७ असार २०८२ शनिबार
image/svg+xml
समाज

हुलाकी राजमार्गले ल्याएको हर्षको सन्देश

ढल्नै लागेका घर मर्मत गरेर ठड्याइएको छ। झार उम्रिएका छाना रंगिएका छन्। धुलो टकटकाएर चिटिक्क पारिएको छ। वर्षौंदेखि बन्द ढोका खुलेका छन्। उजाड र उराठ परिवेश गुल्जार देखिँदै छ। मधेसको जीवनरेखा मानिएको हुलाकी राजमार्ग छेउछाउ अहिले यस्तैयस्तै दृश्य देख्न पाइन्छ।

हुलाकी राजमार्ग निर्माण नहुँदासम्म उराठलाग्दो बरियारपट्टी निर्माणसँग गुलजार देखिन थालेको छ। हुलाकी राजमार्ग बन्न थालेपछि दायाँबायाँ दुवैतिर पक्की भवन ठडिन थालेका छन्। पसल, होटल खुलेका छन्। चहलपहल बढेको छ।

बरियारपट्टीका इन्दल यादव चोकमै तीन तले भवन निर्माण गर्दै छन्। उनी भन्छन्, ‘जमिन भएर पनि व्यापारको सम्भावना नहुँदा घर निर्माण गर्ने कुरा सोचेको थिइनँ। हुलाकी राजमार्ग निर्माणसँगै सम्भावना व्यापक बनेपछि लगानी गर्न हौसला मिल्यो।’

इन्दलजस्तै अहिले धेरैले हुलाकी राजमार्ग छेउमा संरचना निर्माण गरेर व्यापार बढाइरहेका छन्। बरियापट्टीकै ८० वर्षीय बिल्टु यादवले हुलाकी राजमार्ग छेउछाउको सुनसान स्थानमा लामो समय बिताए। अहिले राजमार्ग निर्माणसँगै छेउछाउका गाउँ हाँसेको देख्दा उनी भन्छन्, ‘हुलाकी राजमार्गको निर्माणले यस भेगको भौतिक विकासमा मात्र ऊर्जा थपेको छैन, आर्थिक र सामाजिक विकास पनि जुर्मुराउँदै छ। हुलाकी राजमार्ग छेउछाउका बस्ती ओइलाएको पूर्व–पश्चिम राजमार्गको निर्माणपछि हो।’

बिल्टु जवान हुँदा यो भेगको बजार भर्भराउँदो थियो, सडक छेउका घरमा पसल थिए, ग्राहकको निरन्तर चहलपहल हुन्थ्यो।

चार दशकअघि बिल्टुकै पनि धानको चट्टी (धान संकलन केन्द्र) थियो। उनको व्यापार भ्याइनभ्याइ थियो। सीमापारिबाट पनि धान, तरकारी, चुर आदि किन्न मानिस आउँथे। सीमा छेउमा पनि बजार लाग्थ्यो।

एक समयका यस्ता चल्तीका बजार एकाएक किन सुके त ? स्थानीय बासिन्दाहरूको एउटै जवाफ छ– पूर्वपश्चिम राजमार्ग बन्नु र हुलाकी राजमार्ग ओझेलमा पर्नुले यस्तो भएको हो।  

पूर्व–पश्चिम राजमार्ग निर्माण भएपछि मानिस त्यतै सर्न थाले। हुलाकी राजमार्ग छेउका पुराना बजार सुक्दै गए। हुलाकी मार्गले तराई–मधेसका सिरहा, सप्तरी धनुषा मात्र नभई २१ वटा जिल्ला जोडेको थियो।

बाटोले छेउछाउका बस्ती र जिल्लालाई पायक पारिदिएका ठाउँ मुकाम बनेका थिए। राजा महेन्द्रले २०१९ सालमा पूर्व–पश्चिम राजमार्गको शिलान्यास गरेका थिए। यो राजमार्ग बनेपछि पुराना सहर क्रमशः बिराना हुँदै गए। मानिससँगै कतिपय जिल्ला सदरमुकामसमेत बसाइँ सरे। हुलाकी मार्ग छेउछाउका बस्ती, बजार सुक्दै गए, आर्थिक गतिविधि पनि सुस्ताउँदै गयो।

