प्रधानमन्त्री केपी शर्मा ओलीका विज्ञ सल्लाहकार अग्नि खरेलले सङ्क्रमणकालीन न्याय नेपाली मौलिक ढाँचाबाटै टुङ्ग्याउनुपर्ने बताएका छन्।
बुधबार (आज) नागरिक फ्रन्टलाइनमा कुराकानी गर्दै खरेलले यस्तो बताएका हुन्। 'सङ्क्रमणकालीन न्याय हाम्रै मौलिक नेपाली ढाँचाबाटै टुङ्गाउनुपर्छ,' उनले भने, 'त्यसलाई भिक्टिमफ्रेन्ड्ली तरिकाले टुङ्ग्याउनुपर्छ। भिक्टिमहरूलाई आश्वस्त पारेर मात्रै यो टुङ्ग्याउन सकिन्छ।'
कोलम्बियाको उदाहरण दिँदै उनले नेपालको सङ्क्रमणकालीन न्याय टुङ्ग्याउनका लागि सबैका बीचमा सहमति भए पुग्ने बताए। 'नेपालको द्वन्द्व त १० वर्षको न हो, कोलम्बियाको त ५०/६० वर्षको थियो। तर, त्यहाँ निरूपण भएको पाउँछौँ। हामी चाहिँ किन नसकेको ? तर, अब सरकारले यसका प्रति पर्याप्त काम गर्नेछ,' उनले भने।
उनले प्रधानमन्त्री केपी शर्मा ओली न्याय निरूपणका दिनरात लागिरहेको बताए। 'उहाँ यो टुङ्ग्याउनैपर्छ भन्नेमा हुनुहुन्छ, हामीले काम गरिरहेका छौँ। ज-जसले शङ्का गरिरहेका छन्, त्यो आ-आफ्नै ठाउँमा छ। तर, यो चाँडै टुङ्ग्याउने दिशामा काम भइरहेको छ,' उनले भने।
प्रकाशित: १३ चैत्र २०८१ १९:३९ बुधबार