९ पुस २०८२ बुधबार
image/svg+xml
समाज

पोखरा-मुग्लिन सडक विस्तार अन्तिम चरणमा, गण्डकीको ‘लाइफलाइन’ बन्दै

निर्माण चरणमा खेपेको धुलो र हिलोको सास्ती बिर्सेर सर्वसाधारणले अब चार लेनको सडकमा पोखरा–मुग्लिन यात्रा गर्न पाउनेछन्। निर्माणमा अवरोध नआएमा आगामी हिउँदसम्म सडक स्तरोन्नति सकिनेछ। पचास वर्षअघि बनेको पृथ्वी राजमार्गअन्तर्गतको पोखरा–मुग्लिन सडक २०७८ वैशाखदेखि विस्तार र स्तरोन्नति भइरहेको छ। 

गण्डकीको ‘लाइफलाइन’ यो सडकको पूर्वी खण्ड (जामुने–मुग्लिन) मा ८२.९५ प्रतिशत र पश्चिम खण्ड (पोखरा–जामुने) मा ५०.३४ प्रतिशत भौतिक प्रगति भएको छ। पूर्वी खण्डका इञ्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार ४१.४५ किमीको यो खण्डमा तीन किमी मात्र कालोपत्र बाँकी छ। ‘कालोपत्र अन्तिम चरणमा छ, दमौली र डुम्रे बजारमा दुई किमी सडक छ लेनको बनेको छ, अन्यत्र चार लेनको छ,’ उनले भने, ‘आगामी असारभित्र पूर्वी खण्डको काम सक्ने लक्ष्य छ।’

पूर्वी खण्डका १७ साना–ठूला पक्की पुल गत वर्ष बने। मादी नदीको ‘सिग्नेचर’ पुल छुट्टै ठेक्कामार्फत बनिरहेको छ। कोभिड महामारीले सुरुमा ढिलाइ भए पनि पछिल्लो समय निर्माण तीव्र भएको पाण्डेले बताए। यो खण्डमा चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले २०७८ वैशाखदेखि काम गरिरहेको छ। ठेक्का रकम ६ अर्ब २१ करोड ३१ लाख छ। 

पश्चिम खण्डका प्रमुख कृष्णबहादुर कुँवरले जेठ पहिलो साताभित्र दुई लेन कालोपत्र सकिने बताए। ३८.८८ किमीको यो खण्डमा ३५.५ किमी दुई लेन कालोपत्र भएको छ। ‘तीन किमी मात्र दुई लेन कालोपत्र बाँकी छ, १८ किमीमा चार लेन कालोपत्र भएको छ,’ कुँवरले भने, ‘असारभित्र ३० किमीमा चार लेन कालोपत्र सक्ने लक्ष्य छ।’

कास्कीको अमरसिंह, चाउथे, विजयपुर, तालचोकमा दुई लेन कालोपत्र बाँकी छ। पोखरा विमानस्थलदेखि सेती पुलसम्म दुई लेन कालोपत्र भएको छ। ‘बिजुलीका पोल सार्न ढिलाइले निर्माणमा असर परिरहेको छ,’ कुँवरले भने, ‘चार सय पोल हटाउन बाँकी छ।’ पुससम्म ठेक्का म्याद रहेकाले त्यसअघि कालोपत्र सक्ने गरी काम भइरहेको छ। 

कालोपत्रपछि फुटपाथ र सडक सुरक्षा निर्माण सुरु हुनेछ। पश्चिम खण्डमा १८.५ किमी छ लेन र बाँकी चार लेन सडक बन्नेछ। ‘सहरी क्षेत्रमा छ लेन बनाइएको हो,’ कुँवरले भने, ‘तनहुँको दुलेगौँडा र खैरेनीटारमा पनि छ लेन बनेको छ।’ यो खण्डका १२ मध्ये १० पुल बने। विजयपुर र शेराटारमा पुल बनिरहेको छ। 

सेती नदीको ‘सिग्नेचर’ पुल छुट्टै ठेक्कामार्फत बनिरहेको छ। यसको प्रगति ४४.६६ प्रतिशत छ। रसुवा कन्स्ट्रक्सनले ९४ करोडमा यो ‘केबल–स्टेड’ पुल बनाइरहेको छ। पश्चिम खण्डमा यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनले २०७८ भदौदेखि ७ अर्ब ४० करोड ४६ लाखमा काम गरिरहेको छ।

दुवै खण्डमा अधिकांश ठाउँमा दुई लेन कालोपत्र भएकाले यात्रा सहज हुँदैछ। चार लेन कालोपत्र सकिएपछि पोखरा–काठमाडौँ, नारायणगढको यात्रा छोटिनेछ। ८१ किमीको यो सडक एसियाली विकास बैंकको ऋण सहयोगमा बनिरहेको छ। सरकारको प्राथमिकतामा रहेको यो आयोजनालाई गति दिन पोखराका पर्यटन व्यवसायीले दबाब दिँदै आएका छन्। 

यो सडक स्तरोन्नतिले गण्डकीको आर्थिक र पर्यटकीय गतिविधि बढ्ने विश्वास छ। धूलो र हिलो छिचोल्दै घण्टौँ यात्रा गर्नुपर्ने बाध्यता हट्नेछ। पोखरा–१० का वडाध्यक्ष राजेश गुरुङले सडक विस्तारले सालिकजस्ता संरचना हटाउँदा चोकहरू खुला र आकर्षक बनेको बताए। अमरसिंहचोक, अर्घौंचोक, बुद्धचोक, तालचोकमा मापदण्डविपरीतका संरचना हटाएर चोक चौडा बनाइए। ‘फराकिलो सडकमा दुर्घटना जोखिम बढ्ने भएकाले सडक सुरक्षाबारे सचेतना जरुरी छ,’ गुरुङले भने। रासस

प्रकाशित: १५ वैशाख २०८२ १२:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App