सुस्ताएको हुलाकी मार्ग क्षेत्रलाई उकास्ने नारा बन्यो– हुलाकी राजमार्ग निर्माण। यही नारालाई संसदीय र स्थानीय तह निर्वाचनका उम्मेदवारले जोडतोडले उठाए। यो नारा खुबै बिक्यो। हुलाकी राजमार्गको नाराले तराई–मधेसको जनमत आफ्नो पक्षमा पार्न सफल उम्मेदवार सांसद, मन्त्री मेयर, अध्यक्ष आदि पदमा पुगे। उनीहरूको जीवनशैली फेरियो तर हुलाकी राजमार्गसँग जीवन जोडिएका जनताको जीवनशैली फेरिएन।

पूर्व–पश्चिम हुलाकी सडक ९ सय ७५ किमि र उत्तर–दक्षिण जोडिने सहायक सडक १ हजार ७ सय ९२ किमि स्तरोन्नतिका लागि ४७ अर्ब २४ करोड रूपैयाँ विनियोजन गरेर काम सुरु भयो। तर निर्माणको काम सोचेजस्तो गतिमा हुन सकेन। मधेस प्रदेशको पूर्वी जिल्ला सप्तरी प्रदेश राजधानी जनकपुरधामको बीचमा दुईवटा नदी पर्छन्– कमला र बलान।

कमलादेखि बलान नदीसम्म सिरहाको ३० किलोमिटर हुलाकी राजमार्ग निर्माणका लागि स्वछन्द रोशन महादेव खिम्ती जेभीले ठेक्का लिएको थियो। ११ मिटर चौडा यो हुलाकी राजमार्ग निर्माणका लागि उक्त कम्पनीले २४ डिसेम्बर २०१७ मा सम्झौता गरेको थियो। १ अर्ब २० करोड २० लाख रूपैयाँमा करिब ३० किमि हुलाकी राजमार्ग निर्माणका लागि तोकिएको ३६ महिने समय पूरा हुँदा सडक निर्माणको काम करिबकरिब सम्पन्न भैसकेको छ।

भरोसाको मार्ग

२०७६ चैत ६ मा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले हुलाकी राजमार्गको बरियारपट्टी खण्डमा शिलान्यास गर्दै अब यो राजमार्ग बनाएरै छाड्ने वाचा गरेका थिए। यो राजमार्ग राणाकालदेखि पटकपटक शिलान्यास हुँदै आएको बताइन्छ। जंगबहादुर राणाले सुरु गरेको हुलाकी मार्ग निर्माणपछि जुद्धशमशेर, पदमशमशेर हुँदै विभिन्न कालखण्डमा पटकपटक शिलान्यास भएको बताइन्छ।

शिलान्यास हुने, निर्माण नहुने विगतको इतिहासले यस भेगका जनता अन्योलमा पर्नु स्वाभाविक नै थियो। ‘तराई–मधेसको विकास मेरुदण्ड मानिने बहुचर्चित हुलाकी राजमार्गको विगतमा पटकपटक शिलान्यास हुँदा देहातका जनता उत्साहित हुन्थे,’ बरियारपट्टीका ८० वर्षीय लक्ष्मी यादवले भने, ‘तर अहिले यो राजमार्ग निर्माणले गति लिएको छ। यसले सिरहाका जनताको मात्र नभई मधेसकै जनताको आर्थिक समृद्धि हुने भरोसा पलाएको छ।’

राणाकालमै हुलाकी सडक बन्न सुरु भएको अग्रजहरूले सुनाउने गरेको बताउँदै गंगाप्रासाद यादव भन्छन्, ‘हामीले सुरुमा देखेको हुलाकी सडक अहिलेको भन्दा धेरै चौडा थियो। पहिला सडक छेउछाउ बस्ती थिएन, अहिले बस्तीले सडक ढाकेको छ।’

उनका अनुसार सीमापारि धान बोकेर जाने एउटै साधन बयलगाडा थियो। ‘यहाँबाट भारतीय बजार दरभंगा, मधुवनीलगायत सहरमा धान बिक्री गर्न लैजान्थ्यौं,’ यादवले विगत सम्झिए, ‘उताबाट नुन, तेल, लत्ताकपडा लिएर आउँथ्यौं।’

त्यसबेला चल्तीको हुलाकी सडकको १८ किमि उत्तरबाट पूर्व–पश्चिम राजमार्ग बन्न थालेपछि हुलाकी सडक ओझेलमा पर्‍यो।

