मंगलबार भारतको कश्मीरमा आतङ्ककारी हमलामा परी मारिएका बुटवलका सुदिप न्यौपानेको शव बिहीबार ल्याइँदै छ।
बुटवल उपमहानगरपालिका-११ कालिका नगर स्थित मनकामना पथ निवासी २६ वर्षका न्यौपानेलाई मंगलबार दिउँसो कश्मीरको पहलगाममा घुमफिर गरिरहेका बेला आतङ्ककारीले गोली हानेका थिए। उनको घटनास्थलमै मृत्यु भएको थियो।
सुदिपको शव बुधबार साँझ दिल्लीबाट लखनउ ल्याइएको र बिहीबार सबेरै स्थलमार्ग हुँदै भैरहवा–बुटवल ल्याइने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए।
सुदिपको शव बुधबार साँझ ५ बजे श्रीनगरबाट नयाँ दिल्ली ल्याएर बुधबार राती ९.३० मा हवाईजहाज मार्फत लखनउ ल्याएपछि एम्बुलेन्समा नेपालतर्फ ल्याउने जानकारी बुधबार साँझ परराष्ट्र मन्त्रालयले दिएको थियो।
लखनउबाट एम्बुलेन्समा गोरखपुर, सुनौली हुँदै बेलहिया नाकामा ल्याएपछि आफन्तलाई जिम्मा लगाएर बुटवल पठाइने प्रजिअ घिमिरेले बताए। स्थल मार्गबाट शव ल्याउने खबर पाएपछि सुदिपका आफन्त नेपाल भारत सीमा नाका बेलहिया पुगेका छन्।
‘सम्भवतः बिहीबार सबेरै बेलहिया नाकामा सुदिपको शव र उहाँका आफन्त आइपुग्नुहुनेछ’ प्रमुख जिल्ला अधिकारी घिमिरेले भने।
सुपिद आफ्नी आमा रिना पाण्डे, बहिनी सुष्मा र ज्वाइँ युवराजसँगै शनिबार एक साता लामो भ्रमणका लागि भन्दै भारतको जम्मुकश्मीर जान घरबाट निस्किएका थिए।
मंगलबार कश्मीरको पहलगाममा भएको आतङ्ककारी हमलामा उनी मारिए। आफ्नो आँखै अगाडी छोरालाई गोली लागेपछि भाग दौड हुँदा आमा रिनालाई पनि सामान्य चोट लागेको आफन्तले बताएका छन्।

बाटोमा हिँड्दै गरेको अवस्थामा बन्धुकधारीहरुले कुन धर्म हो भनेर सोधेको र लगत्तै गोली हानेको भारतीय सुरक्षाकर्मीलाई उद्धृत गर्दै भारतीय संचारमाध्महरुले खबर प्रसारण गरिरहेका छन्। उनको सवारी लाइसेन्स समेत घटना स्थलमा भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
भारतका विभिन्न स्थानमा घुम्न जान लागेको भन्दै हँसिलो अनुहार सहित घरबाट निस्केका सुदिपको भारतमै आतकंकारीले हत्या गरेको खबर सुनेपछि उनका आफन्त र छरछिमेकीहरु शोकमा डुबेका छन्।
‘एक साताका लागि भारतको दिल्ली, जम्मुकश्मीर सम्म घुम्न जाने कुरा गर्नु भएको थियो तर आज यस्तो नियति भोग्नुपर्यो, कल्पनै नगरेको पिडादायी घटना भयो’ सुदिपका साथी अभिषेक पोखरेलले भने।

आमाका एक्ला छोरा, बहिनीका एक्ला दाजु स्वास्थ्य क्षेत्रमा नेपालमै केही गर्छु भनेर लागेका लक्का जवान सुदिपले भारतीय भूमिमा ज्यान गुमाउनु पर्दा निकै पिडा भएको बुटवल नगरपालिकाका प्रमुख खेलराज पाण्डेले बताए।
आफ्ना निर्दोष नागरिकले भारतीय भूमिमा आतङ्ककारीको हमला परी ज्यान गुमाउनु परेको भन्दै उनले घटनाको भर्त्सना गरे। पीडित परिवारको राहत र क्षतिपूर्तिका लागि सरकारसँग माग गरे।
‘भ्रमणमा गएका हाम्रा निर्दोष नागरिकले भारतीय भूमिमा आतकंकारी हमलामा ज्यान गुमाउनु परेकोमा हामीलाई अत्यन्त दुःख लागेको छ र यो घटनाप्रति घोर भर्त्सना गर्दछौँ’ नगरप्रमुख पाण्डेले भने।
रिनाले तीन वर्ष अघि कालिकानगरको मनकामना पथमा घर बनाएपछि सुदिप आफ्नी आमा र बैनी सुष्मासँग बस्दै आएका थिए। केही वर्ष अघि आमाबुवाको डिर्भोस भएपछि उनी र उनकी बहिनी आमासँग बस्दै आएका थिए। त्यसअघि उनको घर बुटवल १४ बेलभरीयामा थियो। उनका बुवा शिक्षक हुन।
आमासँगै हुर्केका सुदिपले बुटवलको होराइजन बोर्डिङ स्कुलबाट एसइई पास गरेपछि एचए पढेका थिए। उनले केही समय धरानमा अध्ययन गरेको र त्यसपछि काठमाडौं टिचिङमा बिपीएच अध्ययन गरेको उनका मामा महाशर्मा पाण्डेयले जानकारी दिए।
‘काठमाडौं बसेर पब्लिक हेल्थमा व्याचलर गर्नु भएको थियो’ मामा पाण्डेयले भने। पब्लिक हेल्थमा व्याचलर गरेपछि काठमाडौँमै जागिर गर्ने सोच बनाए पनि बुटवलमा आमा एक्लै भएको भन्दै उनी बुटवल फर्किएका थिए।
बुटवलमै बसेर पनि पब्लिक हेल्थको क्षेत्रमा केही गर्न सकिन्छ भन्ने सोचले मुख स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको उनका आफन्तले बताए। पछिल्लो समय उनी आधुनिक समाज डेनटलमा कार्यरत थिए।
नेपालका ग्रामीण क्षेत्रका बासिन्दाको मुख तथा दाँत स्वास्थ्यमा योगदान दिन्छु भन्ने सोच लिएर हिँडेका एक जना युवाले भारतीय भूमिका आतङ्ककारीको गोली खानु परेको भन्दै स्थानीयले घटनाको निन्दा गरेका छन्।
प्रकाशित: १० वैशाख २०८२ २१:४१ बुधबार





