बागमती नदीको अवैध दोहनले स्थानीयलाई समस्या हुन थालेको छ। बागमती नदीमा अवैध रूपमा भइरहेको उत्खननले स्थानीयलाई समस्या हुन थालेपछि रोक्न माग गरेका छन्।
सर्लाहीको बरहथवा नगरपालिका १ बागमती नदीको खर्सालघाट क्षेत्रमा स्काभेटर र जेसिबी प्रयोग गरेर अवैध रूपमा नदीजन्य पदार्थको उत्खनन भइरहेको छ। प्रहरी प्रशासनको मिलोमतोमा बागमती नदीको अन्य ठाउँमा पनि अवैध रूपमा गिटी, ढुंगा र बालुवा निकाल्ने काम भइरहेको स्थानीयको दाबी छ।
अवैध रूपमा जथाभावी भइरहेको उत्खननले खेतीयोग्य जमिन कटान र पटान भई बगरमा परिणत हुने तथा वर्षाको मौसममा डुबान पर्ने जोखिम रहेको छ। सर्लाही र रौतहटको दक्षिणी भागमा बागमती नदीको सतह निकै माथि उठिसकेको देखिएको छ। अवैध उत्खननले बालुवा बगाएर लैजाने समस्या देखिएको स्थानीयको भनाइ छ।
नदीको सतह माथि उठ्दै जाँदा हरेक वर्ष बाढीको समयमा गाउँ र बस्तीलाई समस्या हुँदै गएको थियो। गत वर्षाको सिजनमा रौतहट र सर्लाहीतिर गरी दर्जनौँ ठाउँमा बागमती नदीको तटबन्धलाई बगाउँदा दर्जनौँ गाउँमा जोखिम भएको थियो।
ठेक्कापट्टा नभए पनि अवैध रूपमा खर्सालघाट नजिकको जंगल क्षेत्रको नदीबाट अवैध रूपमा नदीजन्य पदार्थको दोहन भइरहेको स्थानीय त्रिभुवन सिंहले जानकारी दिएका छन्।
अवैध उत्खनन गरी ढुवानी भइरहँदा स्थानीय सरकार तथा प्रहरी प्रशासन मौन रहेका छन्। कतैबाट कोही रोकतोक गर्ने नभएपछि अवैध उत्खनन गर्ने तथा नदीजन्य पदार्थको तस्करी गर्नेको हौसला बढेको छ। अवैध उत्खनन र ढुवानीले एकातिर लाखौँ राजस्व गुमेको छ भने अर्कोतिर कैयौँ बस्ती र हजारौँ बिघा खेत डुबान र कटानको खतरामा परेको स्थानीयको भनाइ छ।
अवैध उत्खनन रोक्न स्थानीयको पहल र पहुँचले नपुगेपछि सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै तत्काल उत्खनन रोक्न माग गरेका छन्।
प्रकाशित: ५ वैशाख २०८२ १२:०२ शुक्रबार