पूर्व–पश्चिम राजमार्ग बनेपछि दुर्दशा सुरु भएको हुलाकी सडक आसपासका स्थानीय बताउँछन्। ‘पूर्व–पश्चिम राजमार्ग बनेपछि हुलाकी सडक ओझेलमा प¥यो,’ औरही गाउँपालिकाका वीरेन्द्र शर्मा भन्छन्, ‘हुलाकी सडकसँगै जोडिएको क्षेत्र नै पछि प¥यो।’ तर भारतीय सीमासँग नजिक रहेको यो क्षेत्रको रौनक हुलाकी राजमार्ग निर्माणसँगै फेरि फर्किनेमा स्थानीय आशावादी छन्। ‘हुलाकी राजमार्ग निर्माण त लगभग भयो तर अब नदी तर्न पुल निर्माण भइदिए फेरि यो क्षेत्र गुलजार हुन्छ,’ राजेन्द्र यादवले भने।

हुलाकी सडकको सुरुआत

पूर्व–पश्चिम राजमार्ग नबन्दै (राणाकालीन समयमा) चिठ्ठीपत्र ओसारपसार गर्ने हुलाकीहरू हिँड्ने छोटो बाटो भएकाले यसलाई हुलाकी मार्ग नाम दिइएको हो। तराई–मधेसका जिल्ला जोड्ने यो पहुँचमार्ग पूर्व–पश्चिम नौ सय ७५ किमि फैलिएको छ। यो सडकसँगै पूर्व–पश्चिम राजमार्गबाट मधेसका जिल्ला सदरमुकामसम्म जोड्ने ८ सय १७ किमिका ३२ वटा सहायक राजमार्ग छन्, जसले गर्दा हुलाकी राजमार्गको लम्बाइ १ हजार ७ सय ९२ किमि पुगेको छ।

हुलाकी राजमार्ग मधेसको द्रुत सम्पर्क मार्ग हो। जसले मधेसी जनताको आर्थिक, सांस्कृतिक पक्षलाई मात्र बलियो बनाउँदैन, समग्र मधेसलाई समृद्धिको बाटोमा लैजाने बताउँछन् सिरहा माड्रका बुद्धिजीवी किशोरी यादव। ‘भारतीय सीमासँग नजिक रहेकाले हुलाकी राजमार्गले पूर्णता पायो भने यो क्षेत्र फेरि गुलजार हुनेछ।’

नेपालको कुल क्षेत्रफलको १७ प्रतिशत भू–भाग ओगटेको तराई–मधेसलाई अन्नको भण्डार पनि मानिन्छ। जहाँको उत्पादनले मुलुकलाई पाल्न सक्छ भनिन्छ। तर मधेसको मेरुदण्ड हुलाकी राजमार्ग निर्माणमा राज्यको बेवास्ताले मधेसलाई मात्र नभई देशलाई नै घाटा भइरहेको यस क्षेत्रका बुद्धिजीवी बताउँछन्।

तराई–मधेसमा ५५ प्रतिशत खेतीयोग्य भूमि छ। ६० प्रतिशतभन्दा बढी उद्योग, कलकारखाना, वनजंगल र विभिन्न सांस्कृतिक धरोहर यसै क्षेत्रमा छन्। स्रोत, साधन र सुगमता प्रचुर भए पनि यो क्षेत्रका बासिन्दा (मधेसी) मानव विकास सूचकांकमा पछाडि (गरिब) छन्।

पूर्व–पश्चिम राजमार्गसँग हुलाकी राजमार्ग र यी राजमार्गसँग देहातलाई जोड्ने सहायक मार्ग निर्माण गर्न सके मधेसका ग्रामीणजनको जीवनमा अभूतपूर्व परिवर्तन हुने यादव बताउँछन्।

कमलाको कहानी

धनुषा सगहाराकी ७० वर्षीया सकिना खातुनको कमला नदीमाथिको पुल भएर हुलाकी राजमार्ग छिचोल्ने सपना पाँच दशकभन्दा अघिदेखिको हो। उनी हुलाकी सडकमा पटकपटक हिँडेकी छन्। तर हुलाकी राजमार्गमा सरर हिँड्ने उनको सपना भने पुलमै अल्झेको छ।

हुलाकी राजमार्गमा द्रुत आवागमनका लागि २०६८ सालमा धनुषा–सिरहाको साझा कमला नदीमा पुल शिलान्यास हुँदा सकिनासँगै यस भेगका ग्रामीणदेखि सहरी क्षेत्रका बासिन्दामा खुसी सञ्चार भयो। राणाकालदेखिको आश्वासन बल्ल पूरा हुने भयो भनेर यस भेगका मानिस रोमाञ्चित भए।

