१९ चैत्र २०८१ मंगलबार
image/svg+xml ९:३२ पूर्वाह्न
समाज

झाडीमा भेटिएको नवजात शिशुलाई नयाँ अभिभावक

सिडिओ शर्मा काखमा शिशु लिएर मुस्कुराउँदै।

एक महिना अगाडि बासको झाडीमा भोक, जाडो र एक्लोपनसँग जुधिरहेको एक नवजात शिशु, आज कसैको काखमा सुरक्षित भएर मुस्कुराइरहेको छ।

फागुन ५ गते बारबर्दिया नगरपालिका–८, कुभ्रागाउँ स्थित बासको झाडीमा फालिएको अवस्थामा भेटिएको त्यो सानो जीवनलाई अहिले नयाँ अभिभावकको माया र सुरक्षा मिलेको छ।

मंगलबार जिल्ला अस्पताल बर्दियाको ओसीएमसि कक्षमा भावुक दृश्य देखियो- एक महिनाअघि रोइरहेको त्यो सानो अनुहार आज मुस्कुराइरहेको थियो।

ओसीएमसि कक्षमा सिडिओ रुद्रादेवी शर्मा, एसपी केदार खनाल, उपप्रमुख रत्ना पाण्डे, चिकित्सक र सुरक्षाकर्मीहरू उपस्थित थिए। वातावरण शान्त थियो। मनभरि खुसी।

‘’पहिलो दिन उद्धार गर्दा बेस्सरी रोइरहेको थियो। आज मुस्कुराएको देख्दा मन थाम्नै सकिएन,’’ एसपी खनालले भावुक हुँदै भने।

बच्चाको उद्धारपछि जिल्ला अस्पताल बर्दियामा उपचार गरियो। बालरोग विशेषज्ञ डा. विश्वनाथ शाहका अनुसार अहिले बच्चा स्वस्थ छ, तर आमाको दूध नपाएकाले भविष्यमा केही समस्या भने देखिन सक्छ।

बाल अधिकार समितिले बच्चाका लागि उपयुक्त अभिभावक खोज्ने जिम्मेवारी लियो। प्रक्रिया र अध्ययनपछि मधुवन नगरपालिका–८ का नरेन्द्रबहादुर वली र उनकी पत्नी पवित्रा खत्रीलाई बच्चाको पालनपोषणको जिम्मा दिने निर्णय गरियो।

मंगलबार, अस्पतालकै ओसीएमसि कक्षमा बाल अधिकार समितिले औपचारिक रूपमा बच्चा वली दम्पतीलाई जिम्मा लगाउने निर्णय गर्‍यो। अब कानुनी रूपमा उनीहरू पूर्ण अभिभावक बन्न जिल्ला अदालतको प्रक्रिया पूरा गर्नुपर्नेछ।

प्रकाशित: १२ चैत्र २०८१ २०:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App