९ पुस २०८२ बुधबार
image/svg+xml
समाज

पशु प्रजनन कार्यालयको खेतीयोग्य जमिन कटानमा

खजुरा गाउँपालिका-२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयको खेतीयोग्य जमिन मानखोलाको कटानमा पर्दै आएको छ।

तटबन्ध हुन नसक्दा करिब दुई बिघा खेतीयोग्य जमिन मानखोलाले कटान गरेर क्षति पुर्‍याएको राष्ट्रिय पशु प्रजनन कार्यालय गौघाटका प्रमुख वरिष्ठ पशुविकास अधिकृत डा खिमानन्द खनालले बताए।

'धेरै वर्षदेखि मानखोलाले जमिन कटान गर्दै आएको थियो। पछिल्लो दुई वर्षमा तीव्र कटान हुन थालेको छ,' उनले भने, 'पछिल्लो वर्षमा मात्रै करिब डेढ बिघा खेतीयोग्य जमिन मानखोलाले कटान गरेर बगाएको छ।'

यो वर्ष तटबन्धन गर्न नसकिए थप दुई बिघा जमिन कटानको जोखिममा रहेको खनालले जानकारी दिए। दुई वर्षसम्म पनि तटबन्धन गर्न नसकिए मानखोलाले पशु प्रजनन कार्यालय सँगसँगै गुराँसपुर बस्तीमा पस्ने खतरा बढ्दै गएको उनले बताए।

कटान रोकथामका लागि पटकपटक मन्त्री, सचिव, महानिर्देशक र सरोकार भएका निकायमा पहल गरे पनि आवश्यक बजेट उपलब्ध हुन नसक्दा समस्या बढ्दै गएको उनको गुनासो छ। उनका अनुसार यहाँ गरिँदै आइएको जौ घाँस र डाले घाँसको रुख बर्खामा आउने बाढीले कटान गरेर लैजाने गरेको छ।

कटान रोक्न तटबन्धको व्यवस्था नभए मानखोला खेतीयोग्य जमिनमा पसेर ठूलो धनजनको क्षति पुर्‍याउने कार्यालयका पशुसेवा प्राविधिक देवनारायण जैशीले बताए। उनका अनुसार जिल्ला सदरमुकाम नेपालगञ्जबाट १५ किलोमिटर पश्चिमतर्फ रहेको खजुरा–२ गौघाटमा करिब ३४ दशमलव चार हेक्टर क्षेत्रफलमा कार्यालय अवस्थित छ। दुई हेक्टरमा वन जङ्गल, दुई हेक्टरमा कार्यालय संरचना र २५ हेक्टर जमिनमा घाँस खेती गरिएको उनले जानकारी दिए।

यस कार्यालयमार्फत सुदूरपश्चिम र कर्णाली प्रदेशका नौ–नौ वटा र लुम्बिनी प्रदेशका छ जिल्ला गरी कुल चौबिस जिल्लामा कृत्रिम गर्भाधान सेवा सञ्चालनमा सहजीकरण गर्दै आएको छ। रासस

प्रकाशित: ९ वैशाख २०८२ ०६:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App