२४ असार २०८२ मंगलबार
image/svg+xml
समाज

प्राकृतिक विपद् : विर्सनलायक २०८१

प्राकृतिक प्रकोपका कारण २०८१ साल मुलुकका लागि एक कठिन वर्ष भयो। यो वर्षलाई फर्केर हेर्दा देशभर अनेकन घटनाहरू भए। यस वर्षलाई विपद्का हिसाबले दुखान्त र कष्टकर वर्षको रूपमा लिन सकिन्छ।

२०८१ को असार २८ गते नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालको सिन्दुरे खोल्सीमा आएको लेदोसहितको पहिरोले सडकमा गुडिरहेका दुईवटा यात्रुबाहक बस बगाएको दुखान्त घटना घट्यो। काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३-००१ ख २४९५ नम्बरको गणपति डिलक्स लेखिएको यात्रुबाहक बसमा ३६ जना र वीरगन्जबाट काठमाडौं आइरहेको बागमती प्रदेश ०३-००६ ख १५१६ नम्बरको एनल डिलक्स लेखिएको यात्रुबाहक बसमा २६ गरी ६२ जना यात्रुहरू रहेका थिए।

जसमध्ये गणपति डिलक्सका तीन जना यात्रु नन्दन दास, जुगेश्वर राय यादव र सरोजकुमार गुप्ता हामफालेर बाँचेका थिए भने बाँकी ५९ जना यात्रु बेपत्ता भएको गृह मन्त्रालयको सिमलताल बस दुर्घटना अध्ययन प्रतिवेदनमा उल्लेख छ। पहिरोले बगाउँदा बसहरू त्रिशूली नदीमा खसेका थिए।  

यो घटनामा २४ जनाको शव फेला परेपनि बाँकी ३५ जनाको अत्तोपत्तो लागेन।  

यस्तै अर्को घटना गत साउन ३२ गते दिउँसो साढे १ बजेतिर भयो। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा लेदोसहितको बाढी आयो र थामे बजार बगरमा परिणत भयो।  

तेस्रो घटना असोज १०, ११ र १२ गतेको भारी वर्षाले काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा धनजनको व्यापक क्षति गर्यो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार तीन दिनको अवधिमा दुई सय ५० जनाले ज्यान गुमाएका थिए भने १८ जना अझै बेपत्ता छन्। एक सय ७८ जना घाइते भएका थिए। झन्डै छ हजार निजी आवासमा क्षति पुगेको छ।

वर्ष २०८१ मा थामेमा पहिरोले बस्ती नै उजाड बनायो, असोजमा बाढीले काठमाडौं उपत्यकाका धेरै क्षेत्र डुबायो र भौतिक संरचनामा ठूलो क्षति पुर्‍यायो। यो वर्ष सुदूरपश्चिमको दोधारा, हनुमाननगर र सुन्दरपुरमा हालसम्मकै सर्वाधिक वर्षा मापन भयो। जल तथा मौसम विज्ञान विभागको तथ्याङ्कअनुसार असार २४ मा २४ घण्टामा दोधारामा ६२४.० मिमी, हनुमाननगरमा ५७३.६ मिमी र सुन्दरपुरमा ५५५.८ मिमी वर्षा भयो।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०८१ वैशाख १ देखि चैत ३१ गतेसम्म आठ हजार ९१५ वटा विपद्का घटना घटेका छन्। जसमा ७४७ जनाले ज्यान गुमाएका छन्।

यस्तै यी घटनाहरूमा परी ६९ जना बेपत्ता भएका छन् भने एक हजार ७११ जना घाइते भएको प्राधिकरणद्वारा सार्वजनिक तथ्यांकमा उल्लेख छ। सोही क्रममा यो अवधिमा विपद्‍बाट १९ हजार ४६ घरपरिवार प्रभावित भएका छन्। कुल तीन अर्ब १७ करोड ४२ लाख ६२ हजार ६६९ बराबरको आर्थिक क्षति भएको प्राधिकरणले जनाएको छ।

कुन घटनामा कति भयो मानवीय क्षति?

