दा ३ वर्षयता बढेको तथ्याङ्कमा उल्लेख छ ।  

त्यस्तै कर्णालीका महिलाहरुले विगतभन्दा पछिल्लो ३ वर्षयता शारीरिक हिंसा बढी भोगेको पाईएको छ । ७ वर्ष पहिला १५ प्रतिशत रहेकोमा ३ वर्षयता १६.७ प्रतिशत रहेको छ ।  

महिलाहरु यौन हिंसामा पनि विगतभन्दा बढी पर्ने गरेको सामाजिक विकास महाशाखाले तयार पारेको तथ्याङ्कमा उल्लेख छ ।  

जनगणना २०७८ अनुसार कर्णालीमा २० देखि २४ वर्ष उमेर समुहका २९ प्रतिशत महिलाहरुको विवाह १८ वर्षसम्म भएको देखिएको छ । लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण नीति २०७८ कर्णाली प्रदेश सरकारले तयार पारेको छ । जसले लैङ्गिक हिंसाविरुद्ध रोकथाम तथा सामाजिक समावेशीकरणका कार्यक्रमहरु प्रदेशभर गर्दै आएको छ ।  

सामाजिक विकास मन्त्रालयको समन्वयमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले कर्णालीमा प्रदेशको राजधानी वीरेन्द्रनगरमा लैङ्गिक हिंसा विरुद्धको राष्ट्रिय कार्ययोजना प्रादेशिक परामर्श कार्यशाला गरेको छ । लैङ्गिक हिंसाविरुद्धको राष्ट्रिय कार्ययोजना मस्यौदामाथि छलफल समेत भएको थियो । समन्वयमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सचिव लक्ष्मी बस्नेतले मस्यौदामा उल्लेख भएको कुराहरु राखेकी थिईन् ।

कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले लैङ्गिक हिंसा विरुद्धको राष्ट्रिय कार्ययोजनाले पीडितहरुलाई अँझ बलियो रुपमा समेट्ने बताए । सरोकारवाला निकायहरुसंगै लैङ्गिक हिंसा विरुद्धको राष्ट्रिय कार्ययोजना मस्यौदामाथि वृहत रुपमा सुर्खेतमा छलफल समेत चलाईएको छ । 

प्रकाशित: १५ वैशाख २०८२ १६:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App