काठमाडौंको कोटेश्वरस्थित भाटभटेनी सुपर स्टोरमा शुक्रबार राजावादी प्रदर्शनकारीहरूले तोडफोड तथा लुटपाट गरेका छन्।
सामाजिक सञ्जालमा सार्वजनिक भिडिओहरूमा प्रदर्शनकारीहरू स्टोरभित्र पसेर महँगा सामान लुट्दै, तोडफोड गर्दै गरेको देख्न सकिन्छ।
प्रदर्शनकारीहरूले भाटभटेनी सुपर स्टोरभित्र पसेर मोबाइल फोन, घडी, मदिरा, कपडा लगायतका महँगा सामान लुटेका छन्।
भाटभटेनीमा भवनका सिसाहरू फुटाइएका छन्। पार्किङमा रहेका कारहरू तोडफोड गरिएको छ। फलफूल तथा तरकारी पसल तहसनहस पारिएको छ। सामान भुइँभरि छरिएका छन्।
प्रदर्शन बिथोलिएपछि आक्रोशित भिड भाटभटेनी सुपर स्टोरमा छिरेको थियो। प्रदर्शनकारीहरूले सुरक्षागार्डमाथि हातपात गर्दै जबर्जस्ती प्रवेश गरेका थिए। लुटपाटपछि उनीहरूले केही सामान बाहिर निकालेर आगजनीसमेत गरेका थिए।
भाटभटेनी व्यवस्थापनका अनुसार क्षतिको यकिन विवरण अझै संकलन गर्न बाँकी छ। प्रशासनले अहिले घटनास्थल आसपासमा सुरक्षा कडा बनाएको छ भने दोषीहरू पहिचान गरी कारबाही प्रक्रिया अगाडि बढाइने बताइएको छ।
प्रकाशित: १५ चैत्र २०८१ १७:५८ शुक्रबार