२०८१ वैशाख १ देखि चैत ३१ गतेसम्म भएका विपद्का घटनाहरूमध्ये सबैभन्दा बढी पहिरोका एक हजार पाँच वटा घटना घटेका छन्। जसबाट ३५१ जनाको ज्यान गएको छ। त्यसपछि बाढीका ४१८ घटना भएका छन् भने ९७ जनाको मृत्यु भएको छ। देशभर यो अवधिमा ५७४ वटा भारी वर्षाका घटना भए जसमा आठ जनाले ज्यान गुमाए भने ४२८ वटा चट्याङका घटनाबाट ७८ को मृत्यु भएको छ। यस्तै आगलागीका ४ हजार १६८ वटा भएका घटनामा ७७ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।

सोही क्रममा ४७८ जनावरको आक्रमणका घटनाहरू भएका छन् जसबाट ४४ जनाको मृत्यु भएको छ। यस्तै लेक लागेर २५ जनाको मृत्यु भएको छ भने ११३ वटा घटना भएका छन्। ८४ वटा सर्पदंशका घटनामा १९ जनाको मृत्यु भएको छ।  

त्यसैगरी १ हजार १९७ वटा वन डढेलोका घटनामा १० जनाको मृत्यु भएको छ भने ३५९ वटा हावाहुरीका घटनाबाट सात जनाले ज्यान गुमाए। हिँउ पहिरो, भूकम्प, असिना गरी अन्य विविध कारणबाट सात जनाको मृत्यु भएको छ।  

प्राधिकरणका अनुसार पहिरोबाट ४८, बाढीबाट १८ र हिउँ पहिरोमा परेर तीन गरी ६९ जना बेपत्ता भएका छन्। विपद्जन्य घटनाका सङ्ख्या अध्ययन गर्दा सबैभन्दा बढी आगलागीका घटना यस वर्ष भएका छन्।

सबैभन्दा तातो वर्ष

जलवायु परिवर्तनका कारण तापमान वृद्धि हुने क्रम जारी छ। यसका लागि प्रकृतिमा मानवीय अतिक्रमणलाई नै प्रमुख जिम्मेवार मानिएको छ। जीवाश्म इन्धनको मानिसको व्यवहारले सम्भवतः स्थायी रूपमा जलवायुलाई परिवर्तन गर्ने तथ्यलाई वैज्ञानिकहरूले दशकौँदेखि चेतावनी दिइरहेका छन्। आधुनिक अभ्यासका लागि वैज्ञानिक आविष्कार नै पनि यसमा जिम्मेवार छन्। तथ्यहरूले पनि उल्लेखित दाबीहरूलाई पुष्टि गर्छन्।

वायुमण्डलमा कार्बन डाइअक्साइडको स्तर निरन्तर बढिरहेको छ। रेकर्डमा सबैभन्दा तातो वर्षको रूपमा सन् २०२४ स्थापित भएको छ। सन् २०१५ को पेरिस सम्झौताले विश्वलाई स्थायी रूपमा तापक्रमको उच्चस्तर नाघ्नबाट जोगाउने प्रयास गरेको सन्दर्भमा जलवायु परिवर्तनको जोखिम तथा असरलाई उल्लेखनीय रूपमा घटाउने कुरालाई आत्मसात् गरेको थियो। सम्झौताले विश्वव्यापी औसत तापक्रममा हुने वृद्धिलाई पूर्व औद्योगिक तहभन्दा माथि दुई डिग्री सेल्सियसभन्दा तल कायम राख्ने र तापक्रममा हुने वृद्धिलाई पूर्व औद्योगिक तहभन्दा माथि १.५ डिग्री सेल्सियसमा सीमित राख्न प्रयास गर्ने जनाएको छ।

जलवायुसम्बन्धी वार्षिक अन्तर्राष्ट्रिय सम्मेलन कोप-२९ ले विकासशील देशहरूलाई उत्सर्जन कटौती र जलवायु अनुकूलनका लागि आर्थिक सहयोग गर्न सामान्य प्रगति गरेको छ। वैज्ञानिकहरूले जलवायु परिवर्तनको प्रभावलाई कम गर्न र हरित अर्थव्यवस्थामा सङ्क्रमणलाई छिटो गर्न डिजाइन गरिएका विभिन्न प्रविधिहरूमा प्रगति गरेका छन्। तथापि, तिनीहरूको सफलता धेरै कम र ढिलो हुन सक्ने अनुमान गरिएको छ।

प्रकाशित: १ वैशाख २०८२ १३:१० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App