मोरङको सुन्दरहरैँचास्थित सुकुना बहुमुखी क्याम्पसमा उच्च शिक्षाको दिगोपनका लागि पहिलो पटक अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन शनिबारदेखि सुरु भएको छ। दुई दिनसम्म चल्ने सम्मेलनको उद्घाटन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डाक्टर देवराज अधिकारीले गरे।
पहिलो दिन नेपालस्थित अमेरिकी सार्वजनिक मामिला प्रमुख माइक हार्कर, आसाम डाउन टाउन युनिभर्सिटीका उपकुलपति प्राध्यापक डाक्टर नारायणचन्द्र तालुकदार र काठमाडौं विश्वविद्यालयका डीन प्राध्यापक डाक्टर बालचन्द्र लुइँटेलले मुख्य वक्तव्य दिए। सम्मेलनमा प्लेनरी, कार्यशाला र समानान्तर सेसन चार ठाउँमा सञ्चालन गरियो।
अङ्ग्रेजी समूहमा अमेरिकी दूतावासका क्षेत्रीय अङ्ग्रेजी भाषा विशेषज्ञ रोजर कोहेनले प्राध्यापक र विद्यार्थीबीच कार्यशाला सञ्चालन गरे। हरिप्रसाद बस्याल, सूर्यप्रसाद ढकाल, दुर्गानाथ रेग्मी, टिकाराम भट्टराई, इन्द्रबहादुर क्षेत्री, राम चौधरी, तोर्णराज पौडेल र युवराज सुवेदीले समानान्तर सेसनमा प्रस्तुति दिए।
शिक्षा तथा मानवीकी समूहमा मनमोहन टेक्निकल विश्वविद्यालयका रजिस्ट्रार डाक्टर दिलनाथ फुयालले प्लेनरी वक्तव्य दिए भने सूर्यप्रसाद चम्लागाईं, दिलबहादुर राहुत र विश्वविद्यालय अनुदान आयोगका नारायणप्रसाद भण्डारीले समानान्तर सेसनमा प्रस्तुति गरे। विज्ञान, प्रविधि र गणित समूहमा प्राध्यापक डाक्टर देवेन्द्र अधिकारीले प्लेनरी सेसन सञ्चालन गरे। अमेरिकी फुलब्राइट स्कलर एलिजावेथ टेबर, अरुणकुमार श्रेष्ठ, डाक्टर दिव्यराज दाहाल र सन्देश भण्डारीले समानान्तर सेसनमा प्रस्तुति राखे।
व्यवस्थापन समूहमा विश्वविद्यालय अनुदान आयोगकी ममता प्रजापती, त्रिलोचन सिटौला, शिलु कार्की, बासुदेव खनाल र सीताराम खतिवडाले समानान्तर सेसनमा प्रस्तुति दिए। आयोजक समितिका प्रमुख एवम् सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दाहालले कार्यक्रमबारे जानकारी दिए।
समानान्तर सेसनपछि कृषि तथा वन विश्वविद्यालयकी उपकुलपति प्राध्यापक डाक्टर शारदा थपलियाले मुख्य वक्तव्य दिइन्। त्यसपछि प्राध्यापक डाक्टर बासुदेव काफ्लेले सञ्चालन गरेको प्यानल छलफलमा प्राध्यापक डाक्टर तीर्थराज खनियाँ, थाइल्यान्डको शाङ्क्ला विश्वविद्यालयकी डाक्टर अपराडि लिम र पोल्यान्डका डाक्टर माइकल अपोलो सहभागी भए।
उद्घाटन सत्रमा सुन्दरहरैँचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईंले शुभकामना मन्तव्य राखे। क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले स्वागत मन्तव्य र आयोजक समितिका कन्भेनर गुणराज नेपालले कार्यक्रमको औचित्यबारे बोले। सम्मेलनमा नेपालसहित सात देशका शिक्षा विज्ञ सहभागी छन्।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यो क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट दुई पटक गुणस्तर सुनिश्चितता प्रत्यायन पाएको छ। यहाँ स्नातक तहमा बिएड, बिबिएस, बिएस्सी, बिए, बिबिए, बिआईसीटीई र बिएड विज्ञान कार्यक्रम सञ्चालित छन्। स्नातकोत्तर तहमा एमएड र एमबिएस कक्षा चलिरहेका छन्। कक्षा ११ र १२ सहित यहाँ चार हजार २०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
प्रकाशित: ६ वैशाख २०८२ २१:०२ शनिबार