जुम्लाको गुठिचौर गाउँपालिका-३ तल्लो गुठिचौरमा रहेको सुर एन्ड सुपुन्ना अर्गानिक होटलका सञ्चालक चित्र बुढा कान्छो सेफ अवार्ड २०२५ बाट सम्मानित भएका छन्।
विभिन्न देशमा सेफको अनुभव बटुलेर आफ्नै गाउँमा उद्यम थालेका बुढालाई पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले सम्मान गरे। गुठिचौर-३ गर्ज्याङकोटका १० वर्ष विदेश बिताएका चित्र बुढा अहिले गाउँमा नमुना उद्यमी बनेका छन्।
उनले गुठिचौरमा ‘सुर एन्ड सुपुन्ना अर्गानिक होटल’ सञ्चालन गरी स्थानीय उत्पादनका परिकार पस्किरहेका छन्। होटलमा फापरको केक, फापरको रोटी, मार्सी चामलको भात, मकै र सिम-सिमी मिसिएको कोल, आलुको परौठा र जंगली सागले आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउँछ। उनले भने, ‘पोषिलो, स्वादिलो, पोटिलो र रसिलो खान्की यही पाइन्छ।’
२०६६ मा एसएलसी गरेर १९ वर्षको उमेरमा कुवेत गएका चित्रले बहराइन, कतार र दुबईमा काम गरे। जुम्ला-डोल्पा सडकखण्डमा रहेको उनको होटलमा रैथाने आलुको तरकारी, फापर, कोदो, जौ, गहुँ/मकैको रोटी, कालीमार्सी धानको भात, स्थानीय भटमास/सिमीको दाल, चिनो, कागुनोको भात, खसी र लोकल कुखुराको मासुको स्वाद लिन सकिन्छ। होटलले तीन युवालाई रोजगारी पनि दिएको छ।
ग्राहकको अर्डरअनुसार फापरको केक, जौ र गहुँको बिस्कुट बनाएर घरमै पुर्याउने व्यवस्था छ। आयातित खाद्यवस्तु प्रयोग नगर्ने बुढा जंगलको रायो, लिगुरो, पालुंगो र रुघाको साग टिपेर पस्किन्छन्। जुम्लाको जडीबुटी चिया (चुक, लौठसल्ला, बायोजडी, घोडामच्चो, गुन्नाइनो) पनि उपलब्ध छ।
‘खाडी मुलुकको यात्रापछि गाउँमै उद्यम गर्नुपर्छ भन्ने लाग्यो,’ उनले भने, ‘मेहनत गरे आफ्नै ठाउँमा पनि केही गर्न सकिँदो रहेछ। हामी बेकारमा विदेश भौंतारिन्छौं।’ विदेशको ऊर्जाशील समय बिताएकोमा पछुतो मान्ने चित्र अहिले जुम्लामा विदेशको सीप प्रयोग गरिरहेका छन्। ‘विदेशमा राम्रो काम पाएँ, अहिले त्यही सीप गुठिचौरमा प्रयोग गरिरहेको छु,’ उनले भने।
प्रकाशित: ५ वैशाख २०८२ २०:२१ शुक्रबार





