कपिलवस्तुमा लागु औषध नियन्त्रण सम्बन्धी तीन महिने अभियान बिहीवार सुरु भएको छ । जिल्लाको १० वटै पालिकामा अभियानको सुभारम्भ गरिएको हो । सो क्रममा १० वटै पालिकामा प्रशासन कार्यालयको अगुवाई र जिल्ला प्रहरी कार्यालयको समन्वयमा बिहान प्रभातफेरी निकालिएको थियो । सोहीक्रममा तौलिहवामा निकालिएको प्रभातफेरीले तौलिहवा बजारको परिक्रममा गरेको थियो । प्रभातफेरीमा जिल्ला सुरक्षा समितिका प्रमुख, कर्मचारीहरु, गैर सरकारी संस्थाका प्रतिनिधि, संचारकर्मी लगायतको सहभागिता थियो ।
अभियानको शुभारम्भ भएको घोषणा गर्दै प्रजिअ दील बहादुर तामाङले लागु औषधका कारण समाजका धेरै समस्या आएकोले यसको नियन्त्रणकालागि गुह मन्त्रालयकै परिपत्र अनुसार यो अभियान जिल्लामा संचालन गरिएको बताए । लागु औषधमा युवाहरु फस्दै गएकाले अहिले देशै मै यो ठुलो समस्या र चुनौतीका रुपमा देखा परेको बताए । यसको नियन्त्रण र न्युनीकरणकालागि सचेतना फैलाउनु आवश्यक रहेको बताए ।
सो अवसरमा प्रहरी उपरिक्षक निरंज दत्त भट्टले लागु औषविरुद्ध जिल्लामा तीन चरणको अभियान हुने बताए । पहिलो सचेतनामुलक कार्यक्रम, दोश्रो कानुन प्रवद्र्धन र नियन्त्रण तथा तेस्रो पुर्नस्थापनाको कार्यक्रम गरिने बताए । स्कुल विद्यालय र समुदायमा लागु औषध सम्बन्धी सचेतनाकुल कार्यक्रम गरिने छ । यस्तै लागु औषधको प्रयोगकर्ता र कारोवारीलाई निगरानी र पक्राउ गर्ने तथा दुव्र्यसनीहरुलाई पर्नुस्थापना केन्द्रमा गएर भेट्ने र उनीहरुलाई विभिन्न सीप प्रदान गर्ने, पालिकासंग समन्वय गरी यो कार्यक्रमलाई नीति तथा कार्यक्रम मै समावेश गर्ने गरी अभियान चलाईने प्रहरी उपरिक्षक भट्टले बताए ।
लागूऔषधको कारोबार तथा प्रयोगकर्ता बढेपछि गुह मन्त्रालयको निर्देशनमा तीन महिने अभियान चलाइएको प्रहरी नायब उपरिक्षक मोहनमणि अधिकारीले बताए । लागूऔषधविरुद्धको यस अभियानमा विद्यालय सम्पर्क कार्यक्रम, सामाजिक संलग्नता, गाँजा फडानी, फार्मेसी अनुगमन, तस्करलाई कारबाही गरिने उनको भनाइ छ ।
जिल्लामा खुला सिमानाका कारण अबैध लागूऔषधको कारोबार तथा प्रयोगकर्ता बढेको बताउँदै अधिकारीले प्रहरीको अभियानले मात्र जिल्लामा लागू औषध नियन्त्रण सम्भव नरहेको भन्दै परिवार तथा समाजले पनि सुक्ष्म निगरानी गर्नुपर्ने बताए । अहिले १६ देखि ३५ वर्ष उमेर समुहका युवाहरु दुव्र्यसनीमा फस्ने गरेको भन्दै लागूऔषधका मुद्दा पनि बढदै गएको बताए ।
समाजका शिक्षित परिवारका बालबालिका नै लागूऔषधमा पर्ने गरेको भन्दै घरपरिवारले पनि विशेष ध्यन दिनुपर्ने उनले बताए । अभियानले लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार कार्यलाई निरुत्साहित नियन्त्रण गर्ने सामुदायिक प्रहरी सेवा केन्द्र तौलिहवाका अध्यक्षद देवी प्रसाद बर्माले बताए ।
जिल्लामा चालु आर्थिक वर्षको साउन महिना देखि फागुन महिनासम्म ८ महिनाको अवधिमा ८४ जना मानिस पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ब्राउन सुगर, चरेश, प्रतिबन्धित औषधसहित उनीहरुलाई नियन्त्रणमा लिइएको हो । जुन २६ तारिख जिल्लामा बृहद कार्यक्रम गरिनेछ ।
प्रकाशित: १४ चैत्र २०८१ १८:५३ बिहीबार