२ जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
समाज

कालिकोटमा भ्रूणहत्याको कहर

गर्भमा रहेको शिशुको लिंग परीक्षण र परीक्षणका आधारमा गरिने भ्रूण हत्या गैरकानुनी हो। यसो गरे परीक्षण गर्ने वा गराउने दुवै कारबाहीको भागीदार हुन्छन्। तर कालीकोटको खाँडाचक्र नगरपालिकाकी २८ वर्षीया एक महिलाले एक साताअघि दोस्रोपटक गर्भपतन गराइन्। गर्भपतन गराउनुको कारण थियो– गर्भमा पुनः छोरी हुनु। ती महिलाका दुई छोरी छन्। तेस्रो गर्भमा रहेको शिशुको लिंग परीक्षण गर्दा पनि छोरी नै भएपछि उनले सुर्खेत बजार पुगेर गर्भपतन गराएकी हुन्। उनले सुर्खेतमै गर्भको शिशुको लिंग परीक्षण गराएकी हुन्। छोरा नजन्माउने आमाले कस्तोसम्म हैरानी खेप्नुपर्छ भन्ने उदाहरण हुन् उनी।

यस्तै सान्नित्रिवेणी गाउँपालिका–२ की २९ वर्षीया महिलाले पनि छोराको चाहनामा पटकपटक गर्भपतन गराएकी छन्। तीन छोरीलाई जन्म दिएकी उनले त्यसपछि गर्भमा आएका शिशुको लिंग पहिचान गराइन्। छोरी भएको थाहा पाएपछि उनले गर्भपतन गराइन्। गाउँमै गर्भपतन गराएकी उनको झन्डै ज्यान गएको थियो। गर्भपतनपछि अत्यधिक रक्तश्राव हुँदा सुर्खेत लगेर उनको उपचार गरियो। ‘छोराकै आसमा तीन छोरी जन्मिए। थप छोरी जन्माएर पनि के गर्नु भनेर गर्भपतन गराएँ,’ उनले नाम नबताउने सर्तमा भनिन्, ‘मेरो दुःखको त हिसा–किताब नै छैन।’

कालीकोटमा हुनेखाने महिलाले सुर्खेत नेपालगन्जका निजी अस्पतालमा पुगेर भ्रूणको लिंग पहिचान गराई छोरी भए गर्भपतन गराउँछन्।

सुर्खेत, नेपालगन्जका विभिन्न निजी अस्पतालमा पुगेर भ्रूण परीक्षण र छोरी भए गर्भपतन गराउने क्रम बढ्दो रहेको जिल्ला अस्पताल कालीकोटका डा. शुभनारायण ठाकुरले बताए। भ्रूणमा छोरी भएको थाहा पाएपछि गर्भ तुहाउन बजारको औषधि खाने र रगत बढी बगेपछि जिल्ला अस्पताल आउने गरेको उनले बताए।

कालीकोटका ग्रामीण भेगमा पनि छोराप्रतिको लालसा बढी नै छ। भ्रूणको लिंग परीक्षण गरी छोरी देखिए गर्भपतन गराउने प्रवृत्ति आम रूपमा छ। भ्रूणको लिंग परीक्षण र छोरी भए गर्भपतन गराउनेहरू भित्रभित्रै बढिरहेको चिकित्सक बताउँछन्।

‘सामान्यतया यहाँका महिलाले यहीं गर्भपतन गराउँदैनन् तर सुर्खेत, नेपालगन्जका विभिन्न निजी अस्पताल पुगेर भ्रूणको लिंग परीक्षण र छोरी भए गर्भपतन गराउने क्रम बढ्दो छ,’ जिल्ला अस्पताल कालीकोटका डा. ठाकुरले भने।

पटकपटक गर्भपतन गराएर ज्यान जोखिममा परेका महिला थुप्रै रहेको उनको भनाइ छ। भ्रूण हत्याको मुख्य कारण छोरीप्रति गरिने परम्परागत विभेद र अशिक्षा नै रहेको उनको भनाइ छ।

१२ सातासम्मको गर्भ पतन गराउन सकिने कानुनी व्यवस्था छ। हाडनाता करणी, शिशु र आमाको ज्यान जानसक्ने खतरा तथा विशेष परिस्थितिमा भने १८ सातासम्मको गर्भपतन गर्न सकिने व्यवस्था छ।

गर्भपतनले कानुनी मान्यता पाएकै कारण पछिल्लो समय सुरक्षित गर्भपतन गराउनेको संख्या समाजमा बढ्दै गएको छ। तर लिंग पहिचान गरेर गर्भपतन गराउनु स्पष्टतः गैरकानुनी काम हो।

छोरा जन्माउन रुचि राख्नेले लिंग पहिचान गरेर छोरी भए गर्भपतन गराउँछन्। साउनदेखि अहिलेसम्म ३१ जना १६ वर्षमुनिका किशोरीले गर्भपतन गराएका छन्।

प्रकाशित: ६ वैशाख २०८२ ०६:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App