२६ वैशाख २०८३ शनिबार
image/svg+xml
समाज

बालबालिका र युवाको नेतृत्वमा जलवायु संकट समाधानको खोजी

मुलुकभरका एक सयभन्दा बढी बालबालिका र युवाले जलवायु परिवर्तन र यसबाट उत्पन्न सङ्कटप्रति चिन्ता व्यक्त गर्दै समाधानका उपाय खोजेका छन्। बालबालिका तथा युवा (वायु) संवादका लागि भेला भएका उनीहरूले सरकारले आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय ‘सगरमाथा संवाद’ को सन्दर्भमा जलवायु परिवर्तन प्रतिकार्यमा छलफल गरे।

२४ वर्षमुनिका युवाले नेपालको झन्डै आधा जनसङ्ख्या ओगट्ने अवस्थामा यो कार्यक्रमले महत्त्वपूर्ण सन्देश दिएको वन तथा वातावरण मन्त्रालयका उपसचिव डा प्रकाशसिंह थापाले बताए। सहभागी २० वर्षीय निश्चल भट्टले भने, ‘जलवायु परिवर्तन भविष्यको चिन्ता होइन, यो आजकै यथार्थ हो, हामी युवासँग परिवर्तन ल्याउने जोश र शक्ति छ। हामी जलवायु न्यायसहितको र उत्थानशील समाज निर्माणमा योगदान दिन अनुकूल वातावरणको माग गर्छौं।’

जलवायु परिवर्तनमा उनीहरूको योगदान कम भए पनि बालबालिका र युवाले यसको परिणाम सबैभन्दा बढी भोग्नुपरेको छ। अत्यधिक गर्मी, भीषण वर्षा, जलवायुजन्य विपद् र प्रदूषित हावापानीले उनीहरूको स्वास्थ्यमा जोखिम, कुपोषणमा वृद्धि र अध्ययनमा बाधा पुगेको छ। नेपालमा सङ्क्रामक कीटजन्य रोग, खाद्य असुरक्षा र विद्यालय बन्द हुनु जलवायु परिवर्तनसँग जोडिएको छ। यी चुनौतीले बालबालिका र युवा बढी प्रभावित छन्।

‘सबै बालबालिकाले सुरक्षित र स्वस्थ वातावरणमा हुर्कने अधिकार राख्छन्। जलवायु परिवर्तनले यो अधिकारलाई दैनिक जोखिममा पारिरहेको छ,’ नेपालका लागि संयुक्त राष्ट्रसङ्घका कार्यवाहक आवासीय संयोजक डा एलिस अकुङ्गाले भने। वायु संवादमा बालबालिका र युवाको नेतृत्वमा जलवायु सङ्कट समाधानको प्रदर्शनी, श्रव्यदृश्य प्रस्तुति, जलवायु उत्थानशीलतासम्बन्धी विज्ञ सत्र र दुई अन्तरपुस्तीय प्यानल छलफल समावेश थिए।

पहिलो सत्रमा शिक्षा, स्वास्थ्य, पानीजस्ता आधारभूत सेवामा जलवायु परिवर्तनको प्रभावबारे छलफल भयो। दोस्रो सत्रमा जेठ २ देखि ४ गते हुने सगरमाथा संवादको मूल विषयसँग मेल खाने गरी पर्वतीय पारिस्थितिकी, जलवायु परिवर्तन र मानवताको भविष्यबारे चर्चा गरियो। संवादमा बालबालिका, किशोरकिशोरी र युवाले जलवायु परिवर्तनसम्बन्धी आफ्ना अनुभव र स्थानीयस्तरका प्रयास साझा गरे।

कार्यक्रमको मुख्य उपलब्धि सहभागी बालबालिका र युवाले तयार गरेको घोषणापत्र हो। यसमा जलवायु परिवर्तनप्रति उत्थानशील नेपाल निर्माणका लागि माग, प्रतिबद्धता र प्रस्तावित कार्य समेटिएका छन्। यो घोषणापत्र सगरमाथा संवादअघि सचिवालयमा बुझाइने छ।

‘बालबालिका र युवालाई जलवायु प्रतिबद्धताको केन्द्रमा राख्दै नेपाल विश्वभर उदाहरण बनेकामा हामी गर्व गर्छौं,’ वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले भने, ‘हाम्रो दोस्रो राष्ट्रिय रूपमा निर्धारण गरिएको योगदानले बालबालिका र युवाको आवश्यकतालाई समावेश गरेको छ र यो विश्वकै समावेशी दस्तावेजमध्ये एक हो।’ उनले वायु संवाद युवाका आवाजलाई नीति, व्यवहार र हरियाली तथा उत्थानशील नेपालको यात्रामा परिणत गर्ने महत्त्वपूर्ण मञ्च भएको बताए।

वन तथा वातावरण मन्त्रालयका सचिव डा राजेन्द्रप्रसाद मिश्रले बालबालिका र युवाको अगुवाइमा भएको कार्यक्रमको प्रशंसा गर्दै संवादका निष्कर्षले नेपालका नीति र योजनालाई मार्गदर्शन गर्ने बताए। रासस

प्रकाशित: १४ वैशाख २०८२ ०७:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App