१८ चैत्र २०८१ सोमबार
image/svg+xml ४:२९ पूर्वाह्न
समाज

नाकाबासीको जीवन: वारी हेला, पारी हेपाइ

नेपाल भारत सीमा क्षेत्र डगमारा नाकामा दुई कक्षामा अध्ययनरत सृजना डाँगीलाई नेपाली बजार बारे केही थाहा छैन। उनलाई यति मात्रै थाहा छ ‘बजार भनेको भारतको मणीपुर मात्रै हो ।’ भारतीय ट्याक्टरहरू नेपाली बस्तीमा आउँछन्। परिवारसँग ट्याक्टरमा चढेर कहिलेकाहीँ भारतको मणीपुर बजार पुग्ने उनी अहिले सम्म आफ्नो बस्ती देखि नेपाली बजारमा पाइला टेकेकी छैनन् ।

‘हाम्रो त बजार भनेको मणीपुर मात्रै हो, म त्यही बजार मात्रै गएको छु,’ उनले भनिन् ‘स्कुलको ड्रेस , अनि अरु कपडा किन्न अनि चामल किन्न पनि हामी मणिपुर बजार जान्छन्।’ सामान किनमेल मात्रै हैन, दुख बिराम पर्दा समेत त्यहाँका नेपालीहरूले नेपाली उपचार पाउन सक्दैनन् । उनीहरू उपचारका लागि जाने भनेको भारतमै हो ।

देउखुरीको राजपुर देखि डगमारा नाका पुग्न पहाडी कच्ची बाटो भएर झण्डै चार घण्टाको समय लाग्छ । कच्ची ट्र्याक मात्रै खोलिएको यो बाटो बर्खा याममा बन्द हुन्छ । बर्खाको समयमा त्यहाँका नागरिकहरू वारी आउन पैदल हिँड्नुको विकल्प छैन । अहिले पनि त्यो ठाउँ बाट नेपाली बजार सम्म आउन सवारी साधनको असुविधा छ । यो सडकमा ठूला सवारी साधन चल्न सक्दैनन् । नेपाली बजार सम्म पुग्न यातायातका साधनको पहुँच नहुँदा नाकावासीहरू भारतीय बजारमै आश्रित रहँदै आउनु परेको छ । ‘हामी त घरका हरेक सामान लिनका लागि भारतकै बजारमा जाने होनि,’ सुनपथ्थरी नाकाका सुर्जबहादुर गुरुङले भने ‘हामी त नामका मात्रै नेपाली हौँ, हरेक काम पर्दा भारतको भर नपरी हुन्न।’

आफू नेपाली भएर पनि नेपाली हुन नपाएको महशुस नाकाले बर्षौ देखि गर्दै आइरहेको छ । सडकको दुरावस्थाका कारण आफ्नै भूमिका बजार टेक्न नसकेका नाकावासीहरू भारतको आश्रयमा बाँचिरहेका छन् । खानेपानीको मुहान सुक्ने तरखरमा छन् ।

खानेपानीको मुहानबाट पाइप जोडेर घर सम्म पानी पुर्याएका छन् नाकाबासीहरूले । अब नजिकका मूल सुक्ने तरखरमा छन् । अबको केही समयपछि पानीको हाहाकारको स्थिति निम्तने नाकाले पिउने पानीको समेत चरम अभाव खेप्दै आएको छ । ‘अब केही समय पछि पानी सुक्छ, पानी बोक्नका लागि खोलाका मुहान खोज्दै हिँड्नु पर्ने हुन्छ,’ गुरुङले भने ।

