३२ असार २०८२ बुधबार
image/svg+xml
समाज

पर्यटक आकर्षित गर्न ‘नगरकोट भ्रमण वर्ष’

तस्बिर : रमेश बुढाथोकी, उपप्रमुख, चाँगुनारायण नगरपालिका

नगरकोट क्षेत्रको संस्कृति, प्रकृति र इतिहासलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘नगरकोट भ्रमण वर्ष–२०८२ सोमबारबाट सुरु भएको छ। नयाँ वर्षको पहिलो दिन राष्ट्रपति रामचन्द्र पौडेलले भ्रमण वर्षको शुभारम्भ गरे।

भक्तपुर, काभ्रेपलाञ्चोक र काठमाडौं जिल्लाका चार नगरपालिकाको संयुक्त आयोजनामा भ्रमण वर्ष सुरु गरेका हुन्। आन्तरिक १० लाख र बाह्य एक लाख पर्यटक ल्याउने लक्ष्यसहित भ्रमण वर्ष मनाउने निर्णय भएको जानकारी चाँगुनारायण नगरपालिकाका उप–प्रमुख रमेश बुढाथोकीले दिए । नगरकोट चाँगुनारायण नगरपालिकामा पर्छ । 

नगरकोट दृश्यावलोकनका लागि विख्यात रहेकाले त्यहाँबाट दृश्यावलोकन गरी आनन्दानुभूति गर्न पर्यटक लालायित रहेको उनले बताए। चाँगुनारायण आसपासका नगरपालिकासँग समन्वय गरेर भ्रमण वर्षलाई संयुक्त रूपमा सफल पार्ने उप प्रमुख बुढाथोकीले बताए। ‘भ्रमण वर्षमा आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्ने लक्ष्य लिइएको छ,’ बुढाथोकीले भने, ‘सबै निकायसँग समन्वय भएको छ। नगरकोटबाट आउने पर्यटकलाई अन्य पर्यटकीय स्थल डुलाउने, स्थानीय परिकार चखाउने र बसाइ लम्ब्याउने प्रयास समेत भ्रमण वर्षले गर्ने उप प्रमुख बुढाथोकीले बताए।

भ्रमण वर्षका विज्ञ घनश्याम खतिवडाका अनुसार, कार्यक्रम सफल बनाउन मूल आयोजक समिति र विभिन्न उपसमितिहरू गठन गरिएका छन्। होमस्टे विस्तार, जातजाति, भेषभूषा, सांस्कृतिक कार्यक्रम र स्थानीय विशेषता उजागर गर्ने योजना अघि सारिएको छ।

भ्रमण वर्षको क्रममा स्थानीय पालिकाले आ–आफ्नो क्षेत्र अनुसार छुट्टाछुट्टै कार्यक्रमसमेत गर्ने छन्। यसैबीच नयाँ वर्ष र भ्रमण वर्षका अवसरमा नगरकोटमा पर्यटकको चहलपहल बढेको छ। आइतबार नगरकोटका सबै होटल पाहुनाले भरिएको चाँगुनारायण–६ का वडाअध्यक्ष धनबहादुर लामाले बताए ।

प्रकाशित: २ वैशाख २०८२ ०९:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App