२०६८ सालमा पुलको ठेक्का लागेर काम सुरु भएपछि सकिना पुल बन्नेमा ढुक्क भइन्। तर १२ वर्ष लगाएर निर्माण भएको कमला नदीमाथिको पुल उद्घाटन नहुँदै बाढीले भासियो। पुल भासिएपछि सकिनासँगै यस भेगका जनताको आशा निराशामा परिणत भयो। कमला नदीमाथिको पुलले धनुषा र सिरहा जोडिन्छ। यो पुल बनेपछि हुलाकी राजमार्गमा द्रुत आवागमन मात्र हुँदैन, यहाँका जनताको जीवनस्तरसमेत द्रुत गतिमा उकासिन्छ। यो पुलमा सिरहा र धनुषाको मात्र नभई सिंगो मधेस प्रदेशको समृद्धि जोडिएको छ।

ठेक्का सम्झौताअनुसार २०७१ मंसिर ३० गते निर्माण सकिनुपर्ने पुल २०७८ असारमा करिबकरिब सम्पन्न भएको थियो। ढिलै भए पनि निर्माण कम्पनीले ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न गरी उद्घाटनको तयारी भइहेकै बेला २०७८ असारमा कमला नदीमा आएको बाढीले पुल भासिएपछि मधेसको जीवनरेखा हुलाकी राजमार्गको सपना सेलाउन पुग्यो।

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका अनुसार कमला नदीमा १२ सय मिटर चौडाइका दुई बाँधका बीचमा ४७० मिटर लामो पुल निर्माणका लागि पप्पु लुम्बिनी जेभी काठमाडौंले २८ करोड १५ लाख रूपैयाँमा ठेक्कासम्झौता गरेको थियो।

 २०६८ जेठ ३१ गते भएको सम्झौतामा २०७१ मंसिर ३० गते पुल निर्माण पूरा गर्ने उल्लेख थियो। दुईपटक म्याद थपेर २०७५ मंसिर ३० गतेसम्म निर्माण अवधि लम्ब्याइयो तर ठेकेदार कम्पनीको लापरबाहीका कारण थपिएको म्यादमा पनि पुल पूरा हुन सकेन। त्यसपछि पप्पुलाई हटाएर लुम्बिनी जेभीले काम सुरु गरेको थियो।

कम्पनीले पुल पुनर्निर्माण थाले पनि गति सुस्त छ। यसकारण यो बर्खाअगाडि पुल निर्माण सकिने अवस्था देखिँदैन।

गत चैत २६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सिरहामा आयोजित एक कार्यक्रममा सरकारले कमला नदी पुल निर्माणलाई प्राथमिकतामा राखेको बताएर निराश यस भेगका जनतामा पुनःआशा जगाइदिएका छन्।

सिरहाका बुद्धिजीवी देवकुमार यादव भन्छन्, ‘पुल भासिएको चार वर्ष भइसक्दा पनि पुनर्निर्माणको काम सम्पन्न नहुनुले सरकारको उदासीनता प्रष्ट हुन्छ। पुलमा अल्झेको मधेसको जीवनरेखा फुकाउन सरकारले देखाइरहेको उदासीनताले यस भेगका जनतामा सरकारप्रति आक्रोश र असन्तोष बढाइरहेको उनको भनाइ छ।

कमला नदीको पुल भत्केपछि १२ सय मिटरको दुरी पार गर्न बाँसको पुल हालिएको छ। हिउँदमा उक्त पुल भएर मोटरसाइकल तथा पैदलयात्री यात्रा गर्छन्। बर्खामा नदीमा पानीको सतह बढेपछि बाँसको पुलबाट आवागमन अवरुद्ध हुन्छ।

धनुषाबाट बाँसको पुल भएर सिरहा आउँदै गरेका धर्मेन्द्र सिंहले भने, ‘लामो समयदेखि निर्माणाधीन पक्की पुल नबन्दा हामी पीडाको पहाड बोकेर बाँच्न बाध्य छौं। बाँसको पुल त केवल तत्कालीन सहारा मात्र हो।’

धनुषाको हथमुन्डा, लक्कर, बरेवा, कठाल, बानरझुला, लगमा, भलुवाहा, फुलबरिया, सगहारालगायत गाउँका बासिन्दाको दैनिक उपभोग्य वस्तु खरिद गर्ने बजार सिरहा हो। यी गाउँका बासिन्दा किनमेल गर्न बाँसको पुलमा जोखिम मोलेर सिरहा बजार आउँछन्।

प्रकाशित: ७ वैशाख २०८२ ०७:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App