३० जेष्ठ २०८२ शुक्रबार
image/svg+xml
समाज

‘डिभोर्स’ नमानेपछि आफन्त लगाएर श्रीमतीको हत्या

चुनकुमारीको हत्यामा संलग्न अभियुक्तहरू। तस्बिर: नागरिक

धरानको पाँचकन्या सामुदायिक वनमा एक साताअघि मृत फेला परेकी ३४ वर्षीया चुनकुमारी दाहाल बुढाथोकीको हत्या आफ्नै श्रीमानको योजनामा भएको खुलेको छ।

हत्या योजनामा संलग्न भएको अभियोगमा प्रहरीले श्रीमान् प्रेमबहादुर बुढाथोकीसहित छ जनालाई बिहीबार सार्वजनिक गरेको हो।

सुनसरी जिल्ला प्रहरी कार्यालयका अनुसार वैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरियामा रहेका प्रेमबहादुरले श्रीमतीसँग सम्बन्ध विच्छेद (डिभोर्स) माग्दा अस्वीकार गरेपछि आफन्तलाई प्रयोग गरी हत्या गराएका थिए।

उनी बुधबार कोरियाबाट नेपाल फर्किएपछि काठमाडौंबाट पक्राउ परेका हुन्।

हत्या योजनामा संलग्न रहेको आरोपमा पक्राउ परेका अन्य व्यक्तिहरूमा प्रेमबहादुरका भाइ ढकेन्द्र बुढाथोकी (२९), ढकेन्द्रकी श्रीमती सृष्टि बुढाथोकी (२५), कान्छा ज्वाइँ योगेन्द्र गौतम (३६), योगेन्द्रकी श्रीमती डेनु गौतम (२८), र केशवराज दाहाल (४०) छन्।

ढकेन्द्र, सृष्टि, डेनु र केशवराजलाई चैत २९ गते घरबाटै, भने योगेन्द्रलाई चैत ३० गते काँकडभिट्टाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न भारतीय नागरिक ३५ वर्षीय राजु थापा मगर भने फरार छन्। उनी सृष्टि बुढाथोकीका फुपूका छोरा रहेको खुलेको छ।

चुनकुमारीको शव चैत २५ गते धरान उपमहानगरपालिका–६ को पाँचकन्या सामुदायिक वनमा फेला परेको थियो। रुखको फेदमा फित्ता बेरिएको अवस्थामा शव भेटिएको थियो, जसबाट उनको घाँटी थिचेर हत्या गरिएको पुष्टि भएको छ।

हत्या भएको तीन दिनपछि, चैत २८ गते मृतकका भाइ लीलबहादुर दाहालले शवको सनाखत गरेका थिए। साथै, मृतकका माइती पक्षले इलाका प्रहरी कार्यालय धरानमा किटानी जाहेरीसमेत दिएका थिए।

जिल्ला प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाका अनुसार प्रेमबहादुरले श्रीमतीलाई शंका गर्ने र पन्छाउने उपायको खोजीमा आफन्तलाई संलग्न गराएर हत्या गराएको खुलेको हो।

‘‘श्रीमतीको हत्या भएपछि परिवार तहसनहस भएको देखेर प्रेमबहादुर नेपाल फर्किएर काठमाडौं झरेका थिए, त्यही बेला पक्राउ गरियो,’’ उनले भने।

प्रेमबहादुर गत मंसिर २७ गते नेपाल आएर माघ ५ गते कोरिया फर्किएका थिए।

प्रकाशित: ४ वैशाख २०८२ २०:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App