अवैध रुपमा सामान आयात गर्न सहयोग गर्ने भन्दै सेवाग्राहीसँग घुस लिएको आरोपमा प्रहरी नायब निरीक्षक (सई) खिम बहादुर खड्का पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बुटवलबाट खटिएको टोलीले खड्कालाई ३० हजार घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो। खड्का रुपन्देही जिल्लाको दुर्गौलिया नाकामा रहेको प्रहरी चौकी, हाटी बनगाई दुर्गौलियामा कार्यरत थिए।
उनीमाथि भारतबाट भन्सार छली गरेर घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गर्ने नाममा सेवाग्राहीसँग घुस मागेको उजुरी परेको थियो।
सोही सूचनाका आधारमा अख्तियारको टोलीले उनलाई मायादेवी गाउँपालिका–६ अन्तर्गतको क्षेत्रबाट पक्राउ गरेको हो। अख्तियारका अनुसार खड्कामाथि थप अनुसन्धान भइरहेको छ।
प्रकाशित: १४ चैत्र २०८१ १९:५६ बिहीबार