नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको विरोधमा अखिल क्रान्तिकारीले काठमाडौंको बागबजारमा मसाल जुलुससहित प्रदर्शन गरेको छ।
मंगलबार साँझ आयोजित प्रदर्शनमा क्रान्तिकारी विद्यार्थीहरूले मसाल बोकेर प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए। उनीहरूले प्रधानमन्त्रीको पुत्ला दहन गर्दै कुलमान घिसिङलाई पुनः नियुक्त गर्न माग गरेका छन् ।
अखिल (क्रान्तिकारी) का नेताहरूले कुलमान घिसिङलाई हटाउनु जनतामाथिको अन्याय भएको भन्दै सरकारको निर्णय तत्काल सच्याउन चेतावनी दिएका छन्।
उनीहरूले विद्युत सुधारमा घिसिङको योगदान उल्लेखनीय रहेको भन्दै सरकारको निर्णयलाई ‘दलीय पूर्वाग्रही’ करार गरेका छन्।
प्रदर्शनका क्रममा विद्यार्थीहरूले ‘कुलमानलाई पुनः नियुक्त गर’, ‘प्रधानमन्त्री मुर्दावाद’, ‘विद्युत सुधार गर्ने नेतृत्व चाहिन्छ’ जस्ता नाराहरू लगाएका थिए।
कार्यक्रममा क्रान्तिकारी विद्यार्थी नेताहरूले यदि कुलमानलाई पुनः नेतृत्वमा ल्याइएन भने थप आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन्।
हेर्नुहोस् तस्बिरहरु। सबै तस्बिर: दिपेश दर्शनधारी/नागरिक








प्रकाशित: १२ चैत्र २०८१ २०:०६ मंगलबार