आज कार्यस्थलमा सुरक्षा र स्वास्थ्यका लागि विश्व दिवस मनाइँदैछ। यस वर्ष ‘स्वास्थ्य र सुरक्षामा क्रान्तिः काममा कृत्रिम बौद्धिकता (एआई) र डिजिटल प्रविधिको भूमिका’ नाराका साथ यो दिवस मनाइँदैछ।
सन् २००३ मा विश्व श्रम सङ्गठन (आईएलओ) को आह्वानमा कार्यस्थलमा हुनसक्ने दुर्घटना तथा रोगको रोकथाममा जोड दिन यो दिवस मनाउन लागिएको हो। यो दिवस विश्व श्रम सङ्गठनको व्यावसायिक सुरक्षा र स्वास्थ्यसम्बन्धी विश्व रणनीतिको एक हिस्सा हो। कार्यस्थलको सुरक्षा र स्वास्थ्यलाई सुनिश्चित गर्ने बारे जनचेतना फैलाउने र यो विषयलाई राजनीतिक प्राथमिकता ल्याउने महत्त्वपूर्ण उपकरणका रूपमा विश्व सुरक्षा तथा स्वास्थ्य दिवसलाई प्रयोग गरिन्छ।
आजको डिजिटल युगमा कृत्रिम बुद्धिमत्ता (एआई) र डिजिटल उपकरणहरूले कार्यस्थलमा स्वास्थ्य र सुरक्षाको परिभाषा परिवर्तन गरिरहेका छन्।
रोबोटहरू प्रयोग भइरहेका छन्। जसले भारी काम, विषालु पदार्थको व्यवस्थापन तथा अत्यधिक तापक्रममा कामजस्ता जोखिमपूर्ण कार्यहरू गरिरहेका छन्। डिजिटल उपकरण र सेन्सरहरूले खतरा पहिचान गर्न सक्ने क्षमता राख्छन्, जसले सुरक्षामा उल्लेखनीय सुधार ल्याएको छ। तर यिनको सही नियमन र सुरक्षात्मक उपायहरू अपनाउन जरुरी छ। रासस
प्रकाशित: १५ वैशाख २०८२ ०८:२३ सोमबार