अन्नपूर्ण आधारशिविर (एबिसी)बाट पोखरा फर्किदै गर्दा हिमपहिरोमा परि बेपत्ता भएका एकजना चिनियाँ पर्यटकको शव फेला परेको छ। सशस्त्र प्रहरीले ती पर्यटकको शव फेला पारेको हो।
पोखरास्थित कालिका गणका गणपति एसपी सुर्यप्रसाद तिमिल्सेनाका अनुसार चैत ११ गते कास्कीको अन्नपूर्ण गाउँपालिका–११ देउरालीस्थित चुमरुङमा हिमपहिरो झरेको थियो। आधारशिविरबाट घान्द्रुक आउँदै गरेका चिनियाँ पर्यटक २८ वर्षिय इ सेङयोन उक्त हिमपहिरोमा हराएको आशंका गरिएको थियो।
पदयात्रामा रहेका उनी सम्पर्कमा नआएपछि स्थानीय र प्रहरीले हिमपहिरोमा पुरिएको आशंकामा खोजी सुरु गरेका थिए। तर, फेला नपरेका उनको खोजीका लागि सशस्त्र प्रहरीको कालिका गणबाट सशस्त्र प्रहरी निरिक्षक विश्वराज त्रिपाठीको नेतृत्वमा विपत् उद्धारका सामाग्री सहितको टोली खोजीमा खटिएको थियो। त्रिपाठी नेतृत्वको त्यही टोलीले हराएका ती चिनियाँ पर्यटकको शव फेला पारेको हो।
‘खोजी थालेको आठौं दिन हराएका चिनियाँ पर्यटकको शव फेला परेको छ,’ तिमिल्सेनाले भने। उनका अनुसार खोजीमा खटिएको टोलीले शनिबार बिहान ती पर्यटकको शव फेला पारेको थियो। चुमरुङस्थित मादी नदी किनारबाट करिब २० मिटर उत्तरतर्फ उनको शव फेला परेको सशस्त्र प्रहरीले बताएको छ। हिमपहिरोमा चिनियाँ पर्यटक पुरिएको आशंका रहेको भन्दै पदयात्रामै रहेका अरु पर्यटकले प्रहरीलाई जानकारी दिएका थिए।
प्रकाशित: २३ चैत्र २०८१ १७:०१ शनिबार