९ पुस २०८२ बुधबार
image/svg+xml
समाज

१६ महिनापछि अनिवार्य अवकाशमा जाँदै गरेका कर्मचारी मृत फेला

रावाबेँसी गाउँपालिकाका कार्यालय सहयोगी महेश रेग्मी मृत भेटिएका छन‍्। सोही गाउँपालिका–१ कुभिण्डे निवासी ५७ वर्षीय रेग्मी घर नजिकै रहेको बारीको भित्तामा आज मृत भेटिएका हुन्।

रेग्मी गोरेटो बाटोबाट करिब ८/९ मिटर तल बारीको भित्तामा टाउको तल, खुट्टामाथि परेको अवस्थामा मृत भेटिएको कुभिण्डेका वडाध्यक्ष गेहेन्द्रमान राईले जानकारी दिएका छन्।

मृतक रेग्मी गएराति दाजुको घरबाट करिब ८.३० बजे हिँडेको जानकारी पाइएको वडाध्यक्ष राईको भनाइ छ। उनको गोरेटो बाटोबाट लडेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सुशान्त मिश्रले जानकारी दिएका छन्। रेग्मीको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल पठाएर अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक मिश्रको भनाइ छ।

तत्कालीन कृषि विकास कार्यालय खोटाङ हुँदै कर्मचारी समायोजनका क्रममा रावाबेँसी गाउँपालिका पुगेका रेग्मीका श्रीमती, चार छोरी र एक छोरा छन्। मृतक रेग्मी १६ महिनापछि अनिवार्य अवकाश हुँदै थिए। रासस

प्रकाशित: ८ वैशाख २०८२ १३:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App