विद्युतको उज्यालो पनि पाएको छैन नाकाले । विद्युत् विस्तारका लागि लामो समय देखि माग गर्दै आएका नाकावासीहरू आफ्नो राज्यबाटै हेपिएको महशुस गर्दै आएको छ । यसै गरी सञ्चारले समेत जोड्न सकेको छैन नाकालाई । त्यहाँ टेलिफोन सेवा छैन ।०४२ साल देखि नाकामा बस्दै आएका सुर्जबहादुरले यी आधारभूत विकासको अपेक्षा उति बेलै देखि गर्दै आइरहेका छन् । चार दशक देखि वारीको यो हेपाइमा बाँचिरहेका सुर्जबहादुरहरुलाइ आधारभूत सेवाका लागि भारतको हेपाई सहनु परिरहेको छ । सुर्जबहादुर भन्छन् ‘वारी (आफ्नो देश) ले हेला गरिरहेको छ, पारी हेपिन्छौँ ।’

भारतीय बजारमा आश्रित नेपाली सीमा क्षेत्रका नागरिकहरूलाई भारत पसेर दैनिक रोजीरोटीका मालसामान घर भित्र्याउन सहज छैन । भारतीय सीमा क्षेत्रमा रहेको एसएसबीको ‘मुड’ मा नेपाली सीमा क्षेत्रका नागरिकको चुल्हो कसरी बल्ने भन्ने निधो गर्छ । सीमा क्षेत्रमा रहेका एसएसबीका प्रमुखहरू फेरिने क्रम अनुसार सीमा क्षेत्रका नेपाली नागरिकहरूमा फरक फरक शासन चल्छ ।

एसएसबीका प्रमुखहरूको निर्णय बमोजिम नेपालीहरूले कति सामान लिन पाउने भन्ने निर्धारण हुने गरेको स्थानीयको भनाइ छ । ‘उता (एसएसबी) का प्रमुखहरू कस्ता आउँछन् भन्ने हुन्छ, कसैले पाँच किलो भन्दा बढी सामान ल्यायो भने झारिदिन्छन्,कसैले जति पनि ल्याउन दिन्छन्,’ सुर्जबहादुर भन्छन् ‘उताका पुलिसका हाकिम अनुसार हाम्रो दैनिकी चल्ने हो ।’बढी सामान ल्याउन खोज्दा अवैध कारोबारीको आरोप समेत खेप्नु परेको उनको गुनासो छ । ‘धेरै सामान किन लैजान लागिस् व्यापार गर्न लाई हो ? भनेर पनि थर्काउँछन्,’डगमारा नाकाकी संगिता राना मगरले भनिन् ‘उनीहरूले जति ल्याउन दिन्छन् त्यति मात्रै ल्याउन पाइन्छ, हामी त नेपाली भएर पनि नेपाली नभए जस्तो छौँ ।’

भारतीय क्षेत्रमा हुने कुनै पनि गलत गतिविधिको आरोप पनि सीमा क्षेत्रका नेपालीहरूले खेप्नु पर्ने हुन्छ । यति मात्रै हैन, उनिहरुलार्ई भारत आउजाउ गर्न सकस हुने गर्छ । सीमा क्षेत्रको भारतीय क्षेत्र घनाजंगल छ । निकुञ्जको यो जङ्गलमा कुनै जीव जनावर मर्‍यो भने नेपालीले मारेको भनेर आरोप खेप्नु पर्ने गुनासो नेपालीहरूको छ । यसका लागि भारतीय एसएसबीलाई घुस खुवाउनु पर्ने बाध्यता समेत रहेको उनीहरूको गुनासो छ ।‘एक पटक जङ्गलमा खरायो कसले मारेको रहेछ, हामी सामान किन्न जाने सबैलाई यिनीहरूले मारेका हुन् भनेर कारबाहीको धम्की दिने काम पनि भयो,’सुर्जबहादुरले भने ‘ऊनीहरूसँग झगडा गरेर भएपनि भएन, उनीहरूलाई मिलाउनै पर्छ, कुखुराको भाले दिएर समेत उनीहरूलाई शान्त पारिदिनु पर्छ।’

प्रकाशित: १४ चैत्र २०८१ १